शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

थाम्बुचेत-काठमाडौं प्रसारण लाइनको ९६ प्रतिशत काम पूरा

शनिबार, जेठ १२ २०८१
थाम्बुचेत-काठमाडौं प्रसारण लाइनको ९६ प्रतिशत काम पूरा

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रसुवागढी जलविद्युत् आयोजनाको एक सय ११ मेगावाट, तल्लो साञ्जेनको ४२ दशमलव पाँच र माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन लागिएको हो।

रसुवा- रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन थाम्बुचेत-काठमाडौं राष्ट्रिय प्रसारण लाइन एवं टावर निर्माण ९६ प्रतिशत पूरा भएको जनाइएको छ।

उत्तरी रसुवाको साङ्जेन र रसुवागढीलगायत आसपासका सबै आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ थाम्बुचेतमा विद्युत् हव र थाम्बुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशुली हुँदै काठमाडौंसम्मको राष्ट्रिय प्रसारण लाइन निर्माण अघि बढाइएको हो।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रसुवागढी जलविद्युत् आयोजनाको एक सय ११ मेगावाट, तल्लो साञ्जेनको ४२ दशमलव पाँच र माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन लागिएको हो।

भौगोलिक विकटता भएको हाकु क्षेत्रको तिरू इलाकाका लागि आवश्यक सामग्रीलगायतका सबै उपकारण ढुवानी भइसकेको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रसारण महाशाखा प्रमुख थर्कबहादुर थापाले बताए। उनले अबको एक महिनाभित्र  निर्माण सम्पन्न हुने बताए।

रसुवाका डाँडापाखामा टावरको काम गराइरहेका आयोजना प्रमुख शुभारम्भ विक्रम शाहका अनुसार ७६ वटा टावरमध्ये ६७ वटाको निर्माण पूरा भइसकेको छ। उनले ७२ किलोमिटर तार तान्नुपर्नेमा ४१ किलोमिटर पूरा भइसकेको जानकारी दिए।

निर्माण सामग्री हेलिकप्टर, खच्चर तथा मानिसद्वारा निर्माणस्थलमा पुर्‍याइएको छ। थाम्बुचेतस्थित विद्युत् जडान गर्ने मुख्य स्थानमा उपकरण जडान भई परीक्षण अगाडि बढिसकेको, आवास र पाले पहरा तथा प्राविधिक बस्ने, कार्यालय भवनजस्ता पूर्वाधारको संरचना निर्माणको प्रगति अन्तिम चरणमा पुगेको जनाइएको छ। 

हाल रसुवागढी जलविद्युत् आयोजनाले तयार गरेको एक सय ११ मेगावाट बिजुली खेर गएको छ। उक्त आयोजनले विद्युत् गृहका सबै उपकरण जडान गरी प्रसारण लाइनको प्रतीक्षारत रहेको प्राविधिकले जानकारी दिएका छन्।

साञ्जेन जलविद्युत् आयोजनाले भने उपकरण जडानको काम गरिरहेको र जडान कार्य सम्पन्न गर्न अब एक महिना लाग्ने जनाएको छ। आयोजनका वातावरणविज्ञ उमेश पाठकले टावर र प्रसारण लाइन निर्माण सम्पन्न नभएका कारण जडान कार्य विस्तारै अगाडि बढेको हो।
 
आयोजना सम्पन्न गर्न संशोधित लागत अनुमान रसुवागढीका लागि लागत १८ अर्ब ४७ करोड रूपैयाँ र साङ्जेनका दुई आयोजनाका लागि साढे १८ अर्ब रूपैयाँ खर्च हुने आकलन गरिएको छ। 

रसुवागढी जलविद्युत् आयोजनाका पूर्वप्रबन्ध निर्देशक माधवप्रसाद कोइरालाको डिजाइनबाट निर्माण भएको एक सय ११ मेगावाट रसुवागढी आयोजनाले मुहानदेखि विद्युत् गृहसम्म सबै संरचना भूमिगतरूपमा निर्माण गरेको छ भने साङ्जेनको तल्लो र माथिल्लो दुवै आयोजना अर्ध भूमिगत रहेको त्यहाँ कार्यरत प्राविधिकले जनाएका छन्।
 
यस्तै नयाँ निर्माण भइरहेको टावर तथा सव स्टेसनले रसुवागढी, साङ्जेनको अलावा, अपर त्रिशुली वान, लाङटाङ खोला, भोटेकोशी, त्रिशूली थ्रिवी, माथिल्लो मैलुङ, सुपर मैलुङ, फलाखु खोलामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणमा पठाइने योजनाले जनाएको छ। रासस


प्रकाशित : शनिबार, जेठ १२ २०८११२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend