बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१२ बिघा जग्गाको नक्कली धनिपुर्जा : कुमारी बैंकका सीईओसँग सीआईबीको बयान

बिहीबार , कात्तिक २५ २०७८
१२ बिघा जग्गाको नक्कली धनिपुर्जा : कुमारी बैंकका सीईओसँग सीआईबीको बयान

कागजातमा सक्कली छाप प्रयोग भएको पाइए मालपोतका कर्मचारी पनि अनुसन्धानमा तानिने प्रहरीले जनाएको छ। 

काठमाडौं- किर्ते धनिपुर्जा राखेर कर्जा लगानी गरेको पाइएपछि कुमारी बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सनासँग प्रहरीले बयान लिएको छ। न्यूरोड शाखाबाट १९ करोड रुपैयाँ कर्जा दिँदा गायक योगेश्वर अमात्यको बारामा रहेको १२ बिघा जग्गाको नक्कली धनिपुर्जा राखेर कर्जा दिएको पाइएको हो। 

अमात्यको उजुरीपछि सीआईबीले तिमिल्सनासँग बयान लिएको अनुसन्धान अधिकृतले बताए। बयानका क्रममा उनले बैंककै कर्मचारीको समेत कमजोरीका कारण किर्ते कागजातमा कर्जा लगानी भएको र बैंकले थाहा पाउनासाथ खराब कर्जा सल्टाइसकेको बयान दिएका छन्। 

पछि बैंकले ललितपुरको जग्गा राखेको पाइएको सीआईबीले जनाएको छ। अहिले भने बैंकले सम्पूर्ण कर्जा असुल गरिसकेको छ। तर बैंकले यसरी नक्कली धनिपुर्जा राखेर पनि कुनै खबर नगर्नु र गुपचुप राख्नुले नियत राम्रो नदेखिएको सीआईबी प्रमुख डीआईजी धिरजप्रताव सिंहले बताए। 

‘बैंकका पनि कर्मचारीको मिलेमतो देखिएको छ। हामीले केन्द्रदेखि जिल्लाको शाखाका समेत कर्मचारीसँग बयान लिइरहेका छौँ। आवश्यक परे भोलिका दिनमा संलग्नहरूले उन्मुक्ति पाउँदैनन्’, डीआईजी सिंहले भने। 

गत साउनमा कर्जा दिँदा बैंकको केन्द्रीय कार्यालयले समेत स्वीकृति दिएको थियो। 

कुमारी बैंकको न्यूरोड शाखाबाट डेनियल ट्रेडिङ्सका सञ्चालक एसकुमार महर्जन र मुक्तिनाथ गौतमलाई १९ करोड कर्जा दिएको थियो।

कर्जा दिनु पहिले वीरगन्जस्थित शाखाका कर्मचारीलाई जग्गा हेर्न पठाएको थियो। तर त्यहाँका कर्मचारीले फिल्डमा नपुगि प्रमाणित गरेको पाइएको छ। तर उनीहरूले धितोमा राखेको जग्गा गायक अमात्य दम्पत्तिको नाममा रहेको विलुवा भूमि वन नामक कम्पनीको नाममा छ। 

डाइनमिक कन्सलटेन्सिले उक्त १२ बिघा जग्गाको ३८ करोडको भ्यालुयसन गरेको थियो। बैंकले भ्यालुयसनको ५० प्रतिशत ऋण लगानी गर्छ। कन्सलटेन्सीका राजेश्वर चौरासियाले १९ करोड कर्जा दिन सकिने सिफारिस गरेका थिए।  

सोही सिफारिस अनुसार केन्द्रीय बैंकले स्वीकृति दिएपछि न्युरोड शाखाले १९ करोड रुपैयाँ कर्जा दिएको थियो। 

वीरगन्ज शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर पक्राउ परिसकेका छन्। सोही शाखाका सहायक म्यानेजर राजेश साह फरार छन्। 

प्रहरीले अहिले उनीहरूबाट बरामद भएका कागजात परीक्षणका लागि ल्याबमा पठाएको छ। मालपोत रोक्का, राजीनामा लिखत, लालपुर्जा र स्थानीय तहको चार किला प्रमाणितका कागजात ल्याबमा पठाएको डीआईजी सिंहले बताए। 

यी कागजातमा सक्कली छाप प्रयोग भएको पाइए मालपोतका कर्मचारी पनि अनुसन्धानमा तानिने प्रहरीले जनाएको छ। 

यसमा संलग्न चार जना अझै फरार छन्। फरार हुनेमा न्युरोडकी व्यापारी शोभा श्रेष्ठ र बैंकको वीरगन्ज शाखाका कर्मचारीसहित छन्। 

नक्कली जग्गा धनी एसकुमार महर्जन र मुक्तिनाथ गौतम, कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश्वर चौरासिया र बिचौलिया कुसन प्रधानलाई प्रहरीले पक्राउ गरेको छ। कन्सल्टेन्ट कुसनले नै बैंकलाई कर्जा दिन सहजीकरण गरेका थिए। उनको बैंकका कर्मचारीसँग राम्रो सम्बन्ध रहेको खुलेको छ।

उनीहरूविरुद्ध कीर्ते मुद्दामा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। यो घटनामा राष्ट्र बैंकले समेत छानविन थालेको छ। 


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८१४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend