बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निर्माण सुरू भएको ५३ महिनापछि नागढुंगा सुरुङमार्गको 'ब्रेक थ्रु'

प्रधानमन्त्रीसहितको उपस्थितिमा अन्तिम दुई मिटर खनेपछि छिचोलियो वारपार

सोमबार, वैशाख ३ २०८१
निर्माण सुरू भएको ५३ महिनापछि नागढुंगा सुरुङमार्गको 'ब्रेक थ्रु'

सुरूको सम्झौताअनुसार काम थालिएको ४२ महिनाभित्र अर्थात् गत वर्ष बैशाखमै यो आयोजनाको निर्माण पूरा भइसक्नुपर्ने थियो। आयोजना निर्माण सुरु भएको ५३ महिना बितिसकेको छ।

काठमाडौं- नागढुंगा सुरूङ मार्गको मुख्य सुरूङ वारपार (ब्रेक थ्रु) भएको छ। निर्माण सुरु भएकाे ५३ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको उपस्थितिमा ‘ब्रेकथ्रु’ गरिएको हो। याेसँगै नेपालकाे पहिलाे यातायात सुरुङ मार्गबाट एक वर्षपछि काठमाडौं भित्रन र बाहिरिन सहज हुनेछ। 

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरूङमार्ग आयोजनाको मुख्य सुरूङको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ। सोमबार दुई मिटर खनेपछि वारपार छिचोलिएको हो। 

आयोजनाको उद्धार (रेस्क्यु) सुरूङ गत साउनमै छिचोलिसकिएको थियो। सुरुङ ब्रेकथ्रु भएपनि सञ्चालनमा आउन भने झन्डै एकवर्ष कुर्नुपर्ने हुन्छ। आयोजना निर्माण पूरै सकिएपछि मात्रै सवारी साधन चल्नेछन्। आगामी एक वर्षभित्र सबै काम सकेर सवारी साधनका लागि खुला गर्ने आयोजनाले बताएको छ। 

सुरूको सम्झौताअनुसार काम थालिएको ४२ महिनाभित्र अर्थात् गत वर्ष बैशाखमै यो आयोजनाको निर्माण पूरा भइसक्नुपर्ने थियो। आयोजना निर्माण सुरु भएको ५३ महिना बितिसकेको छ।

कोरोना महामारी, स्थानीय विवाद तथा सुरूङ खन्ने क्रममा देखिएको प्राविधिक समस्यालगायत कारण आयोजना एक वर्ष पछि धकेलिएको थियो। पछिल्लो पटक थपेको म्याद पनि अबको १० दिनभित्र सकिँदैछ। आयोजनाले अब एक वर्ष म्याद थप गर्न माग गरेको छ।

surung pm.jpg

आयोजनामा अन्डरपास, बक्स कल्भर्ट, एउटा ओभरपास निर्माण सकिएको छ। एउटा फ्लाइओभर निर्माणाधीन अवस्थामा छ। सुरूङको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ।

निर्माणको जिम्मा हाजमा एण्डो कर्पोरेसनले पाएको हो। लामो रस्साकस्सीपछि काठमाडौं जोड्न पहिलो सुरुङ मार्ग निर्माण भएपछि नागढुंगा उकालोमा हुने घण्टौँको ट्राफिक जामको समस्या हल हुने बताइएको छ। 

सरकारले १६ अर्ब रुपैयाँ जाइकासँग ऋण लिएर बनाउन थालेको सुरुङ निर्माणमा कुल २२ अर्ब रुपैयाँ खर्च हुने छ। उक्त आयोजनामा उक्त ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ।

यसअघि १४ मिटर सुरुङ खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत माग राखेर एक महिना काम ठप्प पारेका थिए। जसका कारण गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने समय तालिका प्रभावित भएको थियो।

nagdhunga surung.jpg

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्थानीयसँग नौ बुँदे सहमति भएपछि यही चैत ६ देखि पुनः निर्माण सुरु भएको थियो। अब भने सुरुङको काम सकिएर आज बैशाख ३ सोमबार ब्रेकथ्रु भएको हो।

सुरुङपछि मुख्य सडक साढे ७ किमि छोटिनेछ। मुख्य सुरुङको दुरी २ हजार ६ सय ८८ मिटर छ। आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भइसकेको छ। थानकोटमा फ्लाइओभर निर्माणाधीन छ। 

सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल चल्न पाउने छैनन्। 

सम्झौताअनुसार आयोजनाको समयावधि २०८० बैशाखमा सकिएको हो। उक्त समयभित्र काम नसकिएपछि २०८१ बैशाख १३ सम्मलाई म्याद थपिएको छ। २०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो।


प्रकाशित : सोमबार, वैशाख ३ २०८११४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend