आइतबार, असार २ गते २०८१    
images
images

एक गहिराइ : मूल्य, ज्ञान र प्रज्ञा

images
सोमबार, भदौ २१ २०७८
images
images
एक गहिराइ : मूल्य, ज्ञान र प्रज्ञा
‘म्युजियम अफ नेपाली आर्ट’ मा प्रर्दशनमा राखिएको महारक्त गणपति र वसुन्धराको चित्र।

समयको मूल्य हुन्छ भने एउटा चित्रमा १६ वर्षको तपस्याको मूल्य कति? यिनै प्रश्नले होला बजारिया संसारको फेरिँदो वातावरणमा पनि मूल्यप्रति आकर्षित हुँदैनन् कलाकार लोक चित्रकार। 

images
images

काठमाडौं- तपस्या र साधनाको मूल्य कति? अगाध कलाको मूल्य कति? ज्ञानको मूल्य कति? प्रज्ञाको मूल्य कति? सुख र आनन्दको मूल्य कति? बजारले छोपेको किनबेचमा केही यस्ता विषय छन् जसको सर्वोपरिता मूल्यभन्दा बाहिर छ। 

images
images
images

समयको मूल्य हुन्छ भने एउटा चित्रमा १६ वर्ष तपस्याको मूल्य कति? यिनै प्रश्नले होला बजारिया संसारको फेरिँदो वातावरणमा पनि मूल्यप्रति आकर्षित हुँदैनन् कलाकार लोक चित्रकार। 

images

हुन पनि मूल्य सिद्धान्तले कसरी समेट्न सक्छ कसैको कृतिले मिल्ने कीर्ति? लागत र उपयोगिताको लम्बाइ चौडाइमा कसरी मार्न सकिन्छ कलाको गहिराइ? त्यसैले मूल्यको परिधिबाहिर छ, शिल्प र सिर्जनाले उन्नत महारक्त गणपति र बसुन्धराको पौभा चित्रकला। 

images

पञ्चतत्वमा जलतत्वलाई विशेष महत्व दिएर चित्रकारले सिर्जना गरेका गणपति र वसुन्धराको चित्र ठमेलस्थित ‘म्युजियम अफ नेपाली आर्ट’ (मोना) मा प्रदर्शनमा छ। जसमार्फत परम्परागत पौभा चित्रकलाको सीमामा रहेर फरक स्वाद दिएका छन् चित्रकारले। 

images
images

महारक्त गणपति
गणपतिको चित्रमा साना साना हजारौँ बस्तुहरू समेटिएका छन्। कलाका पारखीले त्यसको स्वादमा भित्रि तत्व जसरी भेट्छन्, पहिलोपटक हेर्नेलाई पनि उसैगरी सम्मोहित बनाउँछ। 

गणपतिको चित्रमा रातो रंगको प्रयोगमा विशेष ध्यान दिइएको छ। १२ वटा हातमा आयुध, तरवार, वाण, धनुष जस्ता भिन्न प्रतीक प्रस्तुत गरिएको छ। घाँटीमा कण्ठी र हरियो सर्प साथै शिरमा मुकुट, पछ्यौरालगायतका आभूषण सजाइएको छ। 

मोनामा आफ्नै कृति नियालिरहेका चित्रकार आफ्नै आँखाले हेर्दा पनि अझै पूर्णता दिन सकिने ठाउँ देखिरहेका छन्। ‘आफ्नो सिर्जनामा लगाव त भइ नै हाल्छ तर कतिपय कुरा धेरै वर्ष काम गरिसक्दा पनि उन्नति गर्ने बाटो देखिरहेको हुन्छु’, उनी भन्छन्, ‘एउटा कलाकार कहिल्यै पूर्ण नहुने रहेछ तर पूर्णतामा पुग्ने लक्ष्य लिएर चाहिँ जानुपर्छ।’ 

परम्परागत पौभा चित्रमा शास्त्रीय कलालाई चित्रकारले विशेष ध्यान दिएका छन्। यसमा एउटा निश्चित शिल्पबाट दर्शनलाई अभिव्यक्त गर्ने नियमभन्दा बाहिर कलाकार जाँदैनन्। शास्त्रीय नियम कलाकारका लागि चित्रमा पस्ने बाटो हो। त्यहाँ धर्म र दर्शनको माध्यममा मानवीय खुसी चित्रण भएको देखिन्छ। 

‘नियममा बसेर बनाउनुपर्छ भन्दैमा कलाकारलाई यसमा स्वतन्त्रता हुँदैन भन्ने होइन। दर्शनको हिसाबले हेर्दा स्वतन्त्रता अनुशासनसँगै आउँछ’, चित्रकार भन्छन्, ‘हामीले अहिले जे गर्न मन छ त्यो गर्ने मात्रै होइन बन्धनबाट मुक्त हुने प्रयास पनि हो। त्यो विभिन्न संकेतमार्फत प्रस्तुत गर्ने निश्चित नियम हुन्छ।’ 

Ganapati ARt.jpg
                        महारक्त गणपति

यसमा प्रयोग भएका संकेत र चिन्हमा सीमामा रहेर स्वतन्त्रता पनि छ। शास्त्रमा शिल्प पारङ्गत भइसकेपछि शिल्पलाई अभिव्यक्त गर्ने विभिन्न तरिकामध्ये कुन तरिकामा जाने भन्ने स्वतन्त्रताको प्रयोग चित्रकारले गरेका छन्। ‘हामी शास्त्रभन्दा बाहिर जान नपाउने मात्रै होइन जान सक्दैनौँ पनि। मैले नयाँ कुरा गरेँ भने पनि त्यो भ्रम मात्र हो। खोज्ने हो भने त्यो पहिले नै भइसकेको कुरा हुन्छ’ उनले भने। 

चित्रकारले गणपतिमा अष्टमंगलको प्रयोगमा महिला स्वरुप राखेका छन्। जुन शास्त्रीय रहँदा रहँदै पनि उनले प्रयोग गरेको स्वतन्त्रता हो। मानव जाती अलौकिक संसारमा रहेको र देवता मानवभित्र भएका अलौकिक संसारको प्रतीमाका रुपमा चित्रकारले आफ्नो प्रस्तुति दिएका छन्।

यसमा चित्रकारले विस्तारमा विभिन्न अवयवलाई ध्यान दिएका छन्। चित्रकलाको साधनामा समाहित भएर १६ वर्षमा तयार भएको महारक्त गणपतिको चित्र एक ठाउँबाट हेर्दै गरेर फेरि त्यही ठाउँमा पुग्दा नयाँ कुरा देखिन्छ। 

‘झलक्क हेरेर जाँदा त केही छैन, त्यसको भित्रि अर्थ नबुझे पनि यसको सुन्दरता मात्र हेर्दा दुःख बिर्सेर सुख मिल्ने आधार छ कि जस्तो लाग्छ’, चित्रकार सुनाउँछन्, ‘यो विषय थाहा नहुनेले हेर्दा पनि आनन्दित होस्, यो राम्रो रहेछ भनेर पूर्ण रुपमा हेर्दै जाओस्, जिज्ञासा हुँदै जाओस्। एकछिन हेरेर आनन्दित भइदियो भने पनि मेरो उपलब्धि हो जस्तो लाग्छ।’ 

वसुन्धरा
सम्पन्नताको प्रतीक हुन् वसुन्धरा। पृथ्वीको उन्नतकी पर्याय हुन्। वसु शब्दले सम्पत्ती र धरा शब्दले धारण गर्नुका साथै धरतीलाई समेत इङ्गित गरेको छ। वसुन्धराको चित्रमा चित्रकारले सम्पन्नतामा धर्तीलाई जोडेका छन्। उनले पृथ्वीको सबै सम्पत्ती धारण गरेर बसेकी वसुन्धरामार्फत नै मानिसले फल पाउने कुरामा जोड दिएका छन्। 

‘विषय फरक भए पनि हामीले भएकै विषयलाई एउटा प्रस्तुतिमा ढाल्ने हो। कृषिप्रधान देशमा कृषि राम्रो भएर नै पहिलेदेखि उपत्यका सम्बृद्ध भएको हो। त्यो बेलाको मान्छेले संस्कृति कसरी जोगाएर पछिल्लो पुस्तामा हस्तान्तरण गरिरहेको छ भन्ने कुरा पनि यो चित्रकलामा मैले प्रस्तुत गरेको छु’ चित्रकार भन्छन्, ‘किनभने हामी पृथ्वीमा बसेका छौँ, अहिले वातावरण जोगाउनुपर्छ भनेर कति कुराहरु भइरहेको हुन्छ। पहिलेका मान्छेले त्यसरी अभियान नै त चलाएनन् तर पृथ्वी कसरी जोगाउने भन्ने सोचेर राम्ररी जीवनोपयोगी तरिका अपनाएका थिए।’ 

छ वटा हात भएको वसुन्धराको चित्र परम्परागत पौभा चित्र भए पनि गणेशको चित्रमा भन्दा केही भिन्न प्रयोग चित्रकारले गरेका छन्। भदौ महिनामा हुने तिला ब्रत बस्ने बेलामा वसुन्धराको पहेँलो लुगा लगाएर उनलाई पुज्ने चलन छ। त्यसैले चित्रकारले पहेँलो रंगमा नै प्रयोग गरेका छन्। 

शास्त्रीय मान्यता राखेर अभिव्यक्ति स्वतन्त्रता लिँदै उनले वसुन्धराको चित्रमा ढुँगाको तोरण प्रयोग गरेका छन्। जसले खोपेर बनाइएको तोरण जस्तो देखिन्छ। चित्रमा प्रयोग भएको धानको बाला उन्नतीको प्रतीक बनेको छ। त्यसमा उनले पृथ्वी जोगाउने प्रयासलाई समेत समेटेका छन्। 

vasundhara.jpg
                          वसुन्धरा

वातावरणको सन्तुलन झल्काएर वातावरण जोगाउने सन्देश मिलोस् भनेर चित्रमा ढुँगा, माटो, पानी, रुख आदि प्रयोग गरेका छन्। यसमा शङ्खपाल नाग, कुबेर, इलादेबी, लोकेश लगायत देवदेवीको प्रयोग पनि देखिन्छ। जसको महत्व दैनिक जीवनसँग जोडिएको छ।

वसुन्धराले ज्ञान मात्र होइन त्यसको सहि प्रयोग गर्ने प्रज्ञामा पनि ध्यान दिने भएकाले प्रज्ञापरमितालाई चित्रकारले पनि ध्यान दिएका छन्। त्यसलाई उनी यसरी अथ्र्याउँछन्, ‘हरेक कुरामा ज्ञान मात्र भएर भएन त्यसमा राम्रो प्रयोग पनि हुनुप¥यो। गर्न त मानिसले के के आविष्कार गरेको छ। त्यो आविष्कार जीवनोपयोगी भइरहेको छ या जीवनलाई हानी गरिरहेको छ भन्ने पनि बुझ्नुपर्छ। मानवविरुद्ध, पृथ्वीविरुद्ध, प्राणिविरुद्ध प्रयोग भयो भने त्यो प्रज्ञा भएन।’ 

केही समयअघि अस्ट्रियाको भियना वेल्ट म्युजियममा प्रदर्शनीमा राखिएको वसुन्धराको चित्र चित्रकारले १२ वर्ष लगाएर बनाएका हुन्। समय लिएर बनाएको महत्व गणेशको चित्रमा जस्तै वसुन्धरामा पनि झल्किएको छ। ‘यत्ति नै समय भनेर गणना नै गरेको त होइन। समयको गणना गरेर काम गर्दा त्यसमा समयको मूल्यको कुरा आउन थाल्छ त्यसैले त्यसमा मेरो ज्यादा ध्यान रहँदैन’ उनले सुनाए। 

अमूल्य सिर्जना
मौलिक जीवनसँग जोडिएको बुद्धकालीन मानिने पौभा कलाको अथक मेहनतलाई मूल्यको परिधि तोक्नु कलाकारका लागि कठीन काम नै हो। त्यसमा चित्रकारको ध्यान पनि छैन। उनी सिर्जनामार्फत धेरैभन्दा धेरैले ज्ञान लिन सकुन्, आनन्द लिन सकुन् भन्नेमा लागिरहेका छन्। 

कुनै चित्र बिक्री भएन भन्दैमा त्यसबाट हुने आनन्द कम हुने होइन भन्ने उनको धारणा छ। हुन पनि मान्छेलाई मिल्ने आनन्दको मूल्य कसरी र कति भन्नु। ‘धेरैले सोध्ने विषय यसलाई कति पर्छ भन्ने हुन्छ। कति ज्याला, कति सामान भनेर सोधिने कुरा मलाई राम्रो लाग्दैन। यो सामान होइन सिर्जना हो। त्यसमा फरक छ’ उनले भने। 

त्यसोभए चित्रकार आफ्ना सिर्जना बिक्री नै गर्दैनन् त? भन्छन्, ‘त्यसको मतलब मैले पेन्टिङ बेचेर जीविका नचलाउने भन्ने होइन, म धनि मान्छे पनि होइन। मैले पेन्टिङ बेचेरै खानुपर्छ। तर त्यो सहि ठाउँमा सहि व्यक्तिसम्म पुगोस् भन्ने लाग्छ। त्यसको लागि सहि नेटवर्किङ त चाहिन्छ नै। अब आफ्नो जीविकाको लागि बेच्नुपर्ने भए पनि, समय यति ज्याला यति सामान यति भनेर मूल्य तोक्न मिल्ने विषय भने होइन। त्यो म सक्दिनँ।’ 

lok chitrakar.jpg
                        लोक चित्रकार

बिक्री ब्यवस्थापनसँग जोडिन्छ। आफू कलाकार भएकाले कलामा विशेष ध्यान जाने हुँदा ब्यवस्थापनको पाटो आफ्नो नभएको चित्रकार सुनाउँछन्। ‘मूल्य तोकेर बेच्ने मेरो काम होइन, मेरो काम यसको क्रियसन मात्र हो। मैले राम्रो पेन्टिङ गर्न सक्छु तर राम्रो ब्यवस्थापन गर्न सक्दिनँ।’

मोनाका सञ्चालक राजन शाक्य भने परिस्थिति मिलेमा चित्रकारले बनाएको महारक्त गणपति र वसुन्धराको चित्र किनेर त्यहीँ स्थायी रुपमा राख्न सकिने पनि सुनाउँछन्। 

‘लोक दाइको यो आर्ट म्युजियमले किनेको होइन। प्रदर्शनमा मात्र राखेको हो। लोक दाइले दिन चाहेमा र यसको उचित मूल्य मिल्यो भने हामीले नै पनि लिन्छौँ होला तर यो प्रदर्शनको उद्देश्य मानिसले त्यसबाट केही मिलोस् भन्ने हो’, राजन भन्छन्, ‘त्यो आर्ट संसारको जुन म्युजियममा गए पनि त्यहाँ जानुभन्दा अगाडि नेपालमा मानिसले देख्न पाए भन्ने कुरा महत्वपूर्ण हो।’ 

कृतिको बिक्रीमा भन्दा प्रदर्शनमा नै चित्रकारको चासो छ। बरु मौलिक कलालाई पछिल्लो समय बिर्संदै गएकोमा उनी चिन्तित छन्। ‘आर्ट हेर्नबाट पर पर हुँदै गर्दा हामीले आफ्नो कुरा बिर्सन थाल्यौँ। हामीसँग केही छैन भन्न थाल्यौँ। हिरा छ जमिनभित्र छ, त्यो हिरा छ भनेर थाहा छैन भनेजस्तो भयो’ उनले सुनाए। 

फरक प्रयास
मोनामा क्योरेटर उजेन नोर्बु गुरुङको सोचमा पञ्चतत्वमा आधारित रहेर गरिएको चित्रकला प्रदर्शनी नयाँ सोच हो। यसलाई नोर्बु परिस्थितिले निस्किएको प्रदर्शनका रुपमा ब्याख्या गर्छन्। 

मोनाको सुरुवात नै एउटा फरक प्रयास हो। ठमेलकै पुरानो होटल काठमाडौं गेस्ट हाउसको पुछारमा कला संग्रहालय नै फरक स्वाद हो। त्यसमा यो चित्रकला प्रदर्शनीले कला पारखीलाई मोनासँग र नेपाली कला जीवनसँग जोडिरहेको छ। 

‘कोभिडले गर्दा मानिसको जीवनमा समस्याहरू आइरहेको छ। शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यको कुरा पनि छ। आर्थिक समस्याको कुरा छ। अन्धकार छ, नकरात्मक वातावरण बनिरहेको छ। यस्तोमा मान्छेभित्र धर्म जगाउने स्रोत, समस्याबाट छुटकारा दिने आनन्द र सकारात्मक बाटो हाम्रो प्रयास हो’ नोर्बुले सुनाए। 

पौभा चित्रलाई नोर्बु मान्छेभित्र धर्म जगाउने एउटा स्रोतका रुपमा पनि अर्थ्याउँछन्। ‘धर्मको लक्ष्य भनेको अन्तिममा एउटा दर्शन त हो। समस्याको समाधान कसरी गर्ने नकरात्मकबाट सकारात्मक कुरामा कसरी जाने भन्ने हो’ उनले भने। 

नोर्बुले भनेको जस्तै चित्रकारको महारक्त गणपति र वसुन्धराको पौभा चित्र दुःखान्तक बनिरहेको छ, एउटा उपचार पद्धतिको रुपमा। त्यसैले नै कृति मूल्यभन्दा माथि ज्ञान र प्रज्ञाका रुपमा विस्तार हुन सकिरहेको छ।

नोर्बुले सुनाएको जसरी नै, ‘जो जो आउनुभएको छ यहाँबाट हाँसेर खुसी भएर जानुभएको छ। मुड नै चेन्ज भएको पाएको छु। बाहिरबाट जे मुड थियो यहाँ आएर लोक दाइको काम देख्नेवित्तिकै मन परिवर्तन भएको देखिन्छ।’ 


प्रकाशित : सोमबार, भदौ २१ २०७८०५:०४
  • सम्बन्धित विषय:

  • # कला
  • # पौभा चित्र


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend