बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

उपनिवेशपूर्वको समुन्नत श्रीलंकाली समाज

सोमबार, असोज १५ २०८०
उपनिवेशपूर्वको समुन्नत श्रीलंकाली समाज

श्रीलंकाली संकटको ऐतिहासिक पाटो केलाउँदै जाँदा सोह्रौँ शताब्दीको सुरुवातबाट नै पश्चिमा उपनिवेशले त्यहाँको आर्थिक, सामाजिक, भौगोलिक र वातावरणीय संरचनाहरूको असीमित दोहन गरेको प्रष्ट देखिन्छ।

हुन त श्रीलंका परापूर्वकालदेखि नै विभिन्न वाह्य आक्रमणबाट ग्रसित थियो तर आफ्नै वरपरका राज्यहरूसँगको टकरावले त्यति धेरै वस्तुगत फरक परेको भने थिएन। किनभने पूर्वी एसियाको राज्यहरूले अबलम्वन गर्ने धर्म, मूल्यमान्यता, रहनसहन, प्रकृतिसँगको सामिप्यता, शासन प्रणाली, उत्पादन प्रणाली आदि मिल्दोजुल्दो हुनाले नयाँ राजा-रजौटा र जनताको बीचमा घुलमिल सहजै हुन्थ्यो। 

दम्भ, अहंकार र द्वेषभावबाट निर्देशित भएर नयाँ खोज र प्राकृतिक श्रोतको दोहनमा मस्त भौँतारिरहेका तत् समयका पश्चिमाहरूले भने श्रीलंकाको आर्थिक-सामाजिक र राजनीतिक पक्षहरू भताभुङ्ग नै पारिदिए। प्रत्येक कुरामा हस्तक्षेप गरिदिए, आफूलाई कुनै अलौकिक शक्तिद्वारा वरदान पाएको माने, अरु धर्म/समाजका मानिस केबल बर्बर जंगली हुन् ठाने र आफ्ना हदैसम्मका कु:कर्मलाई सामान्यीकरण गरे।

सन् १५०० देखि सुरु भएको पोर्चुगिज, डच र बेलायती उपनिवेशले श्रीलंकाको स्थानियतामा कहिल्यै निको नहुने घाउ छाडेर गए। तर त्यस विषयलाई पर्घेल्नुभन्दा पहिले संक्षिप्त रुपमा पश्चिमा कब्जापूर्व सो टापुदेशको सभ्यता कति समृद्व र सन्तुलित थियो त भन्ने कुरा महत्वपूर्ण हुन्छ। 

कृषी र सिँचाइ

आजका बहुसंख्यक अर्थशास्त्रीहरू दक्षिणी विश्व (ग्लोवल साउथ) पछि पर्नुको कारण परम्परागत निर्वाहमुखी खेतीमा आधारित कृषि हो भनेर ठोकुवा गर्छन् तर इतिहासदेखि नै आजको दक्षिण एसिया कृषि र सिँचाइमा त्यो समयको बाँकी विश्वभन्दा धेरै अगाडि थियो।

श्रीलंकामा पनि औपनिवेशिक शत्रुहरू सीमाभित्र नपस्दासम्म कृषिमा आधारित गौरवशाली अर्थतन्त्र कायम थियो। दुई हजार वर्ष पुरानो राजारत सभ्यतादेखि नै हस्तान्तरण हुँदै आएको उत्कृष्ट सिँचाइ प्रणाली श्रीलंकाली कृषिको मियो थियो।

सो सिँचाइ प्रणालीको तीन मुख्य उद्देश्य- भू-संरक्षण, पानीको बहुउपयोग र मनसुन वर्षाको सञ्चिति गरी भू-सतहको पानी पुनर्भरण गर्नु थियो भन्ने तथ्य उल्लेख गरिएको छ (श्रीलंकाको प्राचिन सिँचाइ प्रणालीको सर्वेक्षण, १९८९)

यस सिँचाइ प्रणाली नेपालको काठमाडौंमा ऐतिहासिक महत्व बोकेको ‘हिटि प्रणाली’सँग धेरै मेल खान्छ। पदम राज जोशी (२०२२) द्वारा लिखित हिटि प्रणाली पुस्तकले मध्यकालीन नेपालमा प्रयोग भएको पानीको उचित व्यवस्थापन गर्ने प्रविधिलाई गहिरोसँग विश्लेषण गरेको छ। सायद टापु राज्य भएका कारणले पनि होला श्रीलंकालीमाझ पानीको सदुपयोग गर्ने सचेतना यतिसम्म थियो कि राजा पराक्रमबाहु (११५३-११८६), जसलाई प्राचिन इन्जिनियर पनि भनिन्छ, उनले आकासबाट झरेको एक थोपा पानी पनि मानव उपयोगबिना समुद्रमा मिसिन हुँदैन भन्ने गर्थे। प्रविधि यति आधुनिक थियो कि हाइड्रोलिक प्रणाली सिँचाइमा प्रयोग गरिएको थियो र सो टापुले ‘पूर्वको खाद्यान्न भण्डार’ भन्ने उपाधी गुथेको थियो। 

आज श्रीलंकामा हाहाकार भएको धानबाली, दलहन र तेलहनबाली जस्ता अन्नबाली सो समयमा त्यहाँ प्रशस्त उत्पादन हुन्थ्यो। अझ रमाइलो कुरा त के छ भने खेतीलाई एकदमै सम्मानित पेशाका रुपले हेरिन्थ्यो र खेती गर्ने वर्ग (किसान) लाइ सिंहला जात संरचनामा सबैभन्दा उच्च स्थानमा राखिन्थ्यो। (श्रीलंकामा औपनिवेशवाद: कान्डायन हाइल्याण्डसको अर्थ राजनीति, १९८३)। तसर्थ पश्चिमाहरूले आरोप लगाए झैँ श्रीलंका परापूर्वकालदेखि निर्वाहमुखी अर्थतन्त्र नभएर स्वनिर्भर अर्थतन्त्र भएको खुल्न आउँछ।

सामाजिक र प्रशासनिक संरचना

कृषिमा आधारित समृद्ध अर्थतन्त्रबाट उत्पन्न ‘आर्थिक अधिशेष (इकोनोमिक सरप्लस)’ को सदुपयोगबाट बुद्ध र हिन्दु धार्मिक संरचना, कलाकृति, साँस्कृतिक सम्पदा आदिको द्रुत विकास भयो। भारतबाट प्रस्थान गरेका हिन्दु र स्थानीय सिन्हालाबीचको सामाजिक अन्तरघुलन चर्चा गर्नलायक छ।

यहाँको खाद्य सम्प्रभुता, कर्मठ किसान, खनिजको भण्डार, सामरिक महत्व आदिका कारण यस टापु-देशमा भारतका विभिन्न राज्यका शासकहरूद्धारा विभिन्न समयमा आक्रमण भइ नै रह्यो। तै पनि उनीहरूको सामाजिक र प्रशासनिक संरचनामा धेरै मेल भएकाले श्रीलंकाली जनतालाई धेरै असर पार्दैनथ्यो। 

तिनताका, कान्डयान राज्य वैभवशाली र स्वाधीन राज्य थियो। विशेष कुरा त के छ भने सो राज्यको शक्तिको मूल स्रोत भने त्यहाँको किसान वर्ग थियो। खेतीपातीमा रम्ने/रमाउने कान्डायन किसानलाई जुनसुकै शासक आए पनि खेती र सामान्य जीवनयापनबाट विचलित गर्न सक्दैनथे।

जनताको प्रकृतिसँगको सामिप्यता अति विशिष्ट थियो र नै सो राज्य टापुभित्रै स्वतन्त्र राज्यका रुपमा धेरै पछिसम्मै रहिरह्यो। जनता सचेत भए भने बाहिरका शत्रु सजिलै देशमा घुस्न नपाउँदा रहेछन्।

यस्तै उनीहरूको औपचारिक शिक्षा प्रणालीका बारेमा भने कम श्रोत उपलब्ध छ । तोतागामुआ र कारागाला जस्ता विश्वविद्यालय जस्तै केही ठाउँहरूमा औपचारिक शिक्षा हुनेखाने वर्गलाई दिइन्थ्यो भने बाँकी जनता अनौपचारिक बुद्ध धर्मसम्बन्धी शिक्षा प्राप्त गर्थे। प्रकृतिसँगको घनिष्ट सम्बन्ध सोही शिक्षाको उपज थियो। वातावरणीय पक्षमा सो देश यति संवेदनशील थियो कि हात्तीको उचित व्यवस्थापनका लागि छुट्टै हात्ती विभाग नै खडा गरिएको थियो। 

हिन्द महासागर र व्यापार सञ्जाल 

औपनिवेशपूर्व हिन्द महासागर व्यापारको केन्द्र थियो। श्रीलंका आफ्नो विशेष स्थान र महत्वका कारण ‘हिन्द महासागरको मोती’का रुपमा चिनिन्थ्यो नै। एसिया, अफ्रिका र युरोपको विशाल व्यापार सञ्जाल सो ठाउँमा हुनु नै श्रीलंकाको समृद्धिको द्योतक पनि हो। (परेरा, १९९९)

यस देशको निर्यातजन्य वस्तुहरूमा दालचिनी, रत्नहरू, हात्ती र हात्तीको दाँत, कछुवाको खाल, कपडा आदि थियो। आर्थिक रुपमा लगभग स्वनिर्भर रहेको श्रीलंकाले केही शाही खानदानको उपभोगजन्य वस्तुहरू जस्तै महँगा लत्ताकपडा, घोडा, इत्तर र वाइनजस्ता सामान थोरै मात्रामा आयात गर्दथ्यो। (इल्लावाला, १९६९)      

तर पन्ध्रौँ शताब्दीको अन्त्यतिरबाट व्यापारको बहानामा भित्रिएको औपनिवेशिक शक्ति अति सभ्य, सुसज्जीत र समुन्नत श्रीलंकाको सभ्यतामाथि हाबी भयो। युरोपेली उपनिवेशले सो समय पूर्वको दक्षिण एसियाली साना राज्यहरूको टाउको दुखाइका रुपमा रहेको अरब आक्रमण र मुस्लिम अतिक्रमणलाई अन्त्य त गरिदियो तर झन् भयंकर झन् उग्र शासन र अर्थ संरचनासहित।

सर्वप्रथम श्रीलंका टेक्ने पोर्चुगिजहरूले सन् १५०५ मा त्यस टापुको नामाकरण नै गरिदिए ‘सिलाओ’ जसलाई पछि बेलायतीहरूले ‘सिलोन’ भन्न थाले। यससँगै के पनि बुझ्नु जरुरी छ भने श्रीलंकामा प्रवेश गरेका पहिलो उपनिवेशिक शक्ति पोर्चुगिजहरू नै विश्वमै सवप्रथम अफ्रिकन काला जातीका मान्छेलाई हरेर दास बनाएर मानवको व्यापार गर्ने व्यक्तिहरू थिए तर उनीहरू कुन सिद्धान्तबाट यसो गर्न अभिप्रेरित थिए त?

पोप अलेक्जन्डर छैठौँलगायत यस्तै अरु सम्भ्रान्तहरूले युरोपेली ‘आविष्कारको सिद्धान्त’ प्रतिपादन गरेका थिए जुन उनीहरूको मुर्खताको चरम नमूना हो।

‘जुन ठाउँमा कृश्चियनहरू बसोबास गर्दैनन्, त्यस क्षेत्रलाई नयाँ आविस्कार भएको भूगोल मानिनेछ। त्यस्तो ठाउंँ जसले पत्ता लगाउँछ, उसले त्यहाँको सम्पत्तिमाथि हकदाबी गर्न पाउँदछन् र त्यहाँ अवस्थित स्थानीयहरूलाई शासन गर्ने अधिकार आफ्नो धर्मले दिएको छ।’ यहि शोषणकारी, विभेदकारी र सफेद झुट नै उपनिवेशको जड थियो।

भाष्गो डि गामा जस्ता खोजकर्ता पनि कुनै नयाँ ठाउँ देखिएला र पोपबाट इनाम थापौँला भनेर हजारौँ माइल समुद्र पार गरेर हिँडेका थिए ( आविष्कारको सिद्धान्त, १४९३)।

परिवेश हेर्दा लाग्दछ, उनीहरू आज पनि सोहि पाखण्डबाट छुटकारा पाउन सकेका छैनन्। त्यसैले त नेपालका अर्गानिक अर्थशास्त्री देवेन्द्रराज पाण्डे लेख्छन् 'पश्चिमा जगतको अहंकारले गर्दा उनीहरू आफूलाई सम्प"र्ण विधामा सर्वज्ञानी ठान्दछन् र जुनसुकै बखत जहाँ पनि विकासशील देशलाई केही ज्ञान बाँड्नुपर्ने भ्रम पाल्छन् अनि हुँदो-नहुँदो थोपरिदिन्छन्' (नेपालको असफल विकास, १९९९)।

('श्रीलंकाली संकटको अन्तर्य र नेपाललाई पाठ' अन्तर्गत यो दोस्रो लेखमा लेखकले उल्लेख गरेका विषय उनका निजी विचार हुन्। सम्बद्ध संस्थाको दृष्टिकोण/नीतिसँग सम्बन्धित छैनन्।) 

श्रीलंकाको संकटबाट नेपालले पाठ सिक्यो त? श्रीलंकाको संकटबाट नेपालले पाठ सिक्यो त?  

 


प्रकाशित : सोमबार, असोज १५ २०८००३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend