काठमाडौं- करिब दशकअघि जुन कुराको डर स्याम अल्टम्यानलाई थियो अब चाहिँ ठ्याक्कै त्यही हुने र त्यो पनि उनकै हातबाट हुने चरणमा पुगेको छ।
मानव समभ्यतामाथि नै चुनौती हुनसक्ने एआईको चुनौतीको चर्चा आजभन्दा डेढ दशकअघि नै चिन्तन भइरहेको समयमा अल्टम्यान आफैले नाफाखोरको हातमा एआईको अन्वेषण पुग्न नहुने विचारमा थिए।
ठ्याक्कै त्यस्तै डरसहितको विचार राख्ने अर्का नाफामुखी व्यवसायी एलन मस्कसँग मिलेर अल्टम्यानले गैरनाफामूलक एआई अनुसन्धान परियोजना अघि बढाएका थिए। जसको कम्पनीको नाम थियो ओपन एआई। यही कम्पनीले च्याट जीपीटी ल्यायो र यही त्यो उत्पादन हो जसले सारा संसारलाई एआई कस्तो हुनसक्छ भनेर एकैपटक जम्काभेटको अवसर पाए।
च्याटजीपीटीभन्दा पहिले पनि एआईको विकास भइसकेको थियो र त्योभन्दा अरु पनि अर क्षेत्रमा राम्रो गरिरहेका एआई प्ल्याटफर्म अरु नभएका होइनन् तर च्याटजीपीटी यस्तो बनिदियो कि यो आधुनिक एआईको बादशाह बनिदियो। जसरी केही वर्ष पहिले सर्च इन्जिनको दुनियाँमा थियो। यसमा गुगलको दबदबा अझै पनि छ।
गुगलकै सहसंस्थापक ल्यारी पेजसँगको व्यक्तिगत टकराब र उनको भित्री योजनालाई माथ दिन भन्दै एलन मस्कले यो परियोजनामा हात हालेका थिए। एआईभन्दा पनि एजीआई (आर्टिफिसियल जनरल इन्टेलिजेन्स) को चरणमा पुगेपछि यो विनाशकारी हुनसक्ने धेरैको बुझाइ अहिले पनि छ।
यो दुनियाँमा जस्तोसुकै नियत राख्ने मान्छे हुने र नफाका लागि जे पनि गर्नसक्ने भएकाले एआईको अनुसन्धान गैरनाफामूलक हुनुपर्ने र त्यसको सोर्सकोड पब्लिक हुनुपर्ने मत यिनिहरूको थियो। त्यही भएरै ओपन एआई गैरनाफामूलक कम्पनीका रुपमा दर्ता भएको थियो।
तर विस्तारै कम्पनीले नाफामूलक कम्पनीबाटै लगानी लिन थालेपछि यसको संरचनामा केही हेरफेर भयो। मूल कम्पनी त गैरनाफामूलक हुने तर त्यसको नियन्त्रणमा नाफामूलक विंग हुने व्यवस्था गरियो। यस्तो नाफामूलक विंग्सबाट भएको आम्दानीको प्रतिफलको पनि क्याप लगाइएको छ। अहिलेसम्म यो कम्पनी यसैगरी चलेको छ।
तर अब कम्पनीको यो स्वरुप पूरै परिवर्तन गर्ने तरखर भइरहेको छ। मूल कम्पनी नाफामूलक हुनेगरी संरचनागत प्रयास भइरहेको समचारहरू प्रकाशित भएका छन्। अहिलेसम्मका प्रकाशित समाचार अनुसार अल्टम्यान अझै पनि यो परिवर्तनमा सकारात्मक भइसकेका छैनन्। तर पनि लगानीकर्ताको निरन्तरको दबाबले गर्दा ढिलोचाढो परिवर्तन हुने सम्भावना बढेर गएको छ।