आइतबार, जेठ ६ गते २०८१    
images
images

'प्रदूषण न्यूनीकरण गर्न र विदेशबाट फर्किएकालाई स्वरोजगार बन्न उपयुक्त विकल्प बनेको विद्युतीय भ्यान'

images
मंगलबार, जेठ ९ २०८०
images
images
'प्रदूषण न्यूनीकरण गर्न र विदेशबाट फर्किएकालाई स्वरोजगार बन्न उपयुक्त विकल्प बनेको विद्युतीय भ्यान'
images
images

चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले ‘सीजी रिभोलुसन’ नारासहित विद्युतीय सवारीमात्र ल्याएर अटोमोबाइल बजारमा प्रवेश गरेको हो। सीजी मोटर्सले होजोन अटोको सब ब्रान्ड निटाको भी विद्युतीय कार नेपाली बजारमा बिक्री गरिरहेको छ। त्यसैगरी कम्पनीले कमर्सियल सेगमेन्टमा पनि विद्युतीय भ्यान तथा माइक्रोबसको सम्भावना राम्रो रहेको प्रमाणित गरिसकेको छ। 

images
images
images

११ सिट क्षमताका भ्यानमा देखिएका समस्या, सरकारले विद्युतीय कमर्सियल सवारीमा बजेटमार्फत गर्नुपर्ने सम्बोधन, चार्जिङ नेटवर्क तथा कमर्सियल सेगमेन्टमा विद्युतीय सवारीको स्वीकार्यतालगायत विषयमा बिजनेस न्युजले सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालसँग गरेको कुराकानी : 

images

प्यासेन्जर कार सेगमेन्टमा विद्युतीय कारको बजार राम्रो छ। कमर्सियल सेगमेन्टमा विद्युतीय सवारीको रेन्जलगायतप्रति उपभोक्ताहरू अझै पनि सशंकित नै देखिन्छन्। कमर्सियल सेगमेन्टमा विद्युतीय भ्यानको अवस्था के छ? 

images
images

कमर्सियल सेगमेन्टमा विद्युतीय सवारीको कुरा गर्नुपर्दा विद्युतीय माइक्रोबस र विद्युतीय भ्यान गरि मिनी क्याटागोरीमा बजारमा उपलब्ध छन्। हामीले नै पनि ११ देखि १४ सिट क्षमताका र १६ देखि १९ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस ल्याउने घोषणा गरिसकेका छौँ। 

images
images

ठूलो क्षमताका विद्युतीय बसको कुरा गर्दा चाहिँ डिजेल बससँग प्रतिस्पर्धी मूल्यमा आउन सकेको छैन। ३५/४० सिट क्षमताका डिजेल बस ४० लाख हाराहारीमै पाउन सकिन्छ। तर सोही सिट क्षमताका विद्युतीय बसको मूल्य डेढ करोड रूपैयाँसम्म पर्छ। त्यसैले ठूला विद्युतीय बस डिजेलसँग मूल्यमा प्रतिस्पर्धा गर्ने गरी आइसकेका छैनन्। यता ११ देखि १४ र १६ देखि १९ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस भने डिजेलसँग मूल्य प्रतिस्पर्धा गर्ने वा त्योभन्दा सस्तो मूल्यमा पनि आइसकेका छन्।

भाडाका विद्युतीय सवारी चलाउनेहरूको मुख्य चासो वा जिज्ञासा भनेको रेन्ज, ब्याट्री फेर्नुपर्दाको लागत, ब्याट्रीको लाइफ कति भन्ने नै रहेको छ। ब्याट्रीको प्रविधि यति एडभान्स भइसक्यो कि अहिले हामीले ल्याइरहेको ११ देखि १४ सिटे भ्यानमा लिथियम फोसफेट ब्याट्रीमा २ लाख किलोमिटर वा ५ वर्षको ग्यारेन्टी नै दिएको छ। यो समयपछि पनि ब्याट्रीको ७० प्रतिशत क्षमता रहन्छ नै। चार्जिङ नेटवर्क विस्तार हुँदा कमर्सियल गाडीका लागि ७० प्रतिशत क्षमता बाँकी रहँदा अर्को केही वर्ष आरामले चलाउन सकिन्छ। सार्वजनिक यातायातका रुपमा मध्यम तथा छोटो दुरीमा १ सय ५० किलोमिटर रेन्ज पर्याप्त हुन्छ। 

यी विद्युतीय भ्यानको रेन्ज फुल लोडमा साढे २ सय किलोमिटर छ। हाइवे तथा पहाडी बाटोमा समेत विद्युतीय भ्यान र माइक्रोबस चलिरहेका नै छन्। ५/६ महिनादेखि विभिन्न रुटमा चलिरहेका त्यस्ता विद्युतीय सवारीले २ सय ५० किलोमिटर रेन्ज दिएको र विश्वसनीयता पनि उल्लेख्य रुपमा बढेको पाइएको छ। नियमित सञ्चालन खर्च कम, स्पेयर पार्टस धेरै नलाग्नेलगायत कारणले विद्युतीय माइक्रोबस र भ्यान मध्य तथा छोटो दुरीको सार्वजनिक यातायातका रुपमा उपयुक्त हुने प्रमाणित नै भइसकेको छ। 

हामीले हालै १६ देखि १९ सिटसम्म माइक्रोबस सार्वजनिक गरेको छौँ। जुन यस्तो अत्याधुनिक प्रविधिमा आधारित छ जसले ५ लाख किलोमिटर र ८ वर्ष ग्यारेन्ट हुने र यो अवधि पार हुँदा ब्याट्रीको क्षमता ७० प्रतिशत कायमै रहने ग्यारेन्टी ब्याट्री उत्पादक कम्पनी सीएटीएलले गरेको छ। यो लाइफ भनेको डिजेल माइक्रो सरह नै भयो। तर अत्याधुनिक प्रविधियुक्त ब्याट्री भएको माइक्रोबस ५ लाख किलोमिटर कुद्छ भने त्यो त डिजेल इन्जिनको भन्दा डबल लाइफ पाइनेछ। टोयोटा हायससँग प्रतिस्पर्धा गर्ने गरी त्योभन्दा सस्तो मूल्यमा विद्युतीय माइक्रोबस आउँदैछ। 

ब्याट्री रिप्लेसमेन्टको कुरा गर्दा अहिले हामी स्पेयर ब्याट्री किन्दा प्रतिकिलोवाट आवरको मूल्य १ सय ५० अमेरिकी डलर छ। ४० किलोवाट आवरको ब्याट्री किन्दा ६ हजार डलर जति पर्छ। ५ वर्षपछि ब्याट्री फेर्नुपरेमा पनि अहिले वार्षिक ५ देखि १० प्रतिशत ब्याट्रीको मूल्य घटिरहेको छ। अहिले विद्युतीय माइक्रोबस किन्नेले ५ वर्षपछि ब्याट्री फेर्नुपरेमा ४ हजार डलर वा त्योभन्दा कममा आइसक्छ भन्ने लाग्छ। अर्को कुरा एक महिनामा विद्युतीय माइक्रो चल्दा डेढ लाख जतिको बचत हुन्छ, पाँच वर्षमा कति हुन्छ? १ वर्षमा यस्ता माइक्रोले करिब १ करोड रूपैयाँ नै बचत गरिसकेको हुन्छ।

यो बचतमध्ये ५/६ प्रतिशत ब्याट्रीका लागि खर्च गर्नु सामान्य कुरा हुन जान्छ। त्यसैले डिजेल भ्यान र माइक्रोबसलाई प्रतिस्थापन गर्न विद्युतीय भ्यान र माइक्रोबस सबै हिसाबले सक्षम देखिएको छ। 

माइक्रोबस तथा भ्यानमा अहिले डिजेल गाडीकै दबदबा रहेको छ। रेन्ज र ब्याट्रीबारे कम्पनीहरूले विश्वस्त पार्दै जानेछन् र चालकहरू विश्वस्त हुँदै जालान् पनि। अहिले विद्युतीय भ्यान तथा माइक्रो विस्तारका लागि रुटलाई नै केन्द्रित गरिएको हो कि अन्य क्षेत्र?

हामीले अहिले मध्यम तथा छोटो दुरीका रुटहरूमा विद्युतीय भ्यान र माइक्रोबसको उपस्थिति बढाउँदै लगेका छौँ। त्यसका लागि ठाउँ-ठाउँमा चार्जिङ नेटवर्क विस्तारको काम तीव्र गतिमा भइरहेको छ। काठमाडौंबाट सोलुखुम्बुसम्म हाम्रा विद्युतीय भ्यानहरू चलिरहेका छन्, तराईका २ सय किलोमिटरसम्मका विभिन्न रुटहरूमा, पोखरादेखि काठमाडौंसम्मका रुटमा चलिरहेका छन्। त्यति मात्र होइन पोखरा-जोमसोममा सञ्चालन गर्न पनि विद्युतीय भ्यानको माग आइसकेको छ। 

चार्जर र चार्जिङ स्टेसनको विस्तार पर्याप्त रुपमा गर्ने हो भने लामो रुटमा पनि विद्युतीय माइक्रोबस चलाउन सकिने मैले देखिसकेँ। लामो रुटका लागि हामीले ल्याउन लागेको १९ सिटे माइक्रोबस उपयुक्त देखिएको छ। साथै नेपालमा भएका मात्र होइन विदेशबाट फर्किएका युवाले समेत विद्युतीय भ्यानलाई स्वरोजगार बन्ने उपयुक्त विकल्प बनाइरहेका छन्। केही महिनाभित्रै नेपाल फर्किने तयारीमा रहेका युवाहरुले हामीलाई विभिन्न माध्यमबाट विद्युतीय भ्यान कसरी लिनेलगायत विषयमा सोधीखोजी गरिरहेका छन्। 

रुटमा गाडी चलाउने चालकहरूलाई विद्युतीय सवारीमा आकर्षित गर्न अप्ठेरो भइरहेको छ वा छैन?

कुरा के छ भने हामीले बोलेर कन्भिन्स गराउनेभन्दा पनि फिल्डमा गाडी चलाइरहेका व्यवसायीका आफ्नो अनुभवले अरुलाई अकर्षित गरिहेको छ। यो सबैभन्दा ठूलो मार्केटिङ हो। अहिले विभिन्न रुटमा भइरहेको पनि त्यही छ। ४/६ महिनादेखि चलेका विद्युतीय गाडीले प्रष्ट पारिदिएको छ कि साढे २ सय किलोमिटर रेन्ज दिएको छ। केही उकालो र केही सम्म बाटोमा यो रेन्ज पाउँदा चालकहरू सन्तुष्ट छन्। दैनिक सञ्चालन खर्च डिजेल गाडीको तुलनामा ४/५ प्रतिशत भए पुग्छ। अर्को चासोको कुरा भनेको ग्राउन्ड क्लियरेन्स हो। हाम्रै गाडीको कुरा गर्दा ११ सिटे गाडीको क्लियरेन्स १ सय ७५ एमएम छ, १४ सिटेको १ सय ८० एमएम छ भनेपछि सामान्य अवस्थाको बाटोमा यस्ता गाडी सजिलै गुडाउन सकिन्छ। 

हामीले ल्याएकामध्ये १ सय ७० वटा गाडी विभिन्न रुटमा चलिरहेका छन्। तिनै गाडीको पर्फमेन्स नै आफै मार्केटिङ भइरहेको छ। ११ सिटे भ्यानको विषय अदालतसम्म पनि पुगेको छ। फोल्डिङ सिटलाई मान्यता नदिँदा यसमा समस्या आउने देखिन्छ।

जेठ १५ गते आउने बजेट निर्माणको अन्तिम चरणमा छ। यी विद्युतीय भ्यानको प्रवर्द्धनका लागि बजेटले सम्बोधन गर्नुपर्ने विषय के-के हुन्? 

११ सिट क्षमताका विद्युतीय भ्यान सीजी मोटर्स र अन्य कम्पनीहरूले पनि ल्याएका छन्। यस्ता ११ सिट क्षमताका विद्युतीय भ्यानको बनोट, हाम्रो बाटो र यसले दिने पर्फमेन्सले असाध्यै उपयोगी ठहरिएका छन्। यो पहिलो कुरा भयो। दोस्रो कुरा, यी भ्यानहरू चीनमा लामो समयदेखि सञ्चालनमा रहेका गाडी हुन्। उच्च प्राविधिक परीक्षणबाट प्रमाणित भ्यानहरू हुन्। सार्वजनिक सवारी विद्युतीयमा जानका लागि यो ११ सिटे भ्यान नै उपयुक्त देखिएको छ।

पहिले यी भ्यान १ प्रतिशत भन्सारमा आइरहेका थिए। उक्त भन्सार दरमा आउँदा हामीले साढे ४२ लाख रूपैयाँमा बिक्री गरिरहेका छौँ। यो डिजेल भ्यानभन्दा सस्तो भइसकेको छ। 

काठमाडौं उपत्यकासहित पोखरा-चितवन, चितवन-बुटवल, बिर्तामोड-विराटनगरलगायत यस्ता रुटमा ११ सिटे विद्युतीय भ्यान असाध्यै उपयोगी देखिएको छ। यो गाडीमा ११ जना पूर्णवयस्क बस्न मिल्नेगरि सिटको डिजाइन गरिएको छ। ती सिट अन्तर्राष्ट्रिय र यातायात व्यवस्था विभागले तोकेको मापदण्डअनुसार नै छ। तर यो नाइट बसमा हुने साना कन्डक्टर सिटलाई टार्गेट गरेर फोल्डिङ सिटलाई मान्यता नदिनेगरि भन्सार ऐनमा उल्लेख भएको छ। यी भ्यानहरूमा पछाडि जानलाई दुई वटा सिट फोल्डिङ गर्न मिल्नेगरि बनाइएको छ। तर विद्युतीय भ्यानमा पूर्णआकारको सिट राखिएको छ। यसैलाई आधार मानेर भन्सार विभागले यस्ता विद्युतीय भ्यानलाई ९ सिटे भन्नु निक्कै असान्दर्भिक हो। 

नेपालको बाटो र यहाँको आवश्यकताअनुसार उपयुक्त यस्ता भ्यानको मूल्य बढ्दा उपभोक्ताले गुणस्तरीय यात्रा गर्ने अवसर पाउँदैनन् भने वातावरण प्रदूषणमा हुने योगदानमा प्रभाव गर्छ। हामीले बिक्री गरेका भ्यानले नै दैनिक १५ लाख रूपैयाँको डिजेल बचत गरिरहेको छ। यी ११ सिटे भ्यानले दैनिक खपत गर्ने डिजेल, त्यसले गर्ने प्रदूषणको हिसाब गर्नुस्। त्यसैले यी भ्यानहरूलाई ११ सिटेलाई ११ सिटे नै गणना गर्नुपर्छ। 

विद्युतीय कमर्सियल भ्यानमा सीजी मोटर्सले ल्याएका केवाईसी भ्यानप्रति चालकहरूको कस्तो प्रतिक्रिया छ र नयाँ किन्न चाहनेले केवाईसीकै विद्युतीय भ्यान किन किन्ने?

केवाईसी विद्युतीय भ्यान चीनको १ सय वर्षभन्दा पुरानो इतिहास भएको चाङगन कम्पनीले उत्पादन गरेको गाडी हो। चीन सरकारको स्वामित्वमा रहेको चाङगन अटो एउटा मुख्य कम्पनी हो। चाङगनले उत्पादन गरेको केवाईसी भ्यानको गुणस्तर र विश्वसनीयता असाध्यै राम्रो छ। नेपालको पहाडी बाटोमा १० हजार किलोमिटर चलिसक्दा कुनै पनि समस्या देखिएको छैन। चीन जस्तो विद्युतीय सवारीको उच्च प्रतिस्पर्धा भएको बजारमा टप स्थानमा रहेको छ। 

यो कम्पनीको सर्भिस सपोर्ट एकदमै राम्रो छ। सीजी आफै पनि उपभोक्ताको हितमा काम गर्नुपर्छ भन्ने मान्यता राख्ने कम्पनी हो। सीजी मोटर्सले देशभर सर्भिस दिन सक्नेगरि आफ्नो क्षमता विकास गरिरहेको छ। सबै किसिमको स्पेयर पार्टस स्टकमा उपलब्ध रहेको छ। यी सबै कुराको संयोजनले गर्दा कमर्सियल ईभीमा भ्यान खरिद गर्न चाहनेहरूका लागि केवाईसी उपयुक्त विकल्प हो।

कमर्सियल विद्युतीय सवारीका लागि चार्जिङ नेटवर्क धेरै चाहिने हुन्छ। रेन्जका बारेमा सवारी चालकहरूको चासो हुने गरेको छ। त्यसका लागि सीजी मोटर्सले कहाँ र कसरी चार्जिङ नेटवर्क विस्तार गरिरहेको छ? 

हामीले जीबीटी फास्ट चार्जर डबल गनवाला पाँचवटा ल्याएर इन्स्टल गरिसकेका छौँ। त्यस्तै अरु १५ वटा चार्जर नेपाल आइसकेको छ, जसलाई हामी तीव्र गतिमा जडान गर्ने तयारी गरिरहेका छौँ। अबको २ महिना अर्थात यही आर्थिक वर्षभित्र सबै चार्जन जडान भइसकेको हुनेछ। 

त्यसपछि जुन नै पनि रुटमा हाम्रो भ्यान चल्दा त्यहाँ चार्जर उपलब्ध गराउने छौँ। त्यस्तै ५ वटा विद्युतीय भ्यान चल्ने हरेक रुटमा डीसी फास्ट चार्जर जडान गर्ने योजना हाम्रो छ। मुख्य सहरहरूमा हामीले हाम्रा डिलरहरूमार्फत चार्जर राखि नै रहेका छौँ। अबको ५/६ महिनामा जुनसुकै विद्युतीय भ्यान चल्ने रुटमा चार्जर जडान भइसकेको हुनेछ। 

विद्युतीय भ्यानमै पनि प्रतिस्पर्धा बढ्दै जाने संकेतहरू देखिइसकेका छन्। यसले के संकेत गर्छ? 

सीजी मोटर्ससँगै अन्य विभिन्न ब्रान्डका विद्युतीय भ्यान तथा माइक्रोबस नेपाल आइसकेका छन्। यसरी प्रतिस्पर्धा बढ्नु राम्रो हो, जसले विद्युतीय भ्यानको बजार विस्तारमा सहयोग गर्छ। एउटै कम्पनीले बजारको मागलाई पूर्ण रुपमा सम्बोधन गर्न सक्छ भन्ने हुँदैन। प्रतिस्पर्धा हुँदा गुणस्तरीय सेवा, प्रचारका सामाग्रीले उपभोक्तालाई सचेत गराउन मद्दत गर्नेसम्मको काम हुन्छ।

यति हुँदाहुँदै हामीलाई फस्ट मुभर्स एडभान्टेज हुन्छ नै। प्रतिस्पर्धीहरूले आफ्नो उत्पादन ल्याउने तयारी गर्दैगर्दा हामी देशभर चार्जिङ नेटवर्क विस्तार गरेर अघि बढिसकेका हुनेछौँ। कमर्सियल सेगमेन्टमा चलिरहेका ब्रान्डप्रति नै उपभोक्ताको विश्वास बढी हुने गरेको पाइन्छ। यसका बीच प्रतिस्पर्धा आवश्यक छ र यसले बजारलाई चलायमान बनाउनेछ। 


प्रकाशित : मंगलबार, जेठ ९ २०८००४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend