सोमबार, जेठ २५ गते २०८३    
सोमबार, जेठ २५ २०८३

बाँझो जमिनमा फलफूलका बिरुवा उत्पादन

मंगलबार, साउन ९ २०८०
बाँझो जमिनमा फलफूलका बिरुवा उत्पादन

किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने गरी ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराइएको छ।

ढोरपाटन- गाउँ रित्तिदै गएका छन्। युवा शक्ति विदेश पलायन भएपछि घरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन्। खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएको छ। आयआर्जन भएपछि बसाइँसराइ गर्नेको संख्या पनि ह्वात्तै बढेको छ। 

स्थानीयवासीलाई गाउँमै रोक्नका लागि बागलुङको तमानखोला गाउँपालिकाले गुणस्तरीय सेवा सुविधासहित रोजगार सिर्जना गर्न थालेको छ। गाउँपालिकाले अघिल्लो आर्थिक वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयवासीलाई गाउँमै रोजगार दिन तथा उनीहरुको आयआर्जन बढाउन फलफूल खेती तथा काठजन्य बिरुवा उत्पादनमा जोड दिन थालेको छ। 

अघिल्लो आवमा तमानखोला-४ मा एक हजार पाँच सय फलफूलका बिरुवा लगाइएकामा आव २०७९/८० मा १० हजार बिरुवा लगाइएको छ। तमानखोला-५ को खुङ्खानीलगायत गाउँमा पनि फलफूल खेती गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए। थोरै मेहनतबाट धेरै उत्पादन दिने ओखर, स्याउ, उन्नत प्रजातिका आरु, किबी, बयर तथा उत्तीस र किम्मुका बिरुवा लगाइएका छन्। 

गाउँका हरेक नागरकिलाई व्यावसायिक बनाउन फलफूल खेतीमा जोड दिएको अध्यक्ष बुढा मगरले बताए। किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने गरी ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराइएको छ। गाउँपालिकाले बसाइँसराइ रोक्न र गाउँमै रोजगार सिर्जना गर्नका लागि फलफूल खेतीलाई जोड दिएको उनी बताउँछन्।

'पहिला गरी खान ठाउँको अभाव हुन्थ्यो, अहिले ठाउँ खाली छ, गरी खाने मान्छे छैनन्, अब खाली जग्गाको सदुपयोग गरी स्थानीयवासीलाई स्वरोजगार बनाउने उद्देश्य छ,' अध्यक्ष बुढा मगरले भने, 'पालिकाभरि फलफूल खेती गर्ने योजना छ, किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराइएको छ।'

व्यवसाय दर्ता गरेर कृषि कर्म गरिरहेका ४० किसानले फलफूलका बिरुवा व्यावसायिकरूपमा उत्पादन गर्ने गरी बारीमा लगाएका छन्। कृषि प्राविधिकद्वारा माटो परीक्षण गरी बाँझो जमिनमा बिरुवा लगाइएको हो। अघिल्लो वर्ष हिउँदे र बर्खे गरी दुई याममा बिरुवा उपलब्ध गराउने गरी पालिकाले बजेट विनियोजन गरेको थियो। रासस


प्रकाशित : मंगलबार, साउन ९ २०८००८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend