मंगलबार, वैशाख १८ गते २०८१    
images
images

चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दसैँके ढोल’    

images
images
images
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दसैँके ढोल’    

मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वका पुराना लोकपरम्परा केही वर्षयता हराउँदै गएका छन्।

images
images

महोत्तरी- यसपालिको दशहरा (दसैँ) पर्व नजिकिँदै गर्दा पनि तराई-मधेसका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिँदैन। दशहरा पर्वमा घटस्थापनाकै दिनदेखि बस्ती/बस्तीमा बज्ने ‘ढोल’ अब मधेसको प्राचीन मिथिलामा हराएको छ। नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन, सुनिन छाडेका छन्।

images
images
images

घटस्थापनाका दिनदेखि नै बज्ने ढोल र बस्तीबस्तीमा गाइने/नाचिने झिझिया देख्न, सुन्न छाडिएको हो। मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वका पुराना लोकपरम्परा केही वर्षयता हराउँदै गएका हुन्। 

images

दशहरा सुरु हुनासाथ नगर/गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र बस्ती/बस्तीमा गरिने झिझिया नृत्य देखिन छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा हराउँदै गएको हो। ढोल बज्न छाडेर बस्तीबस्तीमा झिझिया पनि हराउँदै गएपछि पाका पुस्ताका मैथिललाई दशहरा आएजस्तो लागेको छैन।

images

'कहुँ ढोल बजल नई सुनैछी, न झिझिया नाच कतो दिखाइय' (कतै ढोल बजेको सुनिँदैन, न झिझिया नाच नै देखिन्छ) महोत्तरीको भंगाहा नगरपालिका-५ धतियाटोल सीतापुरका ८० वर्षीय झौली भण्डारी माली भन्छिन्, 'दशहरा पावैन आयल बुझाइए न रहल अई' (दसैँ पर्व लागेजस्तो नै बुझिन्न)। बस्तीमा ढोल नबजेको र राती झिझियाको लय सुन्न नपाइएपछि दसैँ लागेको भनक नै नपाइएको भण्डारीको भनाइ छ।

images
images

महोत्तरीसहितका मिथिलामा दसैँ पर्वको नवरात्र सुरु भएसँगै बस्तीका घर/घरैजसो ‘दसैँके ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल र राती महिलाले सामूहिकरुपमा गीत गाउँदै नाचिने झिझिया देख्न छाडिएपछि भण्डारीजस्तै यस भेगका सर्वसाधारणले चिन्ता जनाएका छन्। 'बौवा, पुरान परम्परा सब हेराय लागल, चिन्ता लगैय जे आब हमर कि पहिचान रहत?' (बाबु, पुराना परम्परा हराउँदै गए, अब चिन्ता लाग्दैछ, अब हाम्रो के पहिचान रहला ?)। जिल्लाको सदरमुकामसमेत रहेको महोत्तरीकै जलेश्वर नगरपालिका-५ चौडिया बस्तीका ७५ वर्षीय रहिमन मण्डलले मैथिलीमा भने।

दसैँ पर्वको घटस्थापनाकै दिन बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै ‘दसैँके ढोल’ भनेर कराउँदै हिँड्दा ससाना नानीहरु उनका अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्यकथा जस्तै भएको बुढापाका बताउँछन्। लोक परम्पराका ‘ढोल’ र ‘झिझिया’ नबज्दा, नगाइँदा दसैँ लाग्यो, दसैँ आयो भन्ने लाग्ने नगरेको पाका मैथिल बताउँछन्।

त्यसैगरी नवरात्र सुरु भएकै दिन मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्याङ्गनाहरुको समूह पनि अब देखिन छाडेको छ। ‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा...!’ को रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रम्हस्थान) स्थलमा पुगेर दसैँमा मिथिलानीहरुले सुरिलो भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने यो प्राचीन तान्त्रिक नृत्य अब देखिन छाडेपछि बुढापाका मैथिलको चिन्ता बढेको हो।

पछिल्ला केही वर्षयता लोकपरम्पराको ‘झिझिया’ नृत्य गैरसरकारी संघसंस्थाका कार्यक्रम भने बनेका देखिन्छन्। तिनै संघसंस्थाको मञ्चमा हुने कार्यक्रमलाई अचेल हामीले ‘मिथिलामा झिझियाको रौनक’ शीर्षक दिएर ठूलठूला अक्षरमा सञ्चारमाध्यममा पस्कने गरेका भंगाहा-४ रामनगरका बासिन्दा सञ्चारकर्मी (पत्रकार) रामईश्वर ठाकुर बताउँछन्।

गाउँनगर बस्तीका पाका चमार जातिका अगुवा बुढ्याँइले हिँडडुल गर्न छाडेर नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअँगालेपछि अब दसैँको ढोल बज्न छाडेको हो।

'कि करु हजुर, जवतक शरीर साथ देलक तबतक ढोल बजैली, आब बेटा/पोता ढोल बजाव नइ चाहैय, कि करु?'(के गरौँ हजुर, जहिलेसम्म शरीरले साथ दियो, रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा/नाति ढोल बजाउन चाहँदैनन्, के गरौँ?) भंगाहा-५ धतियाटोलकै ७५ वर्षीय अच्छेलाल महरा (चमार समुदायका अगुवा) बताउँछन्। दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अन्य अरब राष्ट्र जान थालेपछि पुर्ख्यौली रितिथिति र पेसा थाम्ने कुरा ओझलिएको चमार जातिका पाका उमेरका अगुवा बताउँछन्।

त्यसैगरी असुर प्रवृतिविरुद्घ सात्विक प्रवृति र असत्यमाथि सत्यको विजयका रुपमा मनाइने दसैँ पर्वमा झिझिया नृत्य मिथिला क्षेत्रको प्रमुख आकर्षण रहँदै आएको थियो। 'दसैँ लागेपछि प्रत्येक रात बस्तीका महिलाहरु सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन, देखिन छाडेको छ', महोत्तरी जिल्लाकै भारतीय सीमावर्ती मटिहानी-७ का सामाजिक कार्यकर्ता रामकुमार मण्डलले भने।

पछिल्ला केही वर्षयता गाउँ/नगर बस्तीमा  डिस्को बाजासँगै कर्कस स्वरमा बजाउन थालिएको गीत र त्यसको तालमा उफ्रँदै नाच्ने जमातप्रति मण्डलको चित्त दुखाइ छ। 'हाम्रो आफ्नै परम्परामा मनोरञ्जनका साधन र विधि छन्, हाँस्न, खेल्न तिनको अनुशरण गरे त भयो नि!' मण्डलले भने, 'तर अब हाम्रा मनोरञ्जनका विधि सबै छोडिँदै गएका छन्।'

दसैँ लागेपछि अघि सत्य युगमा देवी दुर्गाबाट पराजित भएका दुष्टात्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दु:ख दिन सक्ने रुढी विश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीहरुले राति जाग्राम रहि ग्राम देवतालाई पुकारा गर्दै गाउने गीत र नृत्यलाई ‘झिझिया’ भनिन्छ।

असङ्ख्य ससाना प्वाल पारिएको माटोको गाग्रो (घैँटो) भित्र बत्ती बालेर एकजना फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउने गरेको यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरी बुहारीले नअँगालेपछि यो लोप हुने स्थितिमा पुगेको अगुवा महिला नै बताउँछन्।

'हुन त यो अन्धविश्वासको परम्परा हो', भंगाहा नगरपालिकाका उपप्रमुख शान्तिदेवी सिंह थारु भन्छिन्, 'तर मिथिला संस्कृतिको अभिन्न अंग भनिने गरिएकाले यसलाई परिमार्जित गर्दै संरक्षण गर्न जरुरी छ।' तान्त्रिक विधिको यो गीत-नृत्य अब एक समयको कथाजस्तो बनिसकेको उपप्रमुख थारुको थप भनाइ छ।

मिथिलामा हराउँदै गएको यो संस्कृतिलाई केही वर्षयता गैरसरकारी सामाजिक संघसंस्थाहरुले यदाकदा देखाउने गरेका भए पनि जनमनबाट भने हराउँदै गएको यहाँका बुद्धिजीवीको भनाइ छ। 'यो औपचारिक कार्यक्रममा मञ्चन गरिने होइन, संस्कृतिसँग जोडिएको कुरा हो', महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका उपप्राध्यापक मनोज झा मुक्तिले भने, 'गैरसरकारी संस्थाले मञ्चमा मञ्चन गरेर यो थेगिदैन, जनमनले नै थेग्नुपर्छ।'

मिथिला संस्कृतिको अभिन्न अंग मानिएको झिझिया गीतको नृत्यलाई जिवन्त राख्न पछिल्लो पुस्ताले चासो बढाउन झासहितका बुद्धिजीवीको सुझाव छ। अब झिझियाको लयमा नारी शिक्षाको अवस्था, सुरक्षा अवस्थाको चुनौती र वर्तमान परिवेशसँग मेल खाने भाव समेटेर यसलाई परिष्कृत गर्न पर्ने अगुवा मिथिलानी बताउँछन्।

यस्तो गर्न सकिएमा लोकपरम्पराको जगेर्ना र वर्तमान आवश्यकताको कुरा व्यक्त हुनसक्ने भंगाहा-३ कटैयाकी रामराजी यादवको भनाइ छ। 'नयाँ पुस्ताका युवा छोरीचेलीहरु वास्ता देखाउँदैनन्’, यादवले भने, ‘अब त झिझिया भन्ने कुरा कुनै जमानाको कथा जस्तो गरी सुनाउने स्थिति भइसक्यो, यो अवस्था अन्त्यका लागि हामीले नै पहलकदमी लिनुपर्छ।'

‘चलचल गे डैनिया कदम तर तोरा बेटाके खैबौ बरमतर’ (अरे दुष्टात्मा तँ अगाडि कदमको रुखतिर त बढ, तेरो छोरालाई त्यहीँ ब्रह्मस्थान नजिक हामी खानेछौँ) दुष्टात्मा भनिएकी कथित बोक्सीलाई सतोसराप गर्दै गाइने यी गीत र यसको तालमा नाचिने झिझिया नृत्यलाई यसैको ताल र लयमा नयाँ परिवेशसँग मिलाएर अघि बढ्नुपर्ने आवश्यकता अब औँल्याउन थालिएको छ।

'अब डायनी, बोक्सी भनेर गाली गरिने यी गीतको भावमा अधिकार प्राप्तिका लागि सचेतता बढाउने, रुढी परम्पराको ठाउँमा समानता र न्यायका पक्षका लडाइँका भाव मिलाउनुपर्छ' बर्दिवास-१२ बिजलपुराकी महिला नेतृ गीतादेवी महतो भन्छिन्, 'झिझियालाई यसरी परिष्कृत गर्दै अघि बढे यसलाई मुलुकको समानता र न्यायको आन्दोलनकै अंग बनाउन सकिनेछ।'

झिझिया गीतमा देवी दुर्गाको प्राथना, बोक्सी भनिने दुष्टआत्मालाई गाली र सन्तानको कल्याण र  दीर्घायुको कामनाको भाव हुन्छ। गीतको तालमा असंख्य प्वालैप्वाल भएको घैँटो टाउकामा राखेर नाच्ने महिलाको नृत्यताल मनमोहक हुने गर्छ।

भित्र बत्ती बालिएको सो घैँटोमा पारिएका प्वाल दुष्ट आत्माले गन्यो भने नाच्नेको मृत्यु हुने भनाइ रहेकाले नाच्ने महिला फनफनी नाचेर प्वाल गन्न नसकिने अवस्था बनाउँछन्। मिथिला लोकसंस्कृतिको अभिन्न अंग मानिने यो परम्परा अब लोप हुने अवस्थामा पुगेको हो।

पुरानो यो लोकसंस्कृति कायम राख्न अब यसलाई समयअनुसार परिष्कृत गर्दै अघि बढ्नुपर्नेमा पाका मैथिल पनि सहमत देखिन्छन्। यो अभिभारा नयाँ पुस्ताले उठाउनुपर्ने पाका मैथिलको सुझाव छ। दसैँ पर्वको मैथिल लोकपरम्पराको ‘ढोल’ र ‘झिझिया’ जिवन्त राख्न नयाँ पुस्ताको चासोबिना सम्भव नहुने मैथिल बुद्धिजीवी बताउँछन्।

'यो परम्परा धान्दै आएका पुरानो पुस्ताकाहरु अब शरीरले नै लाचार भए, उनीहरुले चाहेर पनि गर्न सक्दैनन्', राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला (बर्दिबास-९) का प्रधानाध्यापक हरिदेव महतो भन्छन्, 'हाम्रा विशिष्टता झल्काउने रितिथिति, परम्परा थेग्न, त्यसलाई प्रवर्द्धन गर्न नयाँ पुस्ताको चासो आवश्यक भएको हो।' यसरी यी परम्परा जोगाइराख्न तीभित्रका जडतालाई परिष्कृत गर्दै समयअनुसारको भाव जोड्नसके यो बचाउन सकिने महतोको राय छ। 

images

प्रकाशित : बिहीबार , कात्तिक २ २०८००८:४५

प्रतिक्रिया दिनुहोस