बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
जनताको लगानीमा खेलाँची

सञ्चालककै हस्ताक्षर किर्ते गरेर रावा इनर्जीमा साढे ८ लाख कित्ता आईपीओ जारी भएको खुलासा

मंगलबार, फागुन २९ २०८०
सञ्चालककै हस्ताक्षर किर्ते गरेर रावा इनर्जीमा साढे ८ लाख कित्ता आईपीओ जारी भएको खुलासा

धितोपत्र बोर्डले २०७९ फागुन २९ गते कम्पनीको आईपीओ जारी गर्न विवरण स्वीकृत गरेको थियो।

काठमाडौं- रावा इनर्जी डेभलपमेन्ट लिमिटेड कम्पनीले सञ्चालक समिति सदस्यको नक्कली हस्ताक्षर गरेर साधारण सेयर (आईपीओ) जारी गरेको खुलेको छ। 

खोटाङमा रहेको तीन मेगावाट क्षमताको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाले गत जेठ १८ गते देखि २२ गतेसम्म सार्वजनिक निष्कासन गरेको थियो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो।कम्पनीको जारी पुँजी २८ करोड रहेको छ। जसको ३० प्रतिशत आईपीओ जारी गरेको थियो।

आईपीओ जारी गर्दा तीन वर्षदेखि बैठकमै नगएका सञ्चालक समिति सदस्य मुक्तिनाथ तिम्सिनाको हस्ताक्षर किर्ते गरेको आरोप लागेको छ। आयोजनाको मुआब्जाका विषयमा विवाद भएपछि तिम्सिना सञ्चालक समितिको कुनै पनि बैठकमा सहभागी भएका थिएनन्। यस्तोमा अन्य सञ्चालकहरूको मिलोमतोमा तिम्सिनाको हस्ताक्षर नै किर्ते गरेर आईपीओ जारी भएको हो। 

‘आईपीओ जारी हुँदासम्म मेरो हस्ताक्षर नचाहिने होला भन्ने भयो, जब मेरो पनि हस्ताक्षरसहित नेपाल धितोपत्र बोर्डमा आईपीओ अनुमति माग गरेको थाहा पाएँ अनि बल्ल किर्ते गरेको थाहा भयो’ सञ्चालक तिम्सिनाले भने।

'बहुमतले पनि जारी गर्न पाइने भनेर उनीहरू लामो समय बसे तर किर्ते नै गरेर हस्ताक्षर पठाएको थाहा पाएपछि अहिले धितोपत्र बोर्डमा छानबिनको मागसहित निवेदन दिएको छु' तिम्सिनाले भने। 

निर्माण सम्पन्न भएपछि स्थानीयलाई केही मुआब्जा दिने विषयमा सहमति भएपनि अध्यक्षसहितले नमानेपछि कुनैपनि बैठकमा सहभागी नभएको उनको भनाइ छ। जसको सञ्चालक समिति अध्यक्ष बद्रिप्रसाद गौतम छन्। विगतदेखि गौतम नै अध्यक्ष रहेका छन्।

कुनै पनि बैठकमा सहभागी नभएको, कुनै जानकारी नै नभएको तर एक्कासी हस्ताक्षर नै बोर्डमा पुगेको जानकारी भएपछि कानूनी उपचार र छानबिनको माग गरेको तिम्सिनाले बताए। बोर्डमा सार्वजनिक निष्कासनको प्रक्रियाका विषयमा आफू संस्थापक सदस्यलाई जानकारी नदिएको तर हस्ताक्षर नै किर्ते गरेर बोर्डमा पठाइ जनताका लागि सेयर जारी भएको थाहा पाएपछि उजुरी लिएर पुगेको उनले बताए। 

यता बोर्ड अध्यक्ष गौतमले हस्ताक्षर गराउने समयमा तिम्सिनाको घरमा नै गएर कर्मचारीले हस्ताक्षर गराएर आएको दाबी गरे। ‘घरघरमा पुर्‍याएर हस्ताक्षर गराउँदा उहाँको पनि भयो होला भन्ने हो तर धितोपत्र बोर्डबाट पत्र आएपछि हामीले जवाफ पठाएका छौँ,’ अध्यक्ष गौतमले भने। बोर्डले छानबिन गरिरहेकोले छानबिनपछि मात्रै बाँकी कुरा भन्न सकिने उनले बताए।

धितोपत्र बोर्डले २०७९ फागुन २९ गते कम्पनीको आईपीओ जारी गर्न विवरण स्वीकृत गरेको थियो। 

कम्पनीले निष्कासनकर्ता कम्पनी तथा यसका संस्थापक-सञ्चालकहरूले उपलब्ध गराएका विवरण तथा जानकारीहरूको आधारमा उक्त कम्पनीको व्यवस्थापकीय, प्राविधिक र आर्थिक पक्षका विश्लेषणात्मक अध्ययनबाट सन्तुष्ट हुनुको साथै विवरणपत्रमा लेखिएका आर्थिक विवरणहरू र अन्य जानकारी तथ्यगत, पूर्ण र सही भएको उल्लेख गरेको थियो। सोही आधारमा बोर्डले अनुमति दिएको थियो।

अनुमति पाएसँगै जनतालाई सेयर पनि बाँडफाँट भएर अहिले दोस्रो बजारमा कारोबारसमेत भइरहेको छ। उक्त कम्पनीको सेयर मूल्य ४८६ रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ।

यस्तोमा जनतालाई सेयर जारी गर्ने कम्पनी नै अपारदर्शी ढंगले चलेको र हस्ताक्षर नै किर्ते गरेको थाहा पाएपछि छानबिनको माग गरेको सञ्चालक तिम्सिना बताउँछन्।

नेपाल धितोपत्र बोर्डका कायममुकायम अध्यक्षको जिम्मेवारीमा रहेका नवराज अधिकारीले पनि उजुरी परेर अहिले छानबिन जारी रहेको जानकारी दिए। हस्ताक्षर नै किर्ते गरेको भन्ने आएपछि छानबिन तीव्र पारेको उनले बताए। 

कम्पनीले २०७३ साउन २४ मा विद्युत खरिद बिक्री सम्झौता गरेको थियो भने आयोजनाले राष्ट्रिय वाणिज्य बैंकसँग २०७३ असार ३१ मा ऋण सम्झौता गरेको थियो। सेयर निष्कासनका लागि २०७८ चैत ३० मा प्रभु क्यापिटलसँग सम्झौता गरेको थियो। रावा इनर्जी डेभलपमेन्ट कम्पनीको नेटवर्थ ७९ रुपैयाँ भएपनि यसको सेयर नेपाल स्टक एक्सचेन्जमा ४८६ मा कारोबार भइरहेको छ। यस कम्पनीको प्रतिसेयर आम्दानी ०.१८ रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनी दर्ता २०६६ साउन ३२ गते नै गरिएको थियो।

आयोजनाको सबै काम आफूले नै अगाडि बढाएको तर पछि लगानी गर्न समस्या भएपछि अहिलेका अध्यक्ष गौतम भित्रिएकोसमेत सञ्चालक तिम्सिनाले बताए। गौतम अर्थ मन्त्रालयको उपसचिव भएर लामो समय सरकारी सेवामा समेत रहेका थिए। 

यस्तो छ वित्तीय विवरण 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यो कम्पनीको खुद नाफा करिब ५ लाख १७ हजार ५ सय ६० रुपैयाँले ऋणात्मक रहेको छ।  

यो कम्पनीको फाइनान्स कष्ट १ करोड ९५ करोड रुपैयाँ रहेको छ।  निरन्तररुपमा कम्पनी घाटामा गएकाले कम्पनीको सञ्चित नोक्सानी ५ करोड ८४ लाख रुपैयाँ पुगेको छ। खोटाङको केपीलासगढी गाउँपालिकामा कम्पनीको परियोजना सञ्चालन भइरहेको छ। 

कम्पनीले जारी पुँजीको २८ लाख कित्ता बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। यस कम्पनीको लगानी फिर्ता हुने अवधि ८.८९ प्रतिशत रहेको उल्लेख गरेको छ। कम्पनीको लागत ६४ करोड ६५ लाख रुपैयाँ हुने उल्लेख गरेको छ। 

केयर नेपाल रेटिङ कम्पनीले यस कम्पनीलाई 'डबल बी' रेटिङ प्रदान गरेको छ। आर्थिक वर्ष २०७८ असार मसान्तसम्ममा यो कम्पनी करिब ३ करोड १३ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको धितोपत्र बोर्डमा प्राथमिक सेयर जारी गर्दा बुझाएको वित्तीय विवरणमा उल्लेख छ। 

यस कम्पनीले करिब ४७ करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएको छ। हालसम्म यस बैंकले ६४ लाख १० हजार रुपैयाँ बैंकलाई कर्जाको साँवाब्याज भुक्तानी गरेको छ। कर्जा १५ वर्षभित्रमा भुक्तानी गरिसक्ने वित्तीय विवरणमा उल्लेख गरेको छ।


प्रकाशित : मंगलबार, फागुन २९ २०८०१८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend