बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नक्कली लालपुर्जामा १९ करोड : उन्मुक्ति दिन खोजिएका कुमारी बैंकका सीईओ फेरि अनुसन्धानमा तानिए

बैंकिङ कसुरमा पनि सुरु भयो अनुसन्धान

सोमबार, मंसिर ६ २०७८
नक्कली लालपुर्जामा १९ करोड : उन्मुक्ति दिन खोजिएका कुमारी बैंकका सीईओ फेरि अनुसन्धानमा तानिए

काठमाडौं- गायक योगेश्वर अमात्यको बाराको १२ बिघा जग्गाको किर्ते लालपुर्जा राखेर कर्जा लिएको मुद्दामा प्रहरीले कुमारी बैंकमाथि अनुसन्धान सुरु गरेको छ। बैंकका कर्मचारीको समेत मिलेमतोमा कर्जा लगानी गरेको पाइएपछि जिल्ला सरकारी वकिल कार्यालयले बैंकिङ कसुरमा पनि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो। 

अहिले थप समय लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा पनि अनुसन्धान सुरु गरेको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले बताएका छन्

यसअघि गायक अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ निकालिएको प्रकरणमा मूल्यांकनकर्ता पक्राउ पर्दा कर्जा स्वीकृत गर्ने काठमाडौंस्थित न्यूरोड शाखाका कर्मचारी साथै केन्द्रीय कार्यालयका कर्मचारीलाई सामान्य सोधपुछ गरेर छाडिएको थियो।

गायक योगेश्वर अमात्यको १२ बिघा जग्गाको नक्कली लालपुर्जा राखेर कुमारी बैंकको न्युरोड शाखाबाट १९ करोड लगानी गरेको खुलिसकेको छ। कीर्ते लालपुर्जा राखेर कर्जा लगानी गर्न बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाको समेत संलग्नता खुलेको छ।

सामान्यत: १ करोड रुपैयाँभन्दा बढी कर्जाका लागि केन्द्रीय कार्यालयबाट स्वीकृति लिने बैंकहरूको नियम रहेको देखिन्छ। यस्तोमा १२ बिघा जग्गाको किर्ते लालपुर्जा राखेर १९ करोड रुपैयाँ दिँदा बैंकको केन्द्रीय कार्यालयमा नै कागजात पुगेर स्वीकृति दिँदा पनि अनुसन्धानमा भने कर्जा दिनेलाई नै उन्मुक्ति दिन खोजिएको जस्तो देखिएको थियो।

केन्द्रीय कार्यालयकै स्वीकृतिमा कर्जा लगानी भएको पाइएको सीआईबीले समेत जनाएको छ। सीआईबीले तिमिल्सिनासँग यसअघि पनि दुई पटक बोलाएर बयान लिएको थियो। बयानका क्रममा उनले बैंकको कमजोरी स्वीकार गरिसकेका छन्। 

तर प्रहरीले किर्तेमा मात्रै अनुसन्धान गरेर बैंकका कर्मचारीलाई उन्मुक्ति दिन लागेको भन्दै आलोचना भएको थियो। सरकारी वकिल कार्यालयले पनि फाइल फिर्ता गरेपछि प्रहरीले बैंकिङ कसुरमा अनुसन्धान थालेको हो। 

‘बैंकका कुन शाखाकाको कर्मचारीको कस्तो संलग्नता छ सबै अनुसन्धान हुन्छ। केन्द्रीय कार्यालय, न्युरोड शाखा र बीरगन्ज शाखाका कर्मचारीको संलग्नता देखिएको छ’, सीआईबीका अनुसन्धान अधिकृतले भने। 

प्रहरीले नक्कली जग्गाधनी एसकुमार महर्जन र मुक्तिनाथ गौतम, कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश्वर चौरासिया र बिचौलिया कुसन प्रधानलाई पक्राउ गरेको छ। यसमा संलग्न बैंकको बीरगन्ज शाखाका सहायक म्यानेजर राजेश साहसहित केही फरार छन्। 

अमात्यको बारामा रहेको १२ बिघा जग्गाको नक्कली लालपुर्जा राखेर कुमारी बैंकको न्युरोड शाखाबाट १९ करोड रुपैयाँ कर्जा लगानी भएको थियो। 

‘कीर्तेमा मात्रै मुद्दा चलाउँदा क-कसले कीर्ते गरेका थिए भनेर हेरिएको थियो, अब बैंकिङ कसुरमा चल्ने भएपछि क-कसको संलग्नता छ भन्ने पनि हेरिन्छ। सुरुमा कर्जा दिँदैबाटै भएका प्रक्रियामा अनुसन्धान हुन्छ’, एसपी महतोले भने। 

बैंकले भने अर्को जग्गा राखेर कर्जा सल्ट्याइसकेको भन्दै उम्कने प्रयास गरेको थियो। 

लिखतसम्बन्धी कसुरमा प्रहरीले २५ दिनभित्र मुद्दा बुझाउनु पर्छ। तर बैंकिङ कसुरमा ६० दिनसम्म अनुसन्धानको समय पाउँछ। यस प्रकरणमा नेपाल राष्ट्र बैंकले पनि कुमारी बैंकमाथि छानबिन गरिरहेको छ।


प्रकाशित : सोमबार, मंसिर ६ २०७८१३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend