बिहीबार , साउन १० गते २०८१    
images
images
images

आईसीई भर्सेस ईभी : फाइदा, बेफाइदा र समाधान

images
शनिबार, वैशाख २९ २०८१
images
images
आईसीई भर्सेस ईभी : फाइदा, बेफाइदा र समाधान

बिजुलीको उत्पादन पर्याप्त भएको समयमा त ऊर्जाको वैकल्पिक भण्डारणको रुपमा ब्याट्रीलाई लिन सकिन्छ। बढी विद्युत हुँदा भण्डारण गर्ने र आवश्यक पर्दा त्यसमार्फत बाँडफाँट गर्नसक्ने प्रविधि विकसित देशमा त पहिलेदेखि नै छन्।

images

अटोमोबाइल क्षेत्र जसरी विकास हुँदै आइरहेको छ उसैगरी वातावरणीय चिन्ता र चासो बढ्नुका साथै त्यसलाई सम्बोधन गरेर यातायातका लागि दिगो र स्थायी समाधान सर्वोपरी बनेको छ।

images
images

यस्तोमा ईभी (इलेक्ट्रिक भेहिकल) र आईसीई (इन्टर्नल कम्बस्चन इन्जिन) दुवैका आफ्ना विशेषता र चुनौतीहरू छँदै छन्। उपलब्धीपूर्ण उपायहरू र भइरहेका प्रगतिले हाम्रो सडकमा हरित एवं स्वच्छ ऊर्जाको भविष्यलाई मार्ग प्रशस्त गर्न सक्दछ।

images

यी देखिएका परिवर्तनलाई थप दिगो र वातावरणमैत्री यातायातको परिदृश्यतर्फ अघि बढाउनका लागि यो व्यवसायमा रहेका उद्योगी व्यवसायीहरू र उपभोक्ताका साथै नीति निर्माताहरू सबैमा एकत्रित सहकार्य आवश्यक देखिन्छ।

images

ईभी र आईसीई सवारी साधनबीचको छनोट अन्तत: ऊर्जाको स्रोत, पूर्वाधार र व्यक्तिगत प्राथमिकताजस्ता कारकहरूमा निर्भर हुन्छ। यस्तोमा  ठोस प्रयासहरूमार्फत नवीन समाधानहरू निकाल्दै आगामी पुस्ताका लागि दिगो र स्वच्छ यातायातको भविष्यतर्फ डोर्‍याउन सकिने नै छ।

images

ईभी र आईसीई सवारीबीचको छनोटलाई लिएर सामाजिक सञ्जालसम्म चलिरहेका बहसहरू हेर्दा सवारीसाधन प्रयोगकर्तामासमेत अन्योलता बढिरहेको देखिन्छ। ईभी नयाँ प्रविधि भएकाले यसले नेपालको सवारी साधन उद्योगमा सम्बन्धित सरकारी निकाय, आयातकर्ता, प्राविधिक, सवारी साधन प्रयोगकर्ता र सञ्चारमाध्यमलाई समेत सचेत र सजग बनाउँदै नयाँपनले चकित पारिरहेको छ।

ईभी र आईसीईका बारेमा भइरहेका बहसलाई मध्यनजर गर्दै यहाँ केही विशेष फाइदा र बेफाइदाका बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ। यसले नेपालका लागि कुन फाइदाजनक छ भन्ने एकखालको निचोड दिनसक्ला भन्ने विश्वाससमेत छ। यससँग सम्बन्धित रहेकाहरूमा देखिएका चिन्ता र चासोलाई सम्बोधन गर्दै सम्भावित समाधानहरू पनि हेरौँ।

पर्यावरणीय दृष्टिकोण

विशेषत: पर्यावरणीय दृष्टिकोणमा हेर्दा विकशित देशहरूले विद्युतीय सवारी चार्ज गर्नका लागि उत्पादन भइरहेको बिजुलीमा समेत कोइला र पेट्रोलियमको प्रयोगका सम्बन्धमा आलोचना गरेकोसमेत सुनिन्छ, यसले समग्र पर्यावरणीय प्रभावका बारेमा पनि सवाल उठाइरहेको छ। यस्तोमा जलविद्युयत नै ऊर्जामा प्रमुख स्रोत भएको  नेपालजस्ता देशमा ईभी पूर्णरुपमा हरितऊर्जाको बाटोमा नै देखिन्छ। जसले कार्बन उत्सर्जनमा ठूलो मात्रामा कमी आउनेछ।

हाइड्रोमा बाँधलगायत निर्माणका लागि आवश्यक निर्माण सामग्रीको उत्पादन र आवतजावतमा केही कार्बन फुटप्रिन्ट हुन्छ तर यो नविकरणीय ऊर्जाको आधार निर्माणको दिर्घकालीन लाभको तुलनामा नगन्य छ, जसबाट भावि पुस्ताले लाभ पाइरहने छ।

जलविद्युतजस्तो स्वच्छ ऊर्जाका स्रोत भएको नेपालमा आईसीई सवारी साधनबाट ईभीमा जाँदा कार्बन उत्सर्जन घटाउन र वातावरणीय दिगोपनलाई प्रवर्द्धन गर्न सकिन्छ। ईभी सञ्चालनमा हुँदा कुनै पनि हरितगृह ग्यास उत्सर्जन गर्दैनन्, त्यसैले पनि तिनीहरूलाई आईसीई सवारी साधनको सही सफा विकल्प हो।

अर्कोतर्फ ईभीतर्फ बढ्दा ध्वनी प्रदूषणसमेत नगन्य बनाउन सकिन्छ। ध्वनी प्रदूषणका कारण हुने तनावसम्बन्धी रोगका साथै श्रवण क्षमतामा हुने कमीलगायत स्वास्थ्य समस्याहरूसमेत यसले कम गर्ने छ। यसले समग्र सार्वजनिक स्वास्थ्य सुधारमा सहयोग पुर्‍याउँछ।

यसका साथै नेपालमा मौलिक हकअन्तर्गत नै संविधानले दिएको स्वच्छ हावाको अधिकारमा समेत ईभीले मद्धत पुर्‍याउँछ। जसले विश्वव्यायीरुपमा वातावरणप्रति देशको छबिलाई समेत चिनाउन मद्धत गर्छ।

इन्धनको विषयबाट हेर्दा

नेपालको सन्दर्भमा डिजेलबाट चल्ने व्यवसायिक प्रयोजनका सवारी साधनको हकमा ९० प्रतिशत हानिकारक प्रदूषक उत्पादन गरिरहेका हुन्छन्। नेपालजस्तो धेरैजसो साना गल्लीजस्ता सडकहरू भएको ठाउँलाई विचार गर्ने हो भने त राम्ररी हावासमेत सञ्चार हुन नसक्ने ठाउँमा त्यस्ता सवारीसाधनलाई जतिसक्दो छिटो प्रतिबन्ध नै गर्नुपर्ने देखिन्छ।

अरू पनि विभिन्न कारणहरू छन् जसले डिजेललाई इन्धनको सबैभन्दा कमसल स्रोतका रुपमा लिइन्छ। त्यसमा पनि नेपालमा त कम गुणस्तरको डिजेल आइरहेका छन्। जसमा सल्फरको मात्रा उच्च रहेको छ। त्यसले पनि वातावरणमा पार्ने कु-प्रभाव बढिरहेको छ। दोस्रो त डिजेलमा मिसावट हुने सम्‍भावना बढी हुन्छ र मिसावट छ भनेर तत्काल पहिचान गर्न पनि सहज हुँदैन। डिजेल गाडीको समयमा मर्मत र सर्भिसिङ नगर्नु पनि यसबाट बाक्लो धुँवा निस्कने कारण हो।

डिजेलबाट सञ्चालन हुने सबै सवारी साधनको विकल्प अहिले नै ईभीमा हेर्न भने सकिँदैन। लामो दुरीमा चल्ने ट्रकहरूमा त्यो अहिले कठिन नै छ। लिथियम आयन ब्याट्री प्याकको तौल र ट्रकहरूले गर्ने ऊर्जाको द्रुत खपतजस्ता कारणले पनि तिनीहरूमा ईभी ब्याट्री चार्ज गर्न लाग्ने लामो समय सहज विषय भइसकेको छैन। यसमा हाइड्रोजन फ्युल सेलद्वारा सञ्चालन हुने इन्जिन परीक्षण र विकासको चरणमा नै रहेको छ। त्यो सफल देखिएमा यसमा दीर्घकालीन समाधान निस्कने छ।

नेपालले कम्तिमा स्वदेशमा नै उत्पादन हुने इन्धन अर्थात बायो डिजेल प्रयोग गर्न सक्छ जुन अहिले महँगो आयातित डिजेलको तुलनामा सस्तो र तुलनात्मक स्‍वच्छ पनि छ।

पेट्रोल इन्जिनको विषय पनि डिजेलको भन्दा खास भिन्न छैन। तर पनि डिजेलको तुलनामा भने पेट्रोल कम प्रदूषणयुक्त रहेको छ। यसको पनि प्रदूषण नियन्त्रणमा यहाँ केही काम भएका छैनन्।

भारतले नै पनि घरेलु उत्पादनको इथानोल प्रयोग गरेर स्वच्छतातर्फ पाइला चालिसक्दा हाम्रोमा भने केही भएको देखिँदैन। भारतले पेट्रोल इन्जिनमा २० प्रतिशत इथानोल मिसाउन थालेको छ जुन उखुजस्ता प्राकृतिक वस्तुबाट उत्पादन गरिरहेको छ। विगत २० वर्षमा यसमा धेरै सफल अध्ययन अनुसन्धानहरू भइसकेका छन्। नेपालमा रहेका चिनी उद्योगहरूले पनि इथानोल उत्पादन गरेर नेपाल आयल निगममा पठाउन सक्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ। तर त्यसमा आयल निगमले पनि ध्यान दिएको देखिँदैन।

यूरो सिक्स मापदण्ड लागु गर्ने तयारीमा रहेको नेपाल सरकारले आउने बजेटबाटै पनि यसका सम्बन्धमा कामहरू सुरु गर्न सक्नेछ। नेपालमा आईसीई सवारी साधन आयातकर्ताहरूका साथै जिम्मेवार सरकारी अधिकारीहरूमा भारतबाट नेपालमा आइरहेको पेट्रोलियमको गुणस्तर भारतकै उपभोक्तालाई दिएकोजस्तै रहेको भ्रम रहेको छ।

भारतीय बजारमा उपलब्ध भइरहेको पेट्रोल र नेपाली बजारमा आउने पेट्रोलमा देखिने भिन्नतामा मुख्यत: दुईवटा विषय देखिन्छन्। पहिलो त, त्यसमा भारतमा घरेलु उत्पादन हुने इथानोल २० प्रतिशत रहेको छ। जुन नेपाल आउने पेट्रोलमा छैन।

दोस्रो त, विकसित देशहरूमा बनाइएका एडभान्स यूरो सिक्स इन्जिनले अक्टेन ९५ ग्रेडको पेट्रोल माग गर्दछ। जुन नेपालमा पेट्रोल पम्पहरूमा पाइँदैन। आयल निगमले त्यस्तो आयातमा ध्यान दिएको छैन।

बायो डिजेल, इथानोल र उच्च ग्रेडको इन्धनको प्रयोगबाट उत्सर्जन कम गर्नतिर ध्यान नदिइ सरकारले एकोहोरो यूरो सिक्समा जान उत्सुकता देखाइरहेको छ।

सरकारी दृष्टिकोण

नेपाल सरकारले स्वच्छ परिवहनको उपयोगका लागि निरन्तर वकालत गर्दै आउनुका साथै यसलाई आफ्ना नीतिहरूमा नै समावेशसमेत गरेको छ। आईसीईबाट ईभीतर्फ बढ्ने यो यात्रा रोचक र चकित पार्ने शैलीमा नै देखिन्छ।

विद्युतीय सवारी साधनले आईसीईलाई प्रतिस्थापन गर्दै जाँदा भन्सार बिन्दुमा भइरहेको करको कम असुलीले सरकारमा केही अन्योलता देखिन्छ। आईएमएफले श्रीलंका र पाकिस्तानका लागि बनाएको नीति नेपालमा कपीपेस्ट भइरहेको छ जसले गर्दा व्यापारमा विभिन्न असरहरू देखिएका छन्। त्यसले पनि अवस्था दयनीय नै छ।

त्यसैले सरकार अलोकप्रिय नै हुनुपरे पनि राजस्व संकलनका लागि यात्रुवाहक विद्युतीय सवारी साधनमा कर बढाउनेगरी तयारीमा लागिरहेको देखिन्छ।

पूर्वाधार विकासका लागि राजस्व संकलनको वैकल्पिक स्रोतको खोजिसहित स्वच्छ, हरित दिगो परिवहनतर्फ बढ्न सरकारी तयारी देखिँदैन। सरकार अस्थिर भइरहँदा पनि कर्मचारीतन्त्रले यसमा खास काम गर्न सकेको देखिँदैन। सरकारी कर्मचारीहरूका लागि यस सम्बन्धमा आवश्यक पर्ने ज्ञानको वृद्धिमा प्रयासहरू भएको देखिँदैन।

नीति निर्माताहरुका लागि अर्को चिन्ताको विषय भनेको गएको दुई वर्षमा पेट्रोलियम पदार्थको आयातमा आएको कमी पनि हो। जसले उपभोक्ताहरू पेट्रोल र डिजेलको विकल्पमा जान थालेको देखिन्छ भने सरकारका लागि राजस्व संकलन थप चुनौतीपूर्ण बनेको छ। हुन त अहिले नेपालमा कुल सवारीसाधनमा ईभीको हिस्सा मुस्‍किलले शून्य दशमलव ३ प्रतिशत रहेको छ।

ऊर्जा सुरक्षण र पूर्वाधार :

विद्युत प्राधिकरणका लागि लोड म्यानेजमेन्ट

विद्युतीय सवारी अपनाउनेहरू बढिरहँदा नेपाल विद्युत प्राधिकरणको वर्तनमा पूर्वाधार भने पर्याप्त देखिँदैन। जस्तो कि निजी गाडीहरूमा जडान गरिएका ईभी ब्याट्रीहरूलाई ऊर्जा खपतको स्रोतका रुपमा लिएर त्यहीअनुरुप पूर्वाधार विकास गर्दा त्यसले अन्य खपतका स्रोतहरूलाई समेत स्थिर भोल्टेज र पिकलोड व्यवस्थापनका विषयमा सहयोग हुन सक्छ।

बिजुलीको उत्पादन पर्याप्त भएको समयमा त ऊर्जाको वैकल्पिक भण्डारणको रुपमा ब्याट्रीलाई लिन सकिन्छ। बढी विद्युत हुँदा भण्डारण गर्ने र आवश्यक पर्दा त्यसमार्फत बाँडफाँट गर्नसक्ने प्रविधि विकसित देशमा त पहिलेदेखि नै छन्। प्राधिकरणले त्यस्तै इकोसिस्टम विकासमा काम गर्न आवश्यक छ।

ऊर्जामा आत्मनिर्भरता

विद्युतीय सवारीको प्रयोग बढिरहँदा आयातित इन्धनमा भइरहको निर्भरता कम भएको छ। त्यसले इन्धन आयातमा कमी गर्न सहयोग पुगिरहेको छ। एउटामात्र निर्यातकर्तासँग निर्भर हुनुपर्ने पेट्रोलियमबाट केहीमात्रामा भए पनि छुटकारा पाउनु उपलब्धी नै हो।

विगतमा भएका नाकाबन्दीलगायत विषय हेर्दा पनि नेपालका लागि आफ्नो स्थिरता बनाइराख्न विद्युतीकरणतर्फ बढ्नु महत्वपूर्ण छ।

विद्युतीय सवारीका लागि अहिले नेपालमा पर्याप्त चार्जिङ पूर्वाधारहरू नहुनु एउटा समस्याका रुपमा रहेको छ। यद्यपी निजी क्षेत्र र सरकारी पहलमा समेत भइरहेको चार्जिङ स्टेसनहरूमा तीब्र विकासका साथै ईभीमा वृद्धि भइरहेको रेन्जले यसलाई बढावा भने दिइरहेको छ।

एउटा दु:खको विषय भने नेपालमा चार्जिङ पूर्वाधारमा सर्वस्वीकार्य हुनसक्नेगरी विकास गर्नमा भने सरकारले कुनै पनि नीतिगत कामहरू गरेको देखिँदैन। ‘सिंगल चार्जर सिस्टम’ विकास गर्न सक्ने हो भने त्यसले साना ईभीदेखि ठूला कमर्सियल ईभीसम्मलाई सहज हुने थियो। निजी सवारीहरू ‘सीसीएसटू’ चार्जरसहित र व्यवसायिक सवारीहरू ‘जीबीटी’ चार्जिङ टाइपमा आयात भइरहेका छन्।

जनशक्ति विकास र चार्जिङ पूर्वाधार

दक्ष जनशक्तिको अभावका कारण पनि विद्युतीय सवारीमा सर्भिसका कतिपय विषय सहज हुन सकेको छैन। यो ईभीतर्फ बढ्न एउटा चुनौतीका रुपमा रहेको छ। तथापी विभिन्न प्रशिक्षण कार्यक्रमहरूमा भइरहेको लगानीले भविष्यको आवश्यकताहरूमा ध्यान दिएर अघि बढ्ने वातावरण बनिरहेको छ। यसले ईभी उद्योगमा रोजगारीको अवसरसमेत सिर्जना भइरहेको छ।

भविष्य विद्युती सवारीकै हो भन्ने विषयलाई अझ स्पष्ट रुपमा अघि बढाउनका लागि ईभी आयातकर्ताहरू र सरकारी निकायहरूले जनशक्ति विकास र सीपको स्तरोन्नतिमा समान भूमिका खेल्नुपर्छ।

अब सर्भिस प्राविधिक, पार्ट्स सप्लायर्स र वित्तीय क्षेत्रमा आवश्यक विषयका साथै टेक्नोलोजिमा भइरहेको तीब्र विकासलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने छ। यस्तोमा एउटा प्रश्न छ, अब आईसीई इन्जिनमा काम गरिररहेका र त्यसमा मात्र दक्षता भएका प्राविधिकहरुका लागि भविष्य के त?

नयाँ प्रविधिमा भइरहेको विकासले परम्परागत सेवा क्षेत्रले विभिन्न चुनौती सामना गरिरहेको छ। तर यसो भन्दै गर्दा यो ईभीतर्फको यात्राले प्राविधिक काम गर्नेहरूलाई आफ्नो क्षमता वृद्धि गरी दक्ष बनेर नयाँ विषयमा अघि बढ्ने अवसरसमेत छ। नयाँ प्रविधिमा अघि बढ्न सक्दा सेवा प्रदायकहरूले यसमा बढ्दो मागलाई पूरा गर्ने सुनिश्चितता गर्दै उदीयमान क्षेत्रको इकोसिस्टममा आफूलाई विशेषज्ञका रुपमा स्‍थापित गर्न सक्छन्।

पार्टपुर्जा आयातकर्ता र सप्लायर्स

पार्टपुर्जामा काम गरिरहेका आयातकर्ता र सप्लायर्सले पनि अहिलेको नवीन मागलाई ध्यानमा राख्दै सक्षमरुपमा त्यसतर्फ अघि बढ्न जरुरी रहेको छ। ईभीमा अन्य सवारी साधनको तुलनामा पार्टपुर्जा कम आवश्यक पर्ने भए पनि त्यसमा आवश्यकतालाई हेरेर अघि बढ्न सक्नुपर्छ।  

जसले पार्टपुर्जा आयातमा काम गरिरहेका छन् उनीहरूले इन्जिन र गेयरबक्स जस्ता पार्टपुर्जा आयात गर्न नपाउँदा आम्दानीमा कमी भोग्न सक्छन्। ईभीमा आवश्यक पार्टपुर्जाले यो क्षेत्रमा काम गरिरहेकाहरूका लागि बजारमा नयाँ अवसरहरूसमेत सिर्जना भएका छन्। उनीहरूले आफ्नो क्षेत्र वृहत बनाएर नयाँ अवसर बनिरहेको बजारमा अघि बढ्न सक्नुपर्छ।

फ्लिट अपरेटर्सका लागि ईभी

कम मर्मतसम्भार लागत र सञ्चालनको समयसमेत बढी रहने कारण पनि व्यवसायिक ‘फ्लिट अपरेटर्स’ले प्रभावकारी रुपमा काम गर्न सक्छन्। बैंक ऋण भुक्तानी समयमा नै गर्ने सुनिश्चित गर्न र लगानीकर्तासँग बलियो सम्बन्ध बनाउन सहयोगसमेत पुग्छ।

यसले गर्दा विद्युतीय गाडीले बलियो बनाउने आर्थिक स्थितिले पनि यसमा लगानी आकर्षित गर्छ। लगानीले दिने प्रतिफलको दरलाई समेत ईभीले बढाइरहेको हुन्छ।

यसबाहेक पनि सम्पूर्ण रुपमा भएको प्राविधिक विकासका कारण गाडीको सञ्चालनमा रहने कर्मचारीबाट ठगिने, अनावश्यक मर्मतसम्भारमा खर्च हुने र पेट्रोलियम हाल्दा गरिने गडबडीबाट पनि जोगाउन ईभीले सहयोग गर्छ। आफ्नो सवारीलाई ‘रियल टाइम मनिटरिङ’समेत गर्न सकिन्छ।

ईभीमा विकास भएको ‘इकोसिस्टम’ले गर्दा उद्यमीहरूलाई दिगो वृद्धितर्फ बढ्न सहयोग पुग्नुका साथै बढ्दो नाफा पनि सुनिश्चित गर्न सकिन्छ।

निजी कार प्रयोगकर्ताका लागि ईभी

आईसीई इन्जिन भएका सवारीबाट अघि बढेकाहरूका लागि विद्युतीय सवारीमा भएको परिवर्तन एउटा रोमाञ्चकता प्रदान गर्ने विषय पनि हो। यसमा चुनौतीसहितका फाइदाहरू छन्। ड्राइभिङ अनुभवमा नै पनि हुने परिवर्तनले नयाँपन त दिन्छ नै।

ईभीतर्फ बढेकाहरूले विशेषगरी नयाँ विषय बानी पार्नका लागि हुने चिन्ता, सुरक्षासँग सम्बन्धित विषयहरू, लागत र सञ्चालन खर्चका विषयहरूमा विशेष ध्यान र चासो राखिरहेका हुन्छन्।

त्यसमा पनि म्यानुअल गियर बक्समा हुने परिवर्तनलाई नयाँ ईभी प्रयोगकर्ताले विशेष चासो दिने गरेका छन्। गियरमा भइरहने काम फेरिँदा उनीहरू सुरूमा थोरै अप्ठ्यारो महसुस पनि गर्छन्। तर ईभीलमा क्लचलगायतका विषय नहुँदा तनावमुक्त ड्राइभिङ अनुभवले अन्य विषयहरु बानी पर्दै जान्छन्। सहज पिकअप र निर्वाध सञ्चालन हुने हुँदा यसमा बानी पर्नासाथ प्रयोगकर्ता खुसी हुन्छन्।

सञ्चालनमा हुने विभिन्न सहजताले घण्टौँ ड्राइभ गर्दा पनि थकान महसुस कम हुने गरेको अनुभवसमेत प्रयोगकर्ताहरुको रहेको छ। यसले चालकलाई समग्रमा आराम महसुस गराएर अन्य काममा समेत उत्पादकत्व बढाउँछ।

ईभीमा सुरक्षाको विषयसहित अन्य आरामदायी विशेषता पनि राम्रा नै छन्। त्यसमा सुरक्षासम्बन्धी नवीन प्रयोगहरु गरेर सुरक्षित रहेको यकिन भएपछि मात्र उत्पादनका कामहरु हुन्छन्। एन्टीलक ब्रेकिङ सिस्टम, एन्टीलक ब्रेकिङ डिस्ट्रिब्युसनजस्ता विषयले पनि सडकमा पूर्ण सुरक्षाको प्रत्याभूति गरिएको हुन्छ।

एयर कन्डिसनिङ, नवीन प्रविधियुक्त क्यामरालगायतका अन्य विशेषताहरू त हरेक ईभीमा सामान्य विषय हुन थालिसकेका छन्।

केही गलत बुझाइ

ईभीलाई लिएर मानिसहरूमा केही गलत बुझाइले डेरा जमाएको पाइन्छ। जसलाई बुझेपछि उनीहरू त्यस्तो बुझाइबाट बाहिर निस्कन्छन्। त्यसैमध्ये एक हो ब्याट्री पूरै फेर्नुपर्दा कति खर्च होला भन्ने चिन्ता।

सामान्यतया ईभी प्रयोगकर्ताहरूले ब्याट्री फेर्नुपर्दा ठूलो खर्च हुन्छ भन्ने चिन्ता गरिरहेको देखिन्छ। हुन त पेट्रोलियमको खपत कम गर्दा भइरहेको बचतसँग तुलना गरेर त्यसमा केही निश्चिन्त हुनेहरू पनि छन्।

ब्याट्रीबारे किन पनि चिन्ता लिनु आवश्यक छैन भने विश्वभर भइरहेका अनुसन्धान र विकासले ब्याट्रीको मूल्य कम हुँदै गइरहेको छ। साथै प्याट्री प्याक नै पूरै परिवर्तन गर्नुपर्ने नभइ बिग्रिएको सेलमात्र फेर्दा हुने गरी विकास भइसकेको छ।

यसमा अर्को ध्यान दिनुपर्ने विषय के हो भने आईसीई इन्जिनजस्तो ईभीको ब्याट्री पूर्ण कबाडीमा कहिल्यै पनि पुग्दैन। बिग्रिएकै ब्याट्रीमा समेत मूल्य रहने विभिन्न वस्तुहरू रहेकै हुन्छन्। अर्को त ब्याट्रीको शक्ति कमजोर हुने मात्र हो त्यो शून्यमा पुग्ने हुँदैन। अहिले १०० प्रतिशत क्षमता रहेको ब्याट्री वारेन्टीको समय सकिँदा क्षमता कम भएर ६०/७० प्रतिशतमा पुग्न सक्छन्।

दीर्घकालीन बचत र दिगोपनको स्थिरतालाई हेर्दा ईभीमा वर्तमानमा गरिएको लगानी उचित लाग्नेछ। सुरूको लगानी केही बढीजस्तो लागे पनि भविष्यसम्म हुने फाइदा ईभीमा हेर्नुपर्ने हुन्छ। ब्याट्रीको मूल्यमा भइरहेको कमी र सर्भिस र मर्मतमा लाग्ने कम खर्च विचार गर्नुपर्ने हुन्छ जसले भविष्यसम्म हुने बचत बढाउँछ।

त्यसबाहेक स्वच्छ ऊर्जामा योगदान गरेर वातावरणमा सकारात्मक प्रभावका लागि सहयोग गर्न सक्ने विषय त छँदै छ।

नेपालको भौगोलिक परिप्रेक्ष्यमा ईभी

नेपालको जस्तो उबडखाबड सडक र उकालो ओरालोमा ईभी प्रभावकारी हुँदैन भन्ने गलत मानसिकता विकास भएकोसमेत देखिन्छ। तर नेपालको भौगोलिक कठिनाइ अन्य सवारीका लागि जस्तो छ ईभीका लागि पनि उस्तै नै हो। विद्युतीय भएकै कारण त्यो चुनौती बढी हुने विषयमा सत्यता छैन।

अझ उकालो ओरालोकै कुरा गर्दा ओरालोमा ईभीले दिने फाइदा अतुलनीय छ। ओरालोमा रिजेनेरेटिभ ब्रेकिङका कारण हुने फाइदा गजव रहेको छ। उकालोमा नै पनि ईभीमा हुने बिलियो पिकअप फाइदाजनक छ। इन्जिनमा उच्च ‘आरपीएम’ चाहिने आईसीई जस्तझ नभइ सुरूमा उच्च टर्क हुने विशेषताले ईभीलाई थप शक्तिशाली बनाएको छ। यसले आवश्यकत पर्ने ऊर्जा शक्तिमात्र प्रयोग गर्छ।  

भविष्यसम्म हुने वित्तीय फाइदा

सुरुवाती मूल्यमा खर्च गर्नुपर्ने विषयलाई भविष्यसँग जोडेर तुलनात्मक रुपमा हेर्ने हो भने ईभीमा वित्तीय रुपमा हुने फाइदा राम्रो देखिन्छ। प्रारम्भिक लागतसम्बन्धी विचारहरूको बाबजुद पनि नेपालमा विद्युतीय सवारीको स्वीकार्यतामा बढिरहेको ग्राफ उदाहरणीय छ।

केही मुख्य ठूला उत्पादकहरूले आउने दशकभित्र विद्युतीय सवारीमा पूर्णरुपमा लागिसक्ने प्रतिबद्धता व्यक्त गरिसकेकाले पनि आईसीई इन्जिनमा भविष्य देखिँदैन। भविष्य हेर्दा देखिने सीमितताका कारणले पनि अहिले आईसीई इन्जिनले दिगो समयसम्मका लागि प्रतिनिधित्व गर्न सक्दैन।

व्यावसायिक प्रयोगका लागि सोच्दा ईभीमा सुरुवाती मूल्य बढी लागे पनि इन्धनमा हुने खर्चले सानो समयमा नै आईसीई इन्जिनसँगको प्रतिस्पर्धात्मक फाइदामा ईभी नै अघि देखिन्छ।

दिगो परिवहनतर्फ

भविष्यसम्मलाई विचार गरेर दिगोपनमा बढ्नका लागि पूर्वाधारमा आवश्यक विकास गर्नुपर्ने हुन्छ। विशेषत: चार्जिङ पूर्वाधारमा हुनुपर्ने काम नै मुख्य चासोमा पर्नुपर्ने देखिन्छ।

नेपालको भौगोलिक अवस्थाहरूलाई विचार गरेर यसमा ईभी इकोसिस्टमको विकास गर्नुपर्ने हुन्छ। चार्जिङ स्टेसनहरुमा योजनाबद्ध लगानी र विकास आवश्यक देखिन्छ। यिनै कुराले ईभीको स्वीकार्यतामा बढ्न अझ मद्धत गर्ने छ।

मुख्य क्षेत्रहरूमा चार्जिङ स्टेसनमा रणनीतिक योजनाबद्ध लगानी, ईभी अपनाउन प्रोत्साहन र विद्युतीकरणतर्फको विकास यसमा आवश्यक देखिन्छ।

निष्कर्षसहित केही सुझाव

नेपालमा विद्युतीय सवारीतर्फको पाइला एउटा प्राविधिक परिवर्तनतर्फको बाटोमात्र होइन, गतिशिल विकासतर्फको एउटा आदर्श परिवर्तनसमेत हो। यो उदाहरणीय पाइलाले भविष्यतर्फ डोर्‍याएर स्वच्छ ऊर्जामा अगाडी बढ्न सहयोग गरिरहेको छ।

काठमाडौं उपत्यकाका पहाडदेखि तराईसम्म विद्युतीय सवारीले दिने फाइदाहरू एकदम स्पष्ट छन्। विद्युतीय सवारीतर्फ बढेर नेपालले आर्थिक वृद्धिको बाटोमा अग्रसर हुन सक्दछ। यसमा वातावरणीय व्यवस्थापनमार्फत अवसरका ढोकाहरु खोल्न सक्दछ।

विश्व नै विद्युतीय सवारीको भविष्यतर्फ अघि बढिरहँदा नेपाल पनि स्वच्छतातर्फ अग्रसर हुन तयार छ। नेपालमा विद्युतीय सवारी साधनबारे भइरहेको बहसले भौगोलिक, आर्थिक र वातावरणीय चिन्तनलाई सम्बोधन गर्दै बहुपक्षीय संवादलाई समेटिरहेको छ।

भिन्नखाले भूगोलको चुनौती र अवसरबीच दिगो गतिशिलतातर्फ अघि बढ्दै भविष्य हेर्न नेपालको आफ्नैखाले अन्तरदृष्टि आवश्यक देखिन्छ। यसमा विद्युतीय सवारी चालक, यसमा रहेका लगानीकर्ताहरू र सरकारका कामलाई हेर्दा ईभी स्वीकार्यताले दिने फाइदाहरू अथाह देखिन्छन्।

सुरुवाती लागत, पूर्वाधारमा आवश्यक विकास र दक्ष जनशक्तिजस्ता विषयले चुनौतीहरू देखाइरहँदा विद्युतीय सवारीका विभिन्न फाइदाहरूसहित आर्थिक व्यवहारिकताले यो गतिशिलतालाई अँगाल्न सहयोग गरिरहेको छ। नेपालको भौगोलिक अवस्थितिलाई नै हेर्दा पनि विद्युतीय सवारीका फाइदा नै बढी देखिन्छन्।

विद्युतीय सवारीतर्फको गतिशिलतामा विश्वव्यापी परिवर्तन भइरहँदा नेपालले त्यसको अपरिहार्यता स्वीकार गरेर दीर्घकालीन हुनेगरी अघि बढ्न आवश्यक छ।

यसमा नेपालले पूर्वाधार विकास र चार्जिङ नेटवर्क विकासका साथै ऊर्जा प्रवर्द्धनका सवालमा सार्वजनिक निजी साझेदारीमा काम गर्नेगरी अघि बढ्न सक्छ।

सरकारले नीतिगत रुपमा सहयोग हुनेगरी कामहरू गर्नुपर्ने देखिन्छ। कर छुटका विषयहरू, ईभी खरिदका लागि सब्सिडीजस्ता विषयमा सरकार लचक बन्नुपर्ने देखिन्छ। सरकारले दिने नीतिले नै अन्तर्राष्ट्रिय लगानीकर्ता र उत्पादकहरूका लागिसमेत नेपालले विश्वसनीयता बढाएर लगानी भित्र्याउन सक्छ।

दक्ष जनशक्ति उत्पादनका लागि तालिम र क्षमता विकासका अन्य कामहरूमा सरकारले निजी क्षेत्रसँग मिलेर विभिन्न कार्यक्रमहरूसमेत सञ्चालन गर्नुपर्ने देखिन्छ। जसले ईभीमा एउटा इकोसिस्टम विकास गर्न सहयोग पुग्छ। साथै जनचेतना अभिवृद्धिका लागि काम गरेर विद्युतीय सवारीका बारेमा रहेका भ्रमहरु चिर्न मद्धत गर्नु आवश्यक छ।

यी कामहरू गर्न सकेमा नेपाल दक्षिण एसियाली क्षेत्रमा नै विद्युतीय सवारीको स्वीकार्यता र विकासलाई लिएर अग्रणि बन्न सक्छ। स्वच्छ ऊर्जाको बाटोमा बढेर देशले समृद्ध भविष्य सुनिश्चित गर्न सक्छ। 

(बिजुक्छे २४ वर्षदेखि अटोमोबाइल क्षेत्रमा छन् र विभिन्न ब्रान्ड आयात र सवारी बिक्री गरेको अनुभव उनीसँग छ। यो सामग्री बिजनेस न्युजको 'बिजुली गाडी' विशेष अनलाइन म्यागजिनबाट) )


प्रकाशित : शनिबार, वैशाख २९ २०८११२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend