शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

उत्खनन र प्रशोधन हुँन नसक्दा खेर जाँदै बहुमूल्य जडीबुटी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १६ २०७८
उत्खनन र प्रशोधन हुँन नसक्दा खेर जाँदै बहुमूल्य जडीबुटी

ठूलाठूला चट्टानमा गर्मी महिनामा चुहिने सिलाजितको उचित सङ्कलन र प्रशोधन अहिलेसम्म हुनसकेको छैन ।

गलेश्वर- भनिन्छ, जुन देश र परिवेशको मानिस हुन्छ,उसलाई सोही ठाउँको औषधि नै हितकारी हुन्छ । आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् चिकित्सा शास्त्रका प्रणेत धन्वन्तरि जयन्ती ।

आर्युवेदिक औषधिका पिता मानिने, देवताका बैद्य (चिकित्सक) समेत रहेका धन्वन्तरिले जङ्गलमा पाइने वनस्पति र जडीबुटीमार्फत उपचार गर्न सुरुआत गरेको दिन । तर, औषधीय गुणले युक्त बहुमूल्य वनस्पति र जडीबुटीको भने सदुपयोग हुन नसक्दा नेपालमा त्यस्ता बहुमूल्य जडीबुटीले भिल्लाका देशमा मणिको नियति भोगिरहेका छन् ।

हिमाली जिल्ला म्याग्दीका उच्च हिमाली र लेकाली क्षेत्रका जङ्गल तथा भिरमा रहेका बहुमूल्य जडीबुटी प्हिचान, उत्खनन र प्रशोधनको अभावमा जङ्गलमा नै खेर गइरहेका छन् । यहाँका जङ्गल र भिरमा पाइने सिलाजित, अष्टगन्धा, तुथो, खिरलहरा, पखनबेदलगायतका जडीबुटी खेरगइरहेका स्थानीयवासीले बताएका छन् ।

ठूलाठूला चट्टानमा गर्मी महिनामा चुहिने सिलाजितको उचित सङ्कलन र प्रशोधन अहिलेसम्म हुनसकेको छैन ।

जिल्लाका धेरैजसो ठाउँमा सिलाजित भए पनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय म्याग्दीका प्रमुख प्रेमप्रसाद गौतमले बताए। 

कोरोनाका कारण आर्युवेदिक औषधिको खोजी हुन थालेपछि गुर्जो, अस्वगन्धा, दालचिनीलगायका जडीबुटीप्रति सर्वसाधारणको चासो बढे पनि अन्य बहुमूल्य जडीबुटी तर्फ कसैको ध्यान नगएको उहाँले बताउनुभयो । गाउँघरमा परम्परागत रूपमा ठूलाठूला चट्टानका भिरबाट स्थानीयवासीले निकालेर सिलाजित बनाउने गरेको तर व्यावसायिक रूपमा यसको उत्खनन र प्रशोधन राज्यका तर्फबाट हुन नसकेको धवलागिरि गाउँपालिका– ३ मुनाका ४० वर्षीय पुर्म पुनले बताए। 

जडीबुटीका जानकारसमेत रहेका पुनका अनुसार पश्चिम म्याग्दीका जङ्गलमा करोडौँ मूल्यका जडीबुटी पाइने भए पनि उत्खनन् र प्रशोधन गर्ने सीपको अभाव र राज्यको उदासिनताका कारण ती जडीबुटी जङ्गलमा नै अलपत्र अवस्थामा रहेका छन् । म्याग्दीका भिर र पहरामा प्रशस्तै सिलाजित पाइने उनले बताए।  हरेक बिरामीका लागि उपयोगी मानिने सिलाजितलाई हरेक रोगमा ‘टनिक’का रूपमा प्रयोग गर्न सकिने, चोटपटक लागेमा र शरीर दुख्ने समस्या भएका बिरामीका लागि यो रामबाण सावित हुने पुनले बताए। 

बजारमा सिलाजित ‘क्याप्सुल’को रूपमा पाइने र त्यो निकै महँगो हुने बताइएको छ । जिल्लाका ठूलाठूला भिरका चट्टान तथा ढुङ्गा पग्लेर सिलाजित निस्कने गरेको आयुर्वेद औषधालय म्याग्दीले जनाएको छ । म्याग्दीको मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका प्रायः सबै भीरमा सिलाजित पाइने स्थानीयवासीले बताएका छन् ।  

सिलाजितलाई जडीबुटीको राजा मानिन्छ । बल पुष्टिकारक, ओजबर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण सिलाजितमा पाइने आर्युवेदिक चिकित्सक बताउछन् । सूर्यको किरणमा सिलाजितयुक्त ढुङ्गा राखेर त्यसबाट सिलाजित सङ्कलन गरिएमा त्यसलाई सूर्यतापी सिलाजित भन्ने गरिन्छ । सिलाजितयुक्त ढुङ्गालाई आगोमा गाईको गहुँतसँग पकाएर सङ्कलन गरेमा त्यसलाई अग्नितापी सिलाजित भन्ने गरिन्छ । 

म्याग्दी जिल्लामा सिलाजितसँगै ६० भन्दा बढी अन्य जडीबुटी रहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । सिलाजितलाई पनि वनपैदावार जडीबुटीमै राखिएको वन तथा वातावरण क्षेत्रका जानकार चन्द्रमणि सापकोटाले बताए। रासस

 


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०७:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend