शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

२७ महिनापछि राहुघाटमा सवस्टेशन निर्माणको काम अघि बढ्यो [भिडियो]

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ३ २०८१
२७ महिनापछि राहुघाटमा सवस्टेशन निर्माणको काम अघि बढ्यो [भिडियो]

१३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने डाडाखेत सवस्टेशनको सिभिल तर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ।

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-३ राहुघाटमा सवस्टेशन निर्माणको काम सुरु भएको छ। 

नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका-७ विम देखि रघुगंगा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता गरेको थियो। 

जनप्रतिनिधि र सरोकारवालाहरुको दबाब तथा आयोजनाको ताकेतापछि ठेकेदार कम्पनीले २७ महिनापछि राहुघाटमा सवस्टेशन निर्माणको काम थालेको डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिए। 

२२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा भौतिक पूर्वाधार निर्माणका लागि प्रारम्भिक चरणको काम थालिएको छ।  

अम्बाङमा सवस्टेशन बनाउन ५ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो। अबको १५ महिनाभित्र राहुघाट सवस्टेशन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको निर्माण कम्पनी एलएनटीका आयोजना प्रमुख सुवास चन्द्र शर्माले बताए। 

सवस्टेशनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत आयोजना अन्यौलमा परेको थियो। ढिलै भएपनि सवस्टेशन निर्माण सुरु भएकामा जलविद्युत आयोजनाका प्रवर्द्धक आशावादी बनेका छन्। ३० महिना ठेक्का अवधी भएको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ५० प्रतिशत रहेको छ।

म्याग्दी र राहुघाट नदीमा निर्माणाधिन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सवस्टेशन र प्रसारण लाइन बनाउन लागिएको हो। 

१३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने डाडाखेत सवस्टेशनको सिभिल तर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ। डाडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो । २५ किलोमिटर दुरिको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७९ वटा टावर निर्माणाधिन रहेका छन्। रासस

भिडियोमा हेर्नुहोस् -


प्रकाशित : बिहीबार , जेठ ३ २०८११८:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend