आइतबार, असार २ गते २०८१    
images
images
यात्रा

जहाँ काठमाडौंबाट आएको भन्दा भात पाक्दैन

images
शनिबार, भदौ २६ २०७८
images
images
जहाँ काठमाडौंबाट आएको भन्दा  भात पाक्दैन
खप्तड सकिएपछिको मध्यवर्ती क्षेत्र काँडा। बीचमा काँडा होटल।

सुदूरपश्चिम प्रदेशको बझाङ हुँदै खप्तड क्षेत्र र कर्णाली मुगुमा रहेको रारासम्मको यात्रा ‘खप्तडदेखि रारा’ पैदल नै तय गर्ने निधो गरेर हिँडेका हौँ। तर खप्तडको पाटन क्षेत्र र जंगलबाट बाटो नछलिने गाउँ टेक्नु हाम्रा लागि खुब गाह्रो थियो।

images
images

- याँ ता दुई बाटा आया, यो डाँडो काटिसक्या पछिकै बाट झानु हो?

images
images
images

- त्याँ बीच ता अरु बाटा काइँ छैनन्। तमी काँ गयाँ? पाटनका बाट ता गयाइन?

images

- होइन होइन, हामी याँ जंगलकाइ बाट गयाका होउ, यो साना डाँडा पछाडिखी दुई बाटा भेट्या

images

- ए अँ अँ, मुइले बुझिहेल्या, ती दुमै बाटा एकै हुन्। त्याँ परखी रुख ढल्याको छ, तसाइले नौटो बाटो लायाको होला, जाँबाट गयापन भयो। 

images
images

.... तीनै जना हाँस्यौँ। मज्जैले। कतिसम्म हुस्सु हैँ भनेजसरी एकअर्कालाई हेर्‍यौँ, फेरि हाँस्यौँ। रुख ढलेको मुनितिर र माथितिरको बाटो एउटै नै रहेछ। तर झुक्किएला भनेर हामी (मसहित साथीहरू शिव बोहरा र हेमन्त जोशी) खुब डरायौँ। काडाँ गाउँ नपुग्दासम्म नै। 

नौलो भूगोलको यात्रामा बाटोको डर हुनुपर्ने पनि रहेछ। तर यसपटक त हामीले अति नै गर्‍यौँ। ३० सेकेण्ड अगाडि बढेको भए दुबै बाटो एकै हो भन्ने थाहा हुन्थ्यो, तर दुई बाटो आउने वित्तिकै रावल दाइ (यहि नामले चिन्यौँ) लाई फोन हानिहाल्यौँ। हुन पनि जोखिम किन मोल्नु। 

रावल दाइ टेलिफोनबाट नै हाम्रो पथप्रदर्शक भइरहेका थिए। धन्न! दूरसञ्चारलाई धन्यबाद, हरेक दोबाटोमा हाम्रो फोन लागिहाल्यो। होइन भने त हामी खप्तडदेखि हिँड्दै रारा पुग्न कहाँ सक्नु र! 

त्यहाँ ढलेको रुखमुनि घोडा, खच्चड हिँड्न नसक्ने भएकाले त्यसलाई छिचोल्न बटुवाले अर्को बाटो बनाएका रहेछन्। घना जंगल भएकाले रुख ढलेको पहिला याद गरेनौँ। पाटनतिर बर्खायाममा भैँसीगोठ (खरक) हुने हुँदा वरपर गोठालाले बनाएका सबै बाटा उस्तैउस्तै लाग्छन्। हामी बढी हिँडिएको जस्तो बाटोलाई मूल बाटो ठान्थ्यौँ, तर सबै ठाउँमा त्यो नहुने रहेछ। त्यसैले हाम्रो बाटोको शास्त्र खप्तडमा काम लागेन। 

khaptad to rara (7).jpg
खप्तडको चौर, जंगल र पारि हिमाल।

सुदूरपश्चिम प्रदेशको बझाङ हुँदै खप्तड क्षेत्र र कर्णाली मुगुमा रहेको रारासम्मको यात्रा ‘खप्तडदेखि रारा’ पैदल नै तय गर्ने निधो गरेर हिँडेका हौँ। तर खप्तडको पाटन क्षेत्र र जंगलबाट बाटो नछलिने गाउँ टेक्नु हाम्रा लागि खुब गाह्रो थियो।

काठमाडौंबाट हवाइजहाजमा धनगढी र धनगढीबाट जहाजमा नै बझाङको चैनपुर झरेका थियौँ। पहिले चैनपुर विमानस्थल सञ्चालनमा नहुँदा भने स्थलमार्गबाट जानुको विकल्प थिएन। अहिले विमानस्थल गन्तव्यमा पुग्ने समय छोट्याउन र सहज बनाउन सहयोगी बनिरहेको छ। त्यसैले चैनपुरबाट जिपमा हामी एकै दिनमा खप्तडभन्दा वरको दारुगाउँ (मेलतडी) पुग्यौँ।

दारुगाउँ बास बसेर बिहानै ठाडो उकालो तीन घण्टा हिँडेर लोखडा गाउँ हुँदै हामी खप्तड राष्ट्रिय निकुञ्ज पुग्यौँ। खप्तडले बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाका भागहरू समेटेको छ। यात्रा खप्तडदेखि रारातिरको हुँदा खप्तड पर्ने बझाङ र बाजुराको धेरै भाग देख्न सकिन्छ। एक दिन खप्तड बास बसेर अछाममा पर्ने खप्तडका केही स्थानसमेत हेर्न सकिन्छ। खप्तडमा विशेष त्रिवेणीधाम, शहस्रलिंग, खप्तडबाबा आश्रम, खापर दह, साना ठूला अरू विभिन्न दह र पाटन छन्।

khaptad to rara (7).jpg
खापर दह।

एक दिन खप्तडमा नै बास बस्यौँ। खप्तडबाट पाटन र जंगल पार गर्दै रारातर्फको यात्रा तय हुन्छ। अघिल्लो दिन नै अछाम र बाजुराको सीमामा रहेको शहस्रलिंग धाम पुगेर फर्कंदा जंगलको बाटो पाटनको छेउ निस्किन हामी हराएका थियौँ। जसले बाटो केही घुमाउरो परिदियो। त्यसैले पनि रारातर्फ बढ्दा पूरा पाटन र जंगल छिचोलेर गाउँ निस्कन गाह्रो होला भन्ने बुझिसकेका थियौँ। 

पाटनमा हुने उस्तै बाटोहरू चिन्न नसकेर गन्तव्य हराउने सम्भावना ज्यादै हुन्छ। पाटनका ती उस्तै देखिने बाटामध्ये सही बाटो पहिल्याउन खप्तड होटल सञ्चालक रावल दाइले हामीलाई जहाँ छलिनुहुन्छ फोन गर्नुस् भनेर नम्बर दिएका थिए। तब त हामी हरेक दोबाटोमा फोन गर्न लागिहाल्यौँ। 

खप्तड दह हुँदै बाजुराको बाटो लाग्दा खापर दह पुग्दासम्म एउटै बाटो पछ्याउनु पर्‍यो। बिहान दुई घण्टा हिँडेपछि हामी खापर दह पुगेका थियौँ। बाटो छलिएला भनेर रुख ढलेको ठाउँबाट रावल दाइलाई गरेको फोन खापर दह पुग्नुअघि नै थियो। हामीसँग धनगढीमा किशोर खड्काले यात्राको जानकारी दिँदै दिएको नक्सा त थियो, तर त्यही हेरेर पाटनमा बाटो पहिल्याउन कहाँ सक्नु र!

अब फेरि खापर दह छेउमै दुई बाटा छुट्टिए। तीन जनाको तीनथरि कुरो भयो। मुख्य बाटो कुन हो भन्नेमा। गलफती गर्नुभन्दा रावल दाइलाई फोन गर्नै ठीक। उनले पाटनतिर नभइ जंगल छेउको बाटो भएर जानु भन्ने सुझाए। पथप्रदर्शकले भनेपछि अन्त सोच्ने कुरो भएन, हामी हिँड्यौँ उनले भनेतिरै। 

khaptad to rara (1).jpg
खप्तडको त्रिवेणी धाम।

बुढ्यौली शीरजस्तो पाटन घाँस सुकेर खिस्रिक्क परिरहेको थियो। यौवनको तस्बिर हेरेर भेट्न जाँदा अधबैँसे परेजस्तो पाटनले पूर्ण सन्तुष्टी दिन सकिरहेको थिएन। नौलो भूगोलको रोमाञ्चकताभन्दा बाहेक। त्यसैले पाटन जाने घाँस हरियो हुने बेला नै रहेछ। हामी गएजस्तो कात्तिकमा होइन। 

चौर हरियो नहुनु, सुकेका बाहेक फूल नदेखिनु र जीवजन्तुका नामका निखर कागबाहेक नभेटिनुले हाम्रो यात्राको उत्साह कम गर्न सकेन। भूगोलको अथाह ज्ञान र लमतन्न पाटन हाम्रा लागि धाएर भेट्नलायक नै थिए। त्यसबाहेक निर्मल दह र बाक्ला जंगल गजव भइहाले। बाटो हराउने डर यात्रापछि सम्झँदा सबैभन्दा रोमाञ्चित भइरहेको छ। 

रावल दाइले सम्झाएको बाटो हुँदै पाटन छेउको जंगलबाट ओरालो झरेपछि हामीलाई शंका लाग्यो बाटो अर्को हिँडियो कि! रावल दाइले यति छिटै ओरालो बाटो आइपुग्छ भनेका थिएनन्। बाजुरापट्टिको ओरालो पुग्न हामीले केही उकालो हिँड्न पर्ने थियो। तर उकालो नहिँडि ओरालो लागेपछि फेरि उही त हो- हलो रावल दाइ, हामी ता यइ पाटनका पछाडिबाट ओरालो आयाउ। बाटो यै हो कि काँ हो...

- कै पाटनबाट ओरालो गया? 

यी खरक भयाका पाटन भन्दा थोक्काइ उब्बो पुग्यापछि। 

- ए.. त्यो पाटन सक्यापछि ता खुट्किला पनि धेक्किँदा हुन्। अच्चेल पात र स्याउला हुनाले ती खुट्किला धेकाइनप तमुले... ताँ खोलातिर नझाउ.. त्यो गोठालोको पानी लिन झान्या बाटो हो... त्यै डाँडै डाँडा झाउ। खुट्किला पन धेक्किन्ना ताम्मा। 

केही ओरालो हिँडिसकेका हामी फर्कियौँ। नभन्दै पाटन छेउ साना-साना ढुंगा छापिएका खुट्किला रहेछन्। हामीले ती खुट्किलो पछ्यायौँ। त्यसपछि डाँडामाथि पुग्दा त खच्चडलाई सामान बोकाएर ल्याएका दुई जना भेटिए। बाटोबारे उनीहरूसँग पनि कुरा गर्‍यौँ। त्यसैले बाटो झुक्किएला भनेर रावल दाइलाई गरेको आठौँ फोन नै अन्तिम भयो। 

खप्तड होटलबाट बिहान ८ बजे हिँडेका हामी खप्तड सकिएर बस्ती सुरु हुने काँडा मध्यवर्ती क्षेत्र पुग्दा दिउँसो साढे १ बज्न लागिसकेको थियो। खप्तड पार गरेपछिको पहिलो बस्ती नै काँडा भएकाले त्यसअघि हामीलाई खाना खाने सुविधा थिएन। रावल दाइले बिहानै हिँड्ने बेला काँडाको होटलमा खाना भनिदिएका थिए। तर हामी पुग्दा पनि खाना पाकेको थिएन। 

हामीले खानाका लागि फोन गरेका थियौँ भन्दा काँडाका ती होटल सञ्चालक तीन छक परे। हामी त्यहाँ पुगेकोमै अचम्मित भएका उनले हाम्रा लागि खाना बनाएर बस्ने त कुरै भएन। ‘रावलजीले फोन त गरेका थिए तर काठमाडौंबाट आएका मान्छे भनेपछि तपाइँहरू यहाँ आइपुग्नुहुन्छ भन्ने लागेकै थिएन। त्यसैले खाना नबनाएको। दाल तरकारी बचेका छन्, खाना एकैछिनमा पाकिहाल्छ।’  

उनको कुरा सुनेर हामीलाई दिक्क लाग्नुपर्ने हो तर खुसी भयौँ। हुन पनि स्थानीयले नचिताएको दुरी हामीले सहि बाटो पहिल्याएर पूरा गरेका थियौँ। त्यहाँबाट हिँड्दा बाहिरका यात्रु काँडातिर आइनपुगि बझाङ सदरमुकामतिर पुग्दा रहेछन्। हामीले भने हरेक दोबाटोमा फोन गरेर बाटो सोध्दै भए पनि काँडा पहिल्याएरै छाड्यौँ। 

khaptad to rara (2).jpg
पाटनमा देखिएको फूल।

यसैले रावल दाइ हाम्रो यात्रामा कहिल्यै नमेटिने परिचय बने। हुन पनि हरेक दोबाटो र गल्छी बारे हेमन्तले फोनमा भन्दा रावल दाइले सही ठाउँ पहिल्याएर हामी कता लाग्नुपर्ने हो बताइदिए। बझाङकै भएकाले हेमन्तले स्थानीय भाषा/लवजमा गरेको कुराले पनि हामीलाई सहज भयो। भलै काँडाका होटलवालाले ‘काठमाडौंबाट’ भन्ने सुनेर हाम्रो लागि खाना नबनाइ बसे! 

पैदल यात्रुका लागि महत्वपूर्ण पर्यटकीय क्षेत्रमा बाटो पहिल्याउने कुनै संकेत, चिन्ह, लेखोट केही नहुनु भने दुःखद हो। गाउँ गाउँमा पुगेका ‘सिंहदरबार’हरूले पर्यटन विकासका लागि यस्ता साना साना कुरामा ध्यान दिनु जरुरी छ। होइन भने त खप्तडबाट काँडाको बाटो हुँदै रारा हिँडेका यात्रु चैनपुर पुग्दा राम्रो त हुँदैन नै। 

धन्न हामीसँग रावलजी यात्राभर जोडिए र खप्तड पार गरेर काँडा पनि पुग्यौँ, त्यहाँबाट रारासम्मै पनि। देख्यौँ, हेर्‍यौँ, अनुभव गर्‍यौँ। पैतालाले र त्योभन्दा बढी सम्झनामा नहराउने गरी आँखाले। 

khaptad to rara (4).jpg
छेडेदहमाथि डाँडामा साँझ घर जाँदै गरेका स्थानीय। 

यो चाहिँ फोसा (थाहा पाइराख्नुस्) 
काँडाबाट केही घण्टा हिँडेपछि बाजुराकै डोगडी (खप्तड छेडेदह गाउँपालिकाको कार्यालय रहेको स्थान) पुगिन्छ। डोगडीबाट जिपमा या पैदल जडाङतर्फ जान सकिन्छ। त्यही बाटोमा नै पर्छ छेडेदह। यही दहको नामबाट गाउँपालिकाको नाम खप्तड छेडेदह गाउँपालिका रहेको छ। 

छेडेदहबाट जडाङ हुँदै बुढीगंगा नदीको पुल तरेर बाजुरा सदरमुकाम मार्तडी पुगिन्छ। भिरालो पाखोमा रहेको मार्तडी बजार हेर्दै यात्रा कोल्टी विमानस्थलतर्फ बढ्छ। खप्तडबाट राराको यात्रा तय हुनाले बाजुराको एक कुनाबाट हिँडेर अर्को कुना निस्किनु पर्ने गरी बाटो पर्छ।

कोल्टीबाट बाजुरा र मुगुको सीमाना झुँगालातर्फ बढ्नुपर्छ। झुँगाला बाजुरा र मुगुको मात्र सीमा नभएर सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको समेत सीमाना हो। जहाँ सीमामा बगिरहेको छ कर्णाली। झुँगाला पुग्न कोल्टीबाट जिपमा धुलाचौर पुग्न सकिन्छ। जहाँबाट १५ मिनेटमा झुँगाला पुल तरेर मुगु प्रवेश गरिन्छ।

khaptad to rara (6).jpg
राराबाट निकास भएको पानी, जुनछेवैछेउ बढ्दै रारा पुगिन्छ।

झुँगालाबाट तीन घन्टामा मुगुको रातापानीसम्म पुग्न सकिन्छ। झुँगालाबाट रातापानी पुग्न मोटरबाटो नै खनिएको भए पनि त्यहाँ नियमित गाडी भने नचल्ने रहेछन्। रातापानीबाट बिहान हिँडेपछि बेलुका नै रारा पुग्न सकिन्छ। तर सामान्य हिँडाइमा पनि एकै दिनमा रारा छेउको मुर्मा गाउँसम्म पुग्न सकिन्छ। झुँगालाबाट सुरु भएको मुगुको खत्याड गाउँपालिका रारा राष्ट्रिय निकुञ्जसम्मै जोडिएको छ। 

रातापानीबाट हिँड्दा खत्याड गाउँपालिकाको कार्यालय रहेको माथीचौर हुँदै रारातर्फ बढिन्छ। जहाँ राराबाट निकाश भएर बग्ने खोलाको तिरैतिर अघि बढ्नुपर्छ। मोटरबाटो केही घण्टा हिँडेपछि सुन्दर पैदल मार्ग भेटिन्छ। जहाँ प्राकृतिक छटासँगै लुटपुटिँदै पाइलाहरू गन्तव्य छोट्याउन भन्दा आँखाको इशारामा अलमलिन व्यस्त हुन्छन्। जसले एकै दिन रारा पुग्न कठीन हुन सक्छ। राराभन्दा एक घन्टा तल रहेको जेउडैखोलामा पनि बासको ब्यवस्था छ। 

जेउडैखोलाबाट बिहान हिँड्दा माझघट्टभन्दा केही वरबाट मुर्मा गाउँ हुँदै मुर्माटप या सिधा रारातर्फ नै जान पनि सकिन्छ। जहाँ सकिन्छ रोमाञ्चक भूगोलको यात्रा ‘खप्तडदेखि रारा’। 

khaptad to rara (6).jpg


प्रकाशित : शनिबार, भदौ २६ २०७८०३:१८
  • सम्बन्धित विषय:

  • # यात्रा
  • # रारा
  • # खप्तड


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend