बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लहलहैमा दु:ख पाउँदै छन् किसान, अवस्था नबुझी धानको बीउ राख्दा उत्पादनमा समस्या

सोमबार, जेठ २८ २०८१
लहलहैमा दु:ख पाउँदै छन् किसान, अवस्था नबुझी धानको बीउ राख्दा उत्पादनमा समस्या

जुटबाली अनुसन्धान केन्द्र इटहरीमा ६ टन 'राम धान'को मूल बीउ थन्किएको छ। उत्पादक कम्पनीले खरिद नगरेपछि मूल बीउ थन्किएको हो।

इटहरी- सुनसरीको बर्जू गाउँपालिकाका हरिकृष्ण यादवको खेतमा अघिल्लो वर्ष धान उत्पादनमा भारी गिरावट आयो। विगतका वर्षहरूमा जस्तै बढी उत्पादन हुने विश्वासमा 'रञ्जित धान' रोपेका उनले सोचेकोभन्दा उल्टो परिणाम पाए।

अत्यधिक भुस लागेको र फल्ने बेला किराले आक्रमण गरेको कारण धान उत्पादनले हरिकृष्णलाई नाफा दिन सकेन। यसपटक नयाँ प्रजातिको 'चैते १२' र 'राम धान' लगाउने तयारीमा छन् उनी। 

कृषि अनुसन्धान केन्द्र तरहराले नयाँ प्रजातिका बीउहरू तयार पारिरहेको छ। अनुसन्धान गरेर नयाँ प्रजाति पत्ता लगाएपछि कम्पनीमार्फत कृषकको लागि बीउ उत्पादन हुन्छ। उत्पादक कम्पनीले ठूलो मात्रामा बीउ उत्पादन गरेपछि स्थानीय सरकार तथा कृषि सहकारीमार्फत किसानसम्म पुग्ने गरेको छ।  

बर्जू गाउँपालिकामा ओम ‘सिड अर्गानिक फर्टिलाइजर प्रालि’मार्फत वीरेन्द्र यादवले ९ हेक्टर जग्गामा बीउ उत्पादन गर्दै आएका छन्।

कृषि अनुसन्धान केन्द्र तरहरा र जुटबाली अनुसन्धान केन्द्र इटहरीले अनुसन्धान गरेर पत्ता लगाएका बीउ उत्पादन गर्ने गरेको उनले बताए।

हाल 'राधा १२', 'चैते ५', 'चैते २' र 'राम धान'को बीउ उत्पादन गरिरहेको बताउँदै उनले मुख्यतः बर्जू, गढी र देवानगंज गाउँपालिकाका किसानलाई बिक्री गर्ने जानकारी दिए। 

krisi anusandhan.jpg

रामवृज मेहता बीउ मात्र हैन धान नै उत्पादन गर्छन्। विगतका वर्षमा रञ्जित धानले धेरै दु:ख दिएको कारण अघिल्लो वर्षदेखि आफ्नै कम्पनीले उत्पादन गरेको धान खेती गर्ने गरेको उनी बताउँछन्। ‘कुसुवाह खाद्य बीज भण्डार प्राली’ का सञ्चालक उनले अरूको लहलहैमा लागेर किसानले धेरै दुःख पाएको अनुभव सुनाए।  

रञ्जितमा मात्र नभइ जिरामसिनो धानमा समेत समस्या देखा पर्न थालेको उनको भनाइ छ। जिरामसिनो धानमा पछिल्लो समय फोस्रो र अस्वाभाविक ठूलो दाना हुने गरेको उनले बताए। 

कृषि अनुसन्धान केन्द्र तरहराका किटविज्ञ सुरेन्द्र यादव धानलाई मुख्यतः गभारो र 'राइस गुन्धी बग'बाट बचाउनुपर्ने बताउँछन्।

धानमा दूध पसेपछि लाग्ने राइस गुन्धी बगले चामल बस्न नदिने उनको भनाइ छ। किसानलाई सुझाव दिँदै उनले भने, ‘खेतका झारहरू फडानी गर्ने र निरन्तर सिँचाइ गर्ने गर्नुपर्छ। विषादी प्रयोग गर्दा वा धानको बीउ राख्ने बेलामा प्राविधिकसँगको सल्लाह अनिवार्य लिनै पर्ने हुन्छ।’  

रञ्जित धानमा शीत ब्लाइट र ब्याक्टेरियल लिफब्लाइट (डढुवा) रोग देखिएको कृषि अनुसन्धान निर्देशनालय तरहराका निर्देशक डा. गोविन्द तिम्सिनाले बताए।

रञ्जित भारतीय जात भएकाले जथाभाबी रोपेको कारण यो समस्या आएको उनी बताउँछन्। भारतको आसाम तथा मेघालयबाट भित्रिएको रञ्जितको सुरुवातमा उत्पादन र पराल राम्रो भएको कारण धेरै किसान आकर्षित भएको उनको बुझाइ छ।  

Dr govindha timsina.jpg
 कृषि अनुसन्धान निर्देशनालय तरहराका निर्देशक डा. गोविन्द तिम्सिना।

पछिल्लो समय जलवायु परिवर्तनको प्रभावलाई समेत प्रभावकारी हुनेगरी चार प्रजातिको नयाँ बीउ उत्पादन गरेको डाक्टर तिम्सिना बताउँछन्। रोगसँग लड्न सक्ने क्षमता भएका, बढी उत्पादन हुने र मसिनो दाना भएका धानको बीउ अनुसन्धान भइरहेको छ।  

बिजनेस न्युजसँग कुरा गर्दै उनले भने, ‘डुबान सहन सक्ने 'साँवा सब १' र 'स्वर्ण सब १' धान हुन्। सुक्खा र डुबान दुवै सहन सक्ने 'बहुगुणी १' र 'बहुगुणी २' उत्पादन भएको छ। सुक्खा ठाउँमा समेत उत्पादन हुने 'सुक्खा ३' उत्पादक कम्पनीसम्म पुगेको छ। यसले बीउ उत्पादक, किसान र उपभोक्ता सबैलाई फाइदा हुन्छ।’

‘भुस बढी हुनुको मुख्य कारण तापक्रम हो। धानको फूल फुल्ने बेला ३७ वा त्यो भन्दा थोरै कम तापक्रम चाहिन्छ। तापक्रम बढी भयो भने भुसको मात्र बढी हुन्छ। किसानले नबुझेर धेरै कुरा बिग्रिएको छ। समयमा रोपाइँ नगर्दा पनि यो समस्या आउँछ', धानमा देखिएका समस्याबारे प्रस्ट पार्दै उनले थप भने, '१२५ दिनदेखि १५५ दिनसम्म धान पाक्छ। रोपाइँ गर्दा धानको प्रजातिका आधारमा प्राविधिक परामर्शको आधारमा रोप्नुपर्ने हुन्छ। आफ्नो भूगोलअनुसारको धान रोप्दा किसानलाई फाइदा हुन्छ। अहिले पालिकाले कृषि प्राविधिक राखेको हुँदा धेरै सहज भएको छ। तर पालिकासम्म किसान जानुपर्छ।’ 

अन्य अन्नबालीको बारेमा पनि अनुसन्धान भइरहेको डाक्टर तिम्सिनाले जानकारी दिएका छन्। मूलत: भारतबाट आएको प्याकेज गरेको मकैलगायत अन्नको बीउ किसानले रोप्ने गरेको उनको भनाइ छ। आफूहरूले ९६ प्रजातिको धान, १०० बढी मकै र गहुँका जात उत्पादन गरे पनि किसानहरू भारतीय बीउको भरमा परेको उनले बताए। अनुसन्धान केन्द्रबाट उत्पादित बीउ सस्तो र खुला बोरामा हुने भएको हुँदा किसानले विश्वास नगरेको उनको बुझाइ छ। 

उता जुटबाली अनुसन्धान केन्द्र इटहरीमा भने ६ टन राम धानको मूल बीउ थन्किएको छ। उत्पादक कम्पनीले खरिद नगरेपछि मूल बीउ थन्किएको कार्यालय प्रमुख सन्तोष त्रिपाठीले बताए।

बीउ राख्ने समय अझै केही दिन बाँकी रहेकाले बिक्री हुन सक्ने उनी बताउँछन् । कम्पनीमा बिक्री नभएको अवस्थामा खाद्यान्न प्रयोजनको लागि बिक्री गरिने उनले जानकारी दिए। 


प्रकाशित : सोमबार, जेठ २८ २०८१०९:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend