बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेप्से आएको तीन दशकपछि दोस्रो स्टक एक्सचेञ्जका लागि ठूला घराना जोडिएका तीन कम्पनीको आवेदन

कुन कम्पनीमा कसको लगानी?

आइतबार, वैशाख १० २०८०
नेप्से आएको तीन दशकपछि दोस्रो स्टक एक्सचेञ्जका लागि ठूला घराना जोडिएका तीन कम्पनीको आवेदन

काठमाडौं- दोस्रो स्टक एक्सचेञ्च सञ्चालनका लागि भएको आह्वानमा तीन कम्पनीले आवेदन दिएका छन्। नयाँ स्टक एक्सचेञ्चको लाइसेन्स माग्दै नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आवेदन दिएका हुन्। 

आवेदन दिनेमा हिमालयन स्टक एक्सचेञ्च, नेशनल स्टक एक्सचेञ्च र अन्नपूर्ण स्टक एक्सचेञ्च रहेका छन्। तीन कम्पनीमध्ये एकले लाइसेन्स पाउने छ। लाइसेन्स पाउने कम्पनी नेपाल स्टक एक्सचेञ्चपछि दोस्रो स्टक कम्पनी बन्दै दोस्रो बजारको सेयर कारोबारमा हुनेछ। 

नयाँ स्टक एक्सचेञ्च कम्पनीलाई लाइसेन्स दिनका लागि अदालतले बाटो खुला गरिदिएपछि बोर्डले प्रक्रिया अघि बढाएको थियो। आइतबारसम्मको समय दिएर खुला गरिएको आवेदनमा तीन कम्पनीले आवेदन दिएका हुन्।

बोर्डले गत बिहीबार सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको थियो। बोर्डले १० दिनको समय दिँदै इच्छुकसँग आवेदन माग गरेको थियो। तीनवटै कम्पनीमा ठूला कर्पोरेट हाउसहरूको लगानी रहेको छ। नयाँ लाइसेन्स पाएसँगै कारोबार सुरु भएमा २९ वर्षपछि नयाँ स्टक कम्पनी आउने छ। 

नेपालमा उदारीकरणपछि मात्रै नेपाल स्टक स्थापना भएर सेयर कारोबार सुरु भएको थियो। २०३३ सालमा सेक्युरिटिज खरिद-बिक्री केन्द्र स्थापना गरेर सरकारी ऋणपत्र (बोन्ड) को दैनिक खरिद-बिक्रीको व्यवस्था गरिएको थियो। धितोपत्र खरिदबिक्री ऐन, २०४० लाई २०४९ मा संशोधन गरी २०५० सालमा उक्त केन्द्रलाई नेपाल स्टक एक्सचेञ्च लि (नेप्से) मा रूपान्तरण गरिएको थियो। तर नेप्से स्थापना भएको तीन दशकको अवधि भइसक्दा पनि धितोपत्र बजारको विकास कति सुस्त थियो। नेपाल स्टक एक्सचेञ्च पूर्ण रुपमा सरकारी कम्पनी हो। नयाँ लाइसेन्स पाउने कम्पनी निजी क्षेत्रको हुनेछ। 

हाल सरकारी स्वामित्वको एउटामात्र स्टक एक्सचेञ्च रहेको छ। सरकारी स्वामित्वको एउटामात्र भएकाले प्रतिस्पर्धी कम्पनी ल्याउने योजना यसअघि धेरैपटक अघि बढेका थिए। नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत र नेपाल राष्ट्र बैंकको १४.६ सञ्चयकोषको १० प्रतिशत, नेपाल वाणिज्य बैंक ६.१४ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र अन्यको ०.६० प्रतिशत सेयर हिस्सा रहेको छ। २१७ कम्पनी सूचीकृत कम्पनीहरूले दोस्रो कारोबार गर्दै आएका छन्। 

गैरकानूनी रुपमा स्टकको लाइसेन्स बाँड्न लागिएको भन्दै पाँच महिना अगाडि सर्वोच्चमा मुद्दा परेको थियो। पाँच महिनादेखि रोकिएको प्रक्रिया अदालतको आदेशसँगै नयाँ लाइसेन्सले गति पाएको हो। पाँच महिनाअघि ४५ दिनको समय दिएर आवेदन माग गरिएको थियो।

आवेदन दिने समय नसकिँदै मुद्दा परेर अदालतले प्रक्रिया अगाडि नबढाउन भनेको थियो। सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले बाटो खोलिदिएपछि रोकिएको प्रक्रिया अगाडि बढेको थियो। नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ। यो सर्वसाधारणको सेयरसहित हो। संस्थागतले ७० प्रतिशत लगानी गरे हुन्छ। 

कुन कम्पनीमा कसको लगानी?

शंकर समूहको अगुवाइमा खुलेको हिमालयन स्टक एक्सचेञ्चमा पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठलगायत छन्। पछिल्लो समय वित्तीय क्षेत्रमा लगानी विस्तार गर्दै आएका दीपक भट्टको पनि यसमा मुख्य हिस्सेदारी रहेको छ। 

नेशनल स्टक एक्सचेञ्चमा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको छ। 

अन्नपूर्ण स्टक एक्सचेञ्चमा गणेश कुमार श्रेष्ठ, सुरेन्दराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेतीको सेयर हिस्सा रहेको छ। 


प्रकाशित : आइतबार, वैशाख १० २०८०११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend