आइतबार, साउन ६ गते २०८१    
images
images
images

नेपालको हवाई इतिहासमा पहिलोपटक एकवर्षमै भित्रिए १२ वायुयान

आगामी आवमा बीबी एयरवेजले पनि जहाज भित्र्याउने

images
शनिबार, असार २२ २०८१
images
images
नेपालको हवाई इतिहासमा पहिलोपटक एकवर्षमै भित्रिए १२ वायुयान

आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल कम्पनी बुद्ध एयर हो। बुद्ध एयरले भारतको दुई गन्तव्यमा उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिने तयारी गरेको छ।

images

काठमाडौं- नेपालको हवाई इतिहासमा आर्थिक वर्ष २०८०/०८१ सुखद् वर्ष भएको छ। हवाई क्षेत्रको व्यापारमा उत्साह छाएको छ। आन्तरिक हवाई यात्रुको संख्या बढ्दो छ। आन्तरिक उडानको स्टल उडानमा कमजोर देखिए पनि समग्रमा व्यवसाय फस्टाउँदो छ। व्यवसायमा देखिएको उत्साहका कारण वायुसेवा कम्पनीहरूबीच जहाज थप्ने प्रतिस्पर्धा नै भएको छ।

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालको हवाई इतिहासमा सबैभन्दा बढी जहाज एकैपटक भित्रिएको वर्ष चालु आव भएको छ। चालु आवमा मात्रै ७ वटा ठूला जहाज तथा ५ वटा हेलिकोप्टर नेपाल भित्रिएका छन्। यो नै सबैभन्दा बढी वायुयान भित्रिएको वर्ष भएको प्राधिकरण प्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन्।

images

यो वर्ष सबैभन्दा बढी जहाज भित्र्याउनेमा श्री एयरलाइन्स रहेको छ। श्रीले ८० सिट क्षमताको ३ वटा क्यू ४०० ड्यास जहाज नेपाल भित्र्याएको छ। यसैगरी बुद्ध र यतीले पनि २/२ वटा ७२ सिट क्षमताको जहाज नेपाल भित्र्याएका छन्।

images

यसैगरी ५ वटा हेलिकोप्टर नेपाल भित्रिएको छ। जसमा हेलि एभरेष्टले सबैभन्दा बढी हेलिकोप्टर नेपाल भित्र्याएको छ। मुस्ताङले एउटा, मनाङले एउटा र सिम्रिकले एउटा हेलिकोप्टर भित्र्याएका छन्। १२ वायुयान नेपाल भित्रिँदा साढे ९ अर्ब रुपैयाँ नेपालबाट बाहिरिएको छ। यसैगरी १२ वायुयान नेपाल भित्र्याउँदा सरकारले साढे १ अर्ब राजस्व संकलन गरेको छ। 

कुन एयरको कति?

आन्तरिक उडानमा सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससहित ७ वटा कम्पनी उडानमा छन्। गुण एयर उडानमा छैन। गुण एयरको एओसी निलम्बनमा परेको छ। एक वर्षअगाडि नै एओसी निलम्बनमा परेको गुणको अहिले इजाजतको अवधि सकिएको छ। अब उसले उडानमा फर्कन इजाजत नवीकरण गरेर एओसी ब्युँताउनु पर्छ।

आर्थिक संकटमा परेको गुण एयर बन्द भएको साढे एक वर्ष भइसकेको छ। एयरले अहिले विमानस्थललाई तिर्नुपर्ने करिब ७ करोड बक्यौता भुक्तानी गरेर उडानमा फर्कन खोजेको छ। कम्पनीका मालिक राजेन्द्र शाक्यले गुण ग्रुपको कर्पोरेट अफिस बिक्री गरेर बक्यौता रकम तिरी पुन: उडानमा फर्कन खोजेका छन्।

तर प्राधिकरणले उसलाई पुरानै जहाजबाट उडान गर्न दिने सम्भावना नरहेको बताएको छ। गुणसँग ७ वटा जहाज छन्। यसबाहेक बुद्ध, यती, श्री, तारा, समिट, सिता र नेपाल एयरलाइन्सले फिक्सविङतर्फमा उडान गरिरहेका छन्।

यी सबैकम्पनीहरूसँग उडानयोग्य रहेका तथा नरहेका गरी ६१ वटा जहाज छन्। जसमा सबैभन्दा बढी बुद्ध एयरसँग १८ वटा जहाज छ। 

नम्बर एक कम्पनी बुद्ध, प्रतिस्पर्धामा यती र श्री

आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल कम्पनी बुद्ध एयर हो। बुद्ध एयरसँग अहिले १८ वटा एटीआर जहाज छन्। बुद्ध एयरले यही असार १४ गते शुक्रबार १८ औँ एटीआर जहाज नेपाल भित्र्याएको थियो।

बुद्धसँग ३ वटा एटीआर ४२ र १५ वटा एटीआर ७२ जहाज छ। एयरले चालु आवमा मात्रै २ वटा जहाज थपेको हो। एयरले भारतको सिक्किम र गुहावटीमा समेत उडानको तयारी गरिरहेको छ। बुद्ध एयरले भारतको दुई गन्तव्यमा उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिने तयारी गरेको छ।

यसैगरी एयरले धनगढीमा उडान तालिकासमेत बढाउने तयारी गरेको छ। बुद्धले भारतको बनारसमा समेत उडान गरिरहेको छ। बुद्ध एयर अहिले नेपालमा सबैभन्दा बढी उडान गर्ने एयरलाइन्स हो।

बुद्धको बजार हिस्सा २०२४ को तीन महिनामै ६३.५० प्रतिशत पुगेको थियो। बुद्ध एयरले अहिले काठमाडौंबाट माउन्टेन उडानसहित धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, पोखरा, चितवन, सिमरा, जनकपुर, राजविराज, विराटनगर, भद्रपुर र तुम्लिङटारमा उडान गरिरहेको छ। यसैगरी पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जमा समेत उडान गरिरहेको छ। 

यसैगरी आन्तरिक उडानमा अहिले यती एयर र श्री एयरबीच यात्रु संख्यामा आधारमा नम्बर २ बन्ने भनेर प्रतिस्पर्धा चलिरहेको छ। जहाज संख्याको हिसाबमा श्री अगाडि छ तर यात्रु संख्याको हिसाबमा यती अगाडि छ।

यतीले अहिले एटीआर ७२ जहाज मात्रै उडाइरहेको छ। यतीसँग ७ वटा जहाज छ। सञ्चालनको २५ वर्षपछि एसियन लाइन इन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्र्याउँदै एयरलाइन्सले यही वर्ष २ वटा एटीआर जहाज थपेको छ। संकट भोगिरहेको बेला जहाज दुर्घटनापछि यती एयर आर्थिक संकटमा फसेको थियो।

देशभरका विमानस्थलमा विमानस्थल सेवा शुल्क वापतको रकम भुक्तानी गर्न सकेको थिएन। अहिले लगानीकर्ता भित्र्याउँदै आक्रमक बजार बिस्तार गरिरह‍को छ। यती एयरले सर्वसाधरणका लागिसमेत सेयर जारी गर्ने तयारी गरिरहेको छ। ६ वटा एटीआर जहाजमध्ये एउटा दुर्घटना भएपपछि यतीको जहाज संख्या पाँचवटा भएको थियो।

पाँचवटा जहाज भएको यती एयर संकटबाट माथि उठन कोशिस गरिरहेको थियो। त्यही क्रममा यती ग्रुपमा अध्यक्ष सोनाम शेर्पाले लगानीकर्ता भित्र्याउने निर्णय गरेका थिए। सञ्चालनको २५ वर्षपछि यती एयरमा ४९ प्रतिशत सेयर स्वामित्वमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी प्रवेश गरेको थियो।

करिब पौन २ अर्बको लगानीसहित एसिएन लाइफ इन्स्योरेन्स कम्पनी यती एयरमा प्रवेश गरेको हो। एसियनको प्रवेशसँगै एयरलाइन्सले जहाज खरिद गरेर सेवा विस्तारको लक्ष्य लिएको छ।

सोही क्रममा यती एयरले २०८० को माघ १८ गते एकैपटक २ वटा एटीआर ७२ जहाज भित्र्याउँदै जहाज संख्या ७ वटा बनाएको थियो। यतीले फेरि ३ वटा जहाज थप्ने तयारी गरेको छ।

यतीसँग भएका सबै जहाज एटीआर ७२ जहाज हुन्। यतीले अहिले काठमाडौंबाट माउन्टेन उडानसहित नेपालगञ्ज, भैरहवा, पोखरा, जनकपुर, विराटनगर र भद्रपुरमा उडान गरिहेको छ। यात्रु संख्यको हिसाबमा यती दोस्रो ठूलो कम्पनी हो।

चालु आबमा सबैभन्दा बढी जहाज भित्र्याउने एयरलाइन्स श्री एयर हो। चालु आवमा मात्रै एयरले ३ वटा क्यू ४०० ड्यास ८ जहाज भित्र्याएको हो। हेलिकोप्टर सेवाबाट आन्तरिक उडान (फिक्सविङ सेवामा) प्रवेश गरेको श्री एयरलाइन्सले पनि जहाज संख्या ११ वटा बनाएको छ।

साथै श्रीसँग ८ वटा हेलिकोप्टरसमेत छ। कुल श्रीसँग १९ वटा वायुयान भएको छ। वायुयानको आधारमा सबैभन्दा ठूलो एयरलाइन्स श्री बनेको छ। श्रीसँग ४ वटा सिआरजे र ७ वटा क्यू ४०० ड्यास ८ जहाज छन्।

श्रीले पछिल्लो समय सिआरजे जहाज थप्ने निर्णयसँगै क्यू ४०० ड्यास ८ जहाज नेपाल भित्र्याउँदै आएको छ। यी जहाज ८० सिट क्षमताका हुन्। श्रीले सातौँ नम्बरको क्यू ४०० ड्यास ८ जहाज असार ७ गते शुक्रबार काठमाडौं ल्याण्ड गराएको थियो। थप भएको जहाजबाट श्रीले भारतको दुईवटा सहर र भरतपुरमा उडान गर्ने अन्तिम तयारी गरेको छ।

यसअघि श्रीले गएको चैत १३ गते एकैपटकमा २ वटा क्यू ४०० ड्यास ८ जहाज नेपाल भित्र्याउँदै १० जहाज र ८ हेलिकोप्टर गरी वायुयान संख्या १८ बनाएको थियो। सुरुमा श्रीले काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी तथा पर्वतीय उडानमा नियमित रूपमा हवाई सेवा सञ्चालन गरेको थियो।

अहिले श्रीले काठमाडौंबाट माउन्टेन उडानसहित धनगढी, सुर्खेत, नेपालञ्ज, भैरहवा, विराटनगर र पोखरा उडान गरिरहेको छ। श्रीले नेपालगञ्जबाट मानसरोवरका लागि माउन्टेन उडान पनि गरिरहेको छ।

श्रीले अहिले चितवनको भरतपुरमा उडानको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। श्रीले पोखराबाट पूर्व र पश्चिममा माउन्टेन उडान गर्ने तयारीसमेत गरेको छ। श्रीले योसँगै भारतको अहमवाद, कोलकाता र जयपुर उडानको तयारी गरेको छ।

यसैगरी आन्तरिक उडानमै रहेको नेपाल एयरलाइन्ससँग आन्तरिक उडान गर्ने ७ वटा जहाज छन्। तर २ वटामात्रै जहाज उडानयोग्य छ। ३ वटा वाई १२ र २ वटा एम-६० जहाज २०७७ साउनदेखि  निगमले उडान नगर्ने घोषणासँगै ग्राउन्डेड छ।

जहाज व्यस्थापनमा ढिलासुस्ती भइरहेको छ। यसैगरी स्टल रुपमा उडान गरिररहेको तारा एयरसँग ३, समिटसँग ४ र सिता एयरसँग ३ वटा जहाज छन्। स्टल उडानका लागि जहाज थप्न प्रतिस्पर्धा चलेपनि स्टल रुटमा उडान गर्न जहाजको संख्या घट्दो छ। स्टल उडान कोल्याप्सको चरणमा छ।

हिमाली क्षेत्रको पर्यटन तथा यातायातलाई सुधार गर्ने हो भने स्टल उडानमा राज्यले अनुदान दिनु पर्ने अवस्था आएको छ। प्राधिकरणले स्टल उडानलाई जोगाउन अहिले कोष खडा गरेर ट्रंक उडानबाट रकम संकलन भने थालेको छ। त्यसले मात्रै नपुग्न वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की बताउँछन्।

यस्तो छ वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीको भनाइ -

आन्तरिक हवाई उद्योग सम्रगमा फस्टाउँदो नै छ। तर आन्तरिक उडानमै स्टल उडान (दुर्गम तथा पहाडी जिल्लाको विमानस्थल) ले भने लय बिर्सँदै गएको देखिन्छ। विगतको तुलनामा ठूलै तवरमा स्टल उडान घटेको छ। यो अझै पनि घट्ने अवस्थामा छ। स्टल उडान कमजोर हुनमा दुईवटा कारण छन्। पहिलो त, स्टलमा उडान भर्ने जहाजको संख्यामा नै भारी कटौती भएको छ।

जहाज कम हुँदै जानुको कारण यो क्षेत्रमा व्यवसाय गरिरहेकाहरूले लगानी नथप्नु नै हो। जहाज नथप्नुको एउटै कारण हो, जहाजको परल मूल्य अति नै महँगो छ। सेकेन्डह्यान्ड एटीआर आउने मूल्यमा स्टल उडान गर्ने जहाज खरिद गर्नुपर्ने अवस्था छ। तर स्टल उडानमा रहने जहाजको सिट क्षमता १६ देखि १८ मात्रै छ। जसका कारण प्रतिसिटको लागत बढी भएको छ।

टिकटको हकमा पनि नियमन कसिलो छ। नेपालीको हकमा प्रतिटिकट कति चार्ज गर्ने भने विषयमा एकरुपता देखिए पनि विदेशीको हकमा भने कुनै बाध्यकारी नियम छैन। हामी आफैले निर्धारण गरिरहेका छौँ। विदेशीले यात्रा गर्ने समय भनेको वर्षमा बढीमा साढे २ महिनादेखि ३ महिनामात्रै हो। बाँकी समय यात्रा गर्ने भनेको त नेपाली यात्रु नै हो।

नेपालीको हकमा पनि पहाडको जनसंख्या घट्दो छ। पहाडबाट तराईतिर बसाइ सर्नेको संख्या बढ्दो छ। जसका काण स्टल उडानमा यात्रा गर्ने यात्रु सिजनल भएको देखिएको छ। बसन्त ऋतुको समयमा माथि जाने अलि बढी देखिएको छ। माथिबाट फर्कने खासै हुँदैनन्। फेरि अर्को सिजनमा तल झर्ने मान्छे हुन्छन् माथि जाने हुँदैनन्। जसका कारण स्टल उडानमा जहिले पनि वन-वे ट्राफिक भएको छ। जाँदा १८ र आउँदा १८ जना यात्रु पाउने अवस्था छैन। एउटा उडानमा ७० प्रतिशत अकुपेन्सी भएमात्रै एयर कम्पनी 'ब्रेक इभन'मा जान सक्छ।

आजको दिनमा सुदूरपश्चिममा समिट एयरको बाहेक अरु कुनै एयरको पनि जहाज छैन। हरेक सेक्टमा एउटा मात्रै जहाज छ। यो उदारण दिनुको कारण एउटा मात्रै जहाजले उडान गर्दा पनि यात्रु छैनन्। अहिले माथि जाने मात्रै छन्। तल झर्ने छैनन्। जाडोमा तल झरेका माथि जान थालेका छन्। अबको केही दिनमा तल झर्ने मात्रै यात्रु हुन्छन्। यात्रुले यात्रा गर्न पाउने अधिकार हो। तर किन सहज भएन त? भनेर प्रश्न गर्दैगर्दा एयरलाइन्स कम्पनीले दुईतर्फीको सिटलाई गणना गरेर भाडा तय गरेको हुन्छ। तर यात्रु 'वन-वे'मा मात्रै हुन्छ। जसका कारण उडान समस्या खडा भएको छ। तर कुनै कुनै बेलाचाँही टू-वे नै ट्राफिक हुन्छ। तर ६ महिनाभन्दा बढी समय 'वन-वे' मात्रै हुन्छ। समिट एयरको एकाध सेक्ट बाहेक सबै घाटामा छ। लुक्ला, डोल्पा र जोमसोमबाहेक अन्य सेक्टरको उडानमा घाटा नै छ। 

प्रत्यक्ष लगानीमा समेत नै पनि घाटा छ।  प्रत्यक्ष लगानी भनेको उडेपछि अनिवार्य हुने खर्च हो। यसमा समेत घाटा छ। जस्तै इन्धन, उडान कर्मचारीको तलब, ल्यान्डिङ, पार्किङलगायतको लगानीसमेत उठ्ने अवस्था छैन। यसको अर्थ जहाज उडाउँदा भन्दा नउडाउँदा नै फाइदा छ। जहाज थप्ने उत्साह नै छैन। यी परिवेशमा जहाज थप्नु भनेको घाटा मात्रै बढाउने हो। सबैभन्दा बढी घाटा समिटले खेपिरहेको छ। किनकि समिटकै जहाज बढी छ। यो अवस्थामा लगानीको सुरक्षा नै छैन। 

कुनैबेला नेपाल एयरलाइन्सबाहेक स्टल उडान गर्ने वायु्सेवा कम्पनीहरूसँग दुई दर्जन जहाज थिए। तर अहिले ९ वटा मात्रै जहाज छन्। जसमा समिटसँग ४, तारासँग ३ र सीतासँग ३ वटा जहाज छन्। सीतासँग रहेको तीवटा जहाजमा अहिले दुईवटा मात्रै उडानमा छ। स्टल उडानमा नयाँ लगानी नथपिएसँगै अब पनि स्टल उडानमा राज्यले नयाँ नीति नलिने हो भने एक दशकभित्रै नेपालमा स्टल उडान कोल्याप्स हुन सक्छ।

अर्को त २०७२ सालदेखि भाडामा पनि पुनरावलोकन नभएको अवस्थामा स्टल उडान माथि जान सक्ने अवस्था छैन। घट्दो चरणमा नै जाने हो। अहिले डलरको भाउ बढ्नाले पनि समस्या भएको छ। हाम्रो कुल लागतको ४० प्रतिशत डलरमै खर्च हुन्छ। यस हिसाबले पनि स्टल उडानमा लागत नै नउठ्ने अवस्था आएको छ।

यस्तो अवस्थामा जबसम्म राज्यले एउटा स्पष्ट नीति लिँदैन तबसम्म निजी क्षेत्रबाट स्टल उडानको क्षमता बढाउन सम्भव छैन। यातायातमा सहज पहुँचका लागि राज्यको पनि दायित्व हुन्छ। राज्यले दायित्व बहन गर्ने हो भने उडानमा रहेकालाई बाध्यकारी गराउँदै लागतमा सरकारको पनि यति योगदान रहन्छ भनेर निर्णय गर्नु पर्छ। उदाहरणका लागि अहिले सुर्खेतबाट कर्णालीको कुनै पनि जिल्लामा उडान हुँदैन। सबै लुम्बिनीको नेपालगञ्जबाट नै हुने हो। कर्णालीको राजधानी आउन नेपालगञ्ज आएर जानु पर्छ। सांसदलाई आफ्नो क्षेत्रमा जान पनि नेपालगञ्जबाट नै उडान गर्नु पर्छ।

यसका लागि त केही सहयोग प्रदेश सरकारबाट पनि हुन पर्छ। यात्रु भएको बेला पर्दैन तर नभएको बेलामा लागत त उठ्नेगरी योगदान गरिदनुपर्छ। यसको अर्थ जबसम्म राज्यले स्टल उडानका लागि नयाँ तवरबाट सोच्दैन तबसम्म यसमा थप हुने केही छैन।

सेवा प्रदायकहरूबाट यसबारेका सरकारलाई बारम्बार सुझाव दिँदै आएका छौँ। तर अहिलेसम्म सुनुवाइ भएको छैन। एकपटक खड्ग बहादुर विश्वकर्मा पर्यटनमन्त्री हुँदा कर्णालीको जिल्लाहरूमा उडान गर्दा इन्धनमा १० रुपैयाँ छुट दिने व्यवस्था गरिएको थियो। त्यो बेला नियमित नै कर्णालीका जिल्लाहरूमा उडान भएको थियो। उहाँ मन्त्रीबाट हटेपछि छुट पनि हट्यो, उडान पनि नियमित हुन सकेन। राज्यले बेलामा नै नसोच्ने हो भने स्टल उडान लोपोन्मुख उडान हुने छ। 

स्टल उडानका लागि जनशक्तिको पनि अभाव छ। सुगममा उडान गर्ने एउटा पाइलट दुई वर्षमा तयार हुन्छ भने दुर्गम विमानस्थलमा उडान गर्ने पाइलट उत्पादनका लागि सातवर्षसम्म लाग्छ। जहाज संख्या नै कम हुँदै जाने र नयाँ नथपिने भएपछि नयाँ जनशक्ति उत्पादनको त कुरै हुँदैन र भएका पनि पलायन हुने अवस्थाले पनि यो उडानमा समस्या देखिएको छ।

लगानी गरेपछि जसले पनि प्रतिफलको आशा गरेको हुन्छ। प्रतिफल नै नहुने भएपछि लगानी हुँदैन र सेवा विस्तार पनि हुँदैन। यसका लागि सरकारले अध्ययन गरेर यो-यो क्षेत्रमा तिमीले उडान गर्नैपर्छ र उडानको घाटा सरकारले बेहोर्छ नभन्ने हो भने अब स्टल उडान सम्भव छैन। तर लुक्का, डोल्पा, जोमसोममा भने यो नचाहिने हुन पनि सक्छ। त्यही भएर सरकारले अध्ययनसहितको निर्णयको आवश्यकता चाहिएको छ।

जहाजको पार्टपुर्जा पनि ३/४ गुणासम्म महँगो भएको छ। बैंकबाट लिएको ऋण पनि बढेको बढ्यै छ। तर आम्दानी छैन। यस्तो अवस्थामा स्टल उडान बन्द हुने जोखिम छ। सरकारले यो समस्यालाई समाधान गर्न बैंक ब्याजदरमा पनि केही सहुलियत दिनु पर्छ।

दुर्गम कल्याणकारी कोषलाई पुनर्जीवित गर्ने विषय पनि आएको छ। यसलाई पुनर्जीवित गर्नु राम्रो हो। केही कानून तथा आईकाओको प्रश्न पनि उठ्न सक्छ तर राज्यले त्यसलाई मिलाउन सक्छ। कोषमा व्यवसायीले मात्रै पैसा राखेर सम्भव छैन। निजी क्षेत्रका व्यवसायीले राखेको पैसा एउटाबाट अर्कोलाई बाँड्ने काम मात्रै हुन्छ। कोष स्थापना गर्ने हो भने राज्यको पनि योगदान हुनु पर्छ।

निजी क्षेत्र व्यापार गर्न आएको हुन्छ। व्यापारमा सधैँ घाटा खाएर त बस्न सक्दैन। कि त राज्यले सुरक्षा दिनुपर्छ। नत्र निजी क्षेत्रले सेवामात्रै दिन त सक्दैन। सेवामात्रै नै दिने हो भने त सरकारी वायुसेवालाई आवश्यक जहाज खरिद गर्न लगाएर दिनु पर्छ। अन्यथा स्टल उडानमा अब कुनै पनि निजी क्षेत्रका व्यवसायीले लगानी गर्नसक्ने अवस्था छैन। स्थानीय तह, प्रदेश र संघीय सरकारले यसका लागि नयाँ कदम चाल्नु पर्छ। अहिलेको अवस्थामा लुक्लाबाहेक अन्य स्टल उडान फाइदमा छैन। 

जसरी अहिले दुर्गम तथा पहाडी क्षेत्रमा विमानस्थल बनेका छन् त्यसबाट नागरिकले हवाई यातायातमार्फत यात्रा गर्न पाउने अधिकार सुरक्षाका लागि पनि सरकारले सोच्नुपर्ने हुन्छ। अहि सञ्चालनमा रहेका सुदूरपश्चिमको बझाङ र कोल्टी तथा साँफेबगरबाहेक अन्यमा त यात्रु नै पाउन सक्ने अवस्था छैन। यसैगरी कर्णालीको ताल्चा तथा डोल्पामा पनि केही यात्रु छन्। यहाँ उडान सम्भव छ। अर्को सम्भावन भएको विमानस्थल लुक्ला नै हो। यसबाहेक अन्य विमानस्थल सञ्चालनका लागि राज्य आफै तत्पर हुन पर्छ कि त निजी क्षेत्रको लगानी सुरक्षित हुने नीति लिनु पर्छ।

१२ हेलिकोप्टर कम्पनीसँग ३४ वायुयान

अहिले १२ वटा कम्पनीले हेलिकोप्टर सेवा दिँदै आएका छन्। १२ कम्पनीमध्ये ४ वटा कम्पनीले चालु आवमा मात्रै ५ वटा हेलिकोप्टर नेपाल भित्र्याएका छन्। ५ वटा हेलिकोप्टर नेपाल भित्रिँदा १ अर्ब ४३ करोड रुपैयाँ बाहिरिएको छ।

हेलिकोप्टर आयातबाट सरकारले २० करोड ३१ लाखको रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आवमा मुस्ताङले १, हेलिएभरेष्टले २, मनाङले १ र सिम्रिकले १ वटा हेलिकोप्टर नेपाल भित्र्याएका छन्।

अहिले कैलाशसँग ३, सिम्रिकसँग ४, प्रभुसँग १, माउन्टेनसँग २, अल्टिच्युडसँग २, मनाङसँग १, मुस्ताङसँग २, हेलिएभरेष्टसँग ४, एयरडाइनेष्ट्रकसँग ४, श्रीसँग ८, फिस्टेल २  र माउन्टेनसँग २ वटा हेलिकोप्टर छन्। 

आगामी आवमा बीबीको २ जहाज आउने

बीबी एयरवेजले आगामी आर्थिक वर्षमा अनिवार्य रुपमा २ वटा जहाज भित्र्याउनुपर्ने छ। एयरले जहाज भित्र्याउन नसकेको खण्डमा फेरि ‘एनओसी’ खारेज हुने छ।

बीबी एयरवेजले जहाज ल्याउने तयारी गरिहरहेको बताएपनि चैतमा एनओसी पाएपछि प्राधिकरणसँग भने सम्पर्क भएको छैन। एनओसी पाएको ३ महिना भइसकेको छ। 'एनओसी’ पाएको बीबी एयरवेजले जहाज खरिद प्रक्रिया अगाडि बढाएको स्रोतको दाबी छ। 

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षसमेत रहेका भवन भट्ट अध्यक्ष रहेको ‘बीबी एयरवेज’लाई नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज ल्याउन अनुमति दिएसँगै खरिद प्रक्रिया अगाडि बढेएको छ।

एनओसी पाएलगत्तै बीबी एयरवेजले पहिलो चरणमा दुई थान एयरवस ३२० सिरिजका जहाज खरिद गर्नेगरी प्रक्रिया अगाडि बढाएको अध्यक्ष भट्टले जानकारी दिएका थिए। ‘६ महिनाभित्रै जहाज नेपाल ल्याएर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने छौँ’ भट्टले बिजनेस न्युजसँग बताएका थिए।

बीबी एयरवेजले एयरवस ३२० का लागि करिब ७ अर्ब रुपैयाँको हाराहारीमा लगानी गर्ने छ भने भाडामा ल्याउने जहाजसहित पहिलो चरणमा नै करिब १० अर्ब रुपैयाँ लगानी गर्ने अनुमान छ।

प्राधिकरणले कम्पनीलाई तीनवटा ‘एयरबस ३२०’ जहाज ल्याउन पाउनेगरी अनुमति दिएको छ। दुई जहाज खरिद नै गर्ने र तेस्रो जहाज भने भाडामा ल्याउने कम्पनीको तयारी छ। २०६८ सालमा स्थापना भएको बीबी एयरवेजले त्यसको एकवर्षपछि नै २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो।

कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एक थान ‘बोइङ ७५७-२००’ सिरिजको जहाज भाडामा लिएर उडान गरेपनि कात्तिकमै उडान बन्द गरेको थियो। पहिले तीन महिना पनि उडानमा टिक्न नसकेको बीबी एयरवेजको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बनमा परेको थियो।

एओसी नै निलम्बन परेको एयरवेजले दुई वर्ष अगाडिदेखि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एयरलाइन्स सञ्चालनको अनुमति पत्र नवीकरण गरेको थियो।


प्रकाशित : शनिबार, असार २२ २०८१११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend