बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कानून मिचेर पर्यटनमन्त्री आलेले कसरी लगे हजारौँ डलर विदेशमा?

राष्ट्र बैंक भन्छ- भीआईपी र सर्वसाधारणले भिजिट भिसामा बढीमा १५ सय डलर खर्च गर्न पाउँछन्  

बुधबार, मंसिर २२ २०७८
कानून मिचेर पर्यटनमन्त्री आलेले कसरी लगे हजारौँ डलर विदेशमा?

काठमाडौं- संस्कृृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले लन्डनको ट्राभल एन्ड टुरिजम एक्स्पो (डब्लूटीएम) जाँदा नियमविपरित डलर बोकेको तथ्य फेला परेको छ। आलेले नेपाल फर्कंने क्रममा भन्सार छुटमा विमानस्थलबाट लाखौँको समान खरिद गरेका थिए।  

मन्त्री आलेले ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी ल्याएका थिए। त्यसबाहेक पनि मन्त्री आलेले १० सेट चस्मादेखि एक दर्जन जोर जुत्तासमेत भन्सार छलेर नेपाल ल्याएका थिए। 

सबै सामानको सामान्य मूल्यमा मात्र हिसाब गर्दा पनि ५० हजार डलरभन्दा बढीको हुन आउँछ। जसको लागि उनले कार्ड नभएर हरेक ठाउँमा डलर नगद नै काउन्टरमा बुझाएका थिए। जब कि नेपालबाट भ्रमणमा जाँदा आधिकारीक रुपमा ५ सय डलर मात्रै लैजान पाउने व्यवस्था छ। 

मन्त्री आलेले एभरेष्ट बैंकको डलर कार्ड प्रयोग गर्ने गरेका छन्। मन्त्री आलेले लन्डन बस्दा आफूलाई घुमाउन सहयोग गर्ने गाडीका ड्राइभरलाई नै ३ सय डलर 'टिप्स' स्वरुप दिएका थिए। त्यसबाहेक उनको 'फजुल खर्च' सामान्य थिएन। 

नेपाल राष्ट्र बैंकले भिजिट भिसामा घुम्न जाने नेपालीलाई बढीमा १५ सय डलरसम्म खर्च गर्ने अधिकार दिएको छ। ‘नगद लैजान पाउने ५ सय डलर मात्र र कार्डमार्फत गर्ने हो भने १५ सय डलर मात्रै हो,’ नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले भने।

भीआईपीलाई भनेर कुनै पनि छुट्टै व्यवस्था नहुने समेत पोखरेलले बताए। विदेशमा नै आफन्तले पैसा दिएर किन्ने कुरा छुट्टै हुन सक्छ, तर नेपालबाट १५ सय डलरभन्दा बढी खर्च गर्न नपाउने पोखरेलले बताए। 

नेपाल राष्ट्र बैंकले विदेश जाने नेपालीलाई एक जना बराबर ५ सय डलर मात्रै लैजाने सुविधा दिएको छ। राष्ट्र बैंकको नीतिलाई समेत चुनौती दिँदै मन्त्री आलेले भने लाखौँ पर्ने सामान खरिद गरेर काठमाडौं ल्याएका छन्। तर पर्यटनमन्त्री आलेले खरिद गरेको सामानको सूची हेर्दा ५० हजार डलरभन्दा बढीको छ। 

स्रोतका अनुसार विमानस्थलमा मन्त्रीलाई खानतलासी नहुने भएकोले उनले साथमै सबै नगद डलर लिएर गएका थिए। नेपालमा ठमेल लगायत क्षेत्रमा डलरको गैरकानूनी नगद कारोबार हुने गरेको जानकार बताउँछन्। मन्त्री आलेले डलर साट्न त्यही गैरकानूनी बाटो अपनाएको स्रोतको दाबी छ। 

कानून बनाउने मन्त्री तथा सांसदहरूलाई नै विदेश भ्रमणमा जाँदा कानून मिचेका होलान् कि भनेर खानतलासी गर्नु फलामकाे चिउरा चपाएसरह हुने भन्सारका कर्मचारीहरू बताउँछन्। अनाैपचारिक कुराकानीमा कर्मचारीहरूले अहिलेसम्म मन्त्रीले कति के बाेकेर जान्छन् भनेर खल्ती खाेतल्न नसकिएको बताए। 

सन् २०२१ को डब्लूटीएमका लागि नेपाल पर्यटन बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी र म्यानेजर लक्ष्मण गौतमसहित पर्यटनमन्त्री प्रेम आले, तत्कालीन सचिव यादव कोइराला र मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मी गएका थिए।

कार्यक्रममा भाग लिन अन्य सहभागीहरू अक्टोबर २८ मा लन्डनतर्फ लागेका थिए। मन्त्री र स्वकीय सचिव भने अक्टोवर ३१ मा लन्डन गएका थिए। मन्त्री आले लन्डनबाट नै स्कटल्यान्डमा आयोजित कोप २६ मा पनि सहभागी हुन पुगेका थिए। यसरी फरक फरक विमानस्थलमा उनले सामान किनिरहेका थिए, हजारौँ डलर खर्चिएर। अतिरिक्त सामानका कारण मन्त्री आलेले लन्डनमा दुईवटा सुटकेससमेत थपेका थिए।  

मन्त्री आलेले किनेका ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी १० सेट चस्मादेखि एक दर्जन जोर जुत्तासमेतको सामान्य मूल्यमा मात्र हिसाब गर्ने हो भने पनि कानूनी रुपमा लान पाइने डलरले पुग्दैन। जब कि लान पाइने ५ सय डलर सटहीका लागि समेत नेपालमा ‘क’ वर्गको मान्यताप्राप्त बैंकमा स्वयम उपस्थित भएर आयस्रोतसमेत खुलाउनुपर्ने नियम छ। 

यो पनि-

वैदेशिक रोजगारीबाट फर्किएकालाई केरकार, भीआईपीलाई निस्फिक्री 

भन्सार छलेर उपहार ल्याउँछन् मन्त्री, प्रेम आलेले ल्याए ७ रोलेक्स, ७ आइफोन र ९ बोतल रक्सी

लन्डन जाने टिकट : अरूलाई डेढ लाख मन्त्री आलेलाई १२ लाख


प्रकाशित : बुधबार, मंसिर २२ २०७८११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend