बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बागलुङमा बुट्टेनली जोगाउने वसन्त

बिहीबार , चैत १ २०८०
बागलुङमा बुट्टेनली जोगाउने वसन्त

पहिलेपहिले गाउँघरमा पाका पुस्ताका व्यक्तिले निगालोमा फूल भरेको देख्न सकिन्थ्यो। अहिले फूल भर्ने त परको कुरा निगालोबाट डोको डाली बुन्ने परम्परा पनि सकिँदै गएको छ।

ढोरपाटन- कुनै बेला बुट्टेनली बागलुङको पहिचान थियो। बागलुङ भन्नेबित्तिकै बुट्टेनलीको सम्झना गर्थे मानिसले। अहिले त्यही कुनै बेला बागलुङको पहिचान बनेको बुट्टेनली आफ्नै पहिचान गुमाएको अवस्थामा छ। निगालोको नलीमा विभिन्न आकृति कोरेर आकर्षक सामग्री बनाउने चलन हराएको र चलनसँगै बुट्टेनली नै हराउने अवस्थामा छ।

बागलुङ नगरपालिका-३ नौबिसेटोलका वसन्तजंग राजभण्डारी बुट्टेनलीका अहिलेका एक्ला बृहस्पति छन्। पहिलेपहिले गाउँघरमा पाका पुस्ताका व्यक्तिले निगालोमा फूल भरेको देख्न सकिन्थ्यो। अहिले फूल भर्ने त परको कुरा निगालोबाट डोको डाली बुन्ने परम्परा पनि सकिँदै गएको छ।

करिब ५७ वर्षीय वसन्त अहिले एकमात्रै बुट्टेनलीका कलाकार हुन्। उनले विभिन्न समयमा तालिम दिए पनि अहिलेसम्म कसैले पनि यो क्षेत्रलाई पेसाका रूपमा अगाडि बढाएका छैनन्। उसो त वसन्त आफैले पनि यसलाई पेसा बनाउन सकेका छैनन्।

उनी धवलागिरि विशेष आवासीय बहिरा विद्यालयमा अध्यापन गराउँछन्। विसं २०३९ मा विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दैगर्दा उनले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयबाट बुट्टेनलीसम्बन्धी तालिम लिएका थिए। उनी त्यसपछि निरन्तर बुट्टा भर्ने काम गर्दै आएका थिए।

'त्यसबेला म ८ कक्षामा पढ्थेँ, मेरो बुवा र काका काजी रोशनले मलाई १५ दिनको तालिममा जान भन्नुभयो, मेरो चित्र कोर्ने कला राम्रो भएकाले त्यहाँ जान जोड गर्नुभएको थियो', वसन्तले भने, 'त्यतिबेला कृष्णप्रसाद श्रेष्ठ भन्ने कार्यालय प्रमुख हुनुहुन्थ्यो, उहाँले तालिम दिलाउनुभयो, निकै उत्साहका साथ सिकेका थियौँ, अहिले पनि फुर्सदमा कोर्ने गरेको छु।'

त्यतिबेला १२ जनाको समूहले उक्त तालिम लिएका थिए। उनीहरूका गुरु थिए चाङ्गुनारायण गुभाजु। उनी झन्डै सय वर्षको हाराहारी बाँचेर बुट्टेनलीलाई नै मुख्य पेसा बनाएका थिए। त्यसपछि यसलाई पेसाका रूपमा अँगाल्ने कोही भएन। त्यो बेला वसन्तसँगै तालिम लिएका अन्य ११ साथी अहिले कसैले पनि यो काम गर्दैनन्। वसन्तले पनि फुर्सदमा यो काम गर्दै आएका छन्।

बुट्टेनलीका लागि लेकमा पाइने गजिङको निगालो सबैभन्दा राम्रो हुन्छ। काटेर अलिकति सुकेपछि हल्का सेतो हुने भएकाले चित्र कोर्न पनि सजिलो हुन्छ र कीरा नलाग्ने भएकाले दीर्घकालीन पनि हुन्छ। वसन्तले निगालोमा राष्ट्रिय विभूतिका चित्र, विभिन्न चराचुरुंगी र जनावरका आकृतिक कोर्ने गर्छन्। त्यतिमात्रै होइन, उहाँले धार्मिक र सांस्कृतिक चित्र पनि बनाउँछन्।

'अरु सबै कता गए के गर्छन् केही थाहा छैन, त्यो बेला तालिम लिएकामध्ये ममात्रै अहिले यो काम गरिरहेको छु, मेरो पनि मुख्य काम विद्यालयमा पढाउने नै हो, सामान्यदेखि अलि विशेषखालका चित्र पनि नलीमा कोरिन्छन्, नलीमा थरिथरिका बुट्टा भर्ने भएका कारण नै यसको नाम बुट्टेनली राखिएको हो', उनले भने, 'रामायण र कृष्णलीला पनि नलीमा उतार्ने गरेको छु, मागअनुसार चित्र कोरेर तयार पार्ने गरेको छु।'

लामो समयदेखि बुट्टेनली बनाउँदै आए पनि उनी आफै भने गजिङ पाइने ठाउँमा पुग्न सकेका छैनन्। बागलुङको बोबाङ, निसीखोला, राजकुट, जलजला गलकोटको माथिल्लो भेगमा राम्रो गजिङ पाइने गरेको उनको भनाइ छ। राम्रो निगालेका रूपमा भकुण्डे र मालिका मालिंगो पाइने भए पनि त्यसमा कीरा लाग्ने भएकाले टिकाउ नहुने वसन्त बताउँछन्।

पछिल्लो समयमा हस्तकलाको कुनै मूल्य नभएकामा उनी चिन्तित देखिन्छन्। वसन्तले शिक्षण पेसाबाट अवकाश लिन अब तीन वर्षमात्रै बाँकी छ। शिक्षण पेसाबाट अवकाश लिएपछि तालिम दिएर आफूजस्तै हस्तकलाका कलाकार उत्पादन गर्ने उनको चाहना छ।

'नलीमा बुट्टा भर्ने कुरा एकदमै गाह्रो विषय हो, आँखा तेजिलो हुनुपर्छ, आँखा र शरीरले साथ दिएसम्म यही काम गर्छु र सकेसम्म नयाँ मान्छेलाई तालिम दिएर आफूजस्तै कलाकार बनाउँछु भन्नेछ', उनले भने, 'विगतमा पनि केही तालिम दिएको छु, तर त्यसबाट तालिम लिने अनि अर्को क्षेत्रमा जाने गरेकाले कुनै उपलब्धि भएन, यो बागलुङको ऐतिहासिक कुरा भन्ने ज्ञान नभएर हो कि किन हो तालिम पनि प्रभावकारी हुनसकेका छैनन्।'

उनले बहिरा विद्यालय, बागलुङ कारागार र काठमाडौं तथा केही समय अगाडि हस्तकला संघबाट यो तालिम अरुलाई पनि दिने गरेका छन्। तालिम लिएका कसैले पनि यसलाई अगाडि बढाउन नसकेकामा उहाँलाई ठूलो चिन्ता छ। बुट्टेनली निकै गाह्रो पेसा भएकाले पनि यसप्रति आकर्षण कम भएको वसन्तको बुझाइ छ।

पहिले आकर्षक बुट्टा भरिएका नलीबाट बाँसुरी, तमाखुको नली र लठ्ठीका रूपमा पनि प्रयोग गर्ने चलन थियो। अहिले यी सबै चलन हराएर गएको छ। सरकारी तथा गैरसरकारी क्षेत्रले कलाकारलाई बचाउने र हस्तकलाको व्यावसायीकरण गर्न सहयोग गर्ने हो भने बागलुङको पहिचान बनेको बुट्टेनली जीवन धान्ने माध्यम बन्ने वसन्तको विश्वास छ। रासस


प्रकाशित : बिहीबार , चैत १ २०८०१६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend