शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

डडेलधुरामा सिटी हल, टोखा-छहरे सुरुङमार्ग र केरुङ-काठमाडौं रेलमार्गसहित 'बीआरआई फ्रेमवर्क'मा १० परियोजना

बुधबार, मंसिर १९ २०८१
डडेलधुरामा सिटी हल, टोखा-छहरे सुरुङमार्ग र केरुङ-काठमाडौं रेलमार्गसहित 'बीआरआई फ्रेमवर्क'मा १० परियोजना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) 'सहकार्य फ्रेमवर्क'मा हस्ताक्षर भएको छ। जसअन्तर्गत डडेलधुरास्थित अमरगढी सिटी हल, टोखा-छहरे सुरुङमार्ग र जिलोङ-केरुङ-काठमाडौं सीमापार रेलमार्गसहित १० परियोजना निर्माणमा सम्झौता भएको छ। 

यस्तै बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएका परियोजनामा हिल्सा-सिमकोट सडक परियोजना, किमाथांका-खाँदबारी सडक र पुल, जिलोङ-केरुङ-रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन-नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स रहेका छन्। 

फ्रेमवर्कका विषयमा नेपाल र चीनका उच्च अधिकारीहरूबीच दुई दिनसम्म अनौपचारिक वार्ता भएको थियो। फ्रेमवर्कमा कुन-कुन विषय समावेश गरेर हस्ताक्षर गरियो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।  

बेइजिङमा आज बुधबार भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ड एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन्।

चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौता भएको हो।

सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएसँगै अब नेपालले चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउने विषयमा थप समय पाउने देखिएको छ। 


प्रकाशित : बुधबार, मंसिर १९ २०८११५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend