बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बुलिस ट्रेण्डको उतारचढावमा कसरी कमाउने?

'बढ्दा नाफा बुक गर्ने घट्दा कित्ता बढाउने'

बिहीबार , कात्तिक ११ २०७८
बुलिस ट्रेण्डको उतारचढावमा कसरी कमाउने?

अधिकांश लगानीकर्ताहरू मूल्य जतिसुकै घटे पनि चुप लागेर बस्छन्। यस्ता लगानीकर्ताले बजारबाट लाभ लिन लामो समय कुर्नुपर्छ। तर यस अवधिमा जोसँग थप पैसा हुन्छ उनीहरूले सेयर थपेर लागत मूल्य घटाउँछन्।

काठमाडौं- बुलिस ट्रेण्डमा रहेको बजारमा पनि भर्खरै बजार प्रवेश गरेका लगानीकर्ता आत्तिने गरेका छन्। बजारको उतारचढावलाई नबुझेका लगानीकर्ताले अलमलिने गरेका छन्। सेयर बजारमा घट्दा किन्ने बढ्दा बेच्नेले नै कमाउने हो।

हामी जब सेयर बजार बढ्न थाल्छ तब सेयर किन्न थाल्छौँ तर बजार घटिरहेको समयमा सेयर किन्न डराउछौँ। बजार अझै घट्छ भन्ने हल्लाको पछाडि लागेर सेयर नकिनी बस्छौँ। बजार बढ्न थालेपछि बजार अझै यति अंक उति अंकले बढ्ने हल्लै हल्लाको पछाडि लागेर सेयर खरिद गर्छौं। यसरी खरिद गर्नेहरूको डिम्याट खातामा सेयर आइपुग्दा बजारमा भने घटिसकेको हुन्छ। धेरै नै कमाउने अभिलाशामा आफूसँग भएको सम्पूर्ण स्रोतलाई प्रयोग गरिसकेका हुन्छौँ।

अधिकांश लगानीकर्ताहरू मूल्य जतिसुकै घटे पनि चुप लागेर बस्छन्। यस्ता लगानीकर्ताले बजारबाट लाभ लिन लामो समय कुर्नुपर्छ। तर यस अवधिमा जोसँग थप पैसा हुन्छ उनीहरूले सेयर थपेर लागत मूल्य घटाउँछन्। यस्ता लगानीकर्ताहरू बजारमा सफल हुन्छन्। तर आफूसँग भएको स्रोत बजार अधिकतम बढेको समयमा किन्नेहरू नोक्सानमा पर्छ।

बजार घट्दा कित्ता बढाउने रणनीति

बजार घट्न थाल्यो र अब बजार धेरै नै करेक्सन हुन्छ भन्ने लाग्यो भने सेयर बिक्री गर्दा राम्रो हुन्छ। बरु घाटा खाएरै बिक्री गर्दा उपयुक्त हुन्छ। घट्दो क्रममा माथिल्लो मूल्यमा बिक्री गरेर आफूसँग भएको त्यहि रकम केही दिनको गिरावटपछि किनेर कित्ता बढाउन सकिन्छ। यसरी कित्ता बढाउदा सामान्य सुधारमा पनि उचित लाभ लिन सकिन्छ।

यस अवधिमा केही ठूला लगानीकर्ताले यहि रणनीति अपनाएका थिए। उनीहरूले बजार घट्ने संकेत पाउनेवित्तिकै घाटै खाएर भए पनि सेयर बिक्री गरे। यसरी बिक्री गरेर प्राप्त भएको पैसाले सस्तो मूल्यमा सेयर किनेर पहिलाको भन्दा कित्ता बढाउन सफल भए।

उनीहरूलाई दुई तीन सय अंकको सुधारले नै राम्रो मुनाफा दिइसकेको छ। तर यस अवधिमा लगानीकर्ताले निश्चित मूल्य घटेपछि सेयर भने किनिहाल्नु पर्छ। यो रणनीति बढ्दो क्रममा रहेको बजारमा मात्रै उपयुक्त हुन्छ। तर घट्दो क्रममा रहेको बजारमा यस्तो रणनीति अपनाएर मुनाफा कमाउन सकिँदैन।

हेड एण्ड सोल्जर प्याट्रन पछ्याउने

बढ्दो क्रममा रहेको बजारमा नियमित रुपमा लगानी गर्ने लगानीकर्ताले हेड एण्ड सोल्जर प्याट्रन पछ्याउन सक्छन्। यो भनेको बजार धेरै नै बढ्यो भन्ने लाग्ने वित्तिकै बिक्री गर्ने। त्यसपछि केहीसमय बजार तल झरुन्जेल कुरेर बस्ने।

यसका लागि सेयर बजारको पूर्ववत उतारचढावलाई राम्रोसँग ख्याल गर्नुपर्छ। बजार एउटा निश्चित बिन्दुमा पगेपछि घट्छ अनि निश्चित बिन्दुसम्म तल झरेपछि पुनः बढ्छ । तर कुनै पनि लगानीकर्ताले माथिल्लो र तल्लो बिन्दुलाई ठ्याक्कै ठम्याउन सक्दैनन्। ठ्याक्कै ठम्याउन नसकिए पनि उतारचढावलाई भने विशेष ख्याल गर्नु पर्छ।

जस्तै भदौ २ गते सेयर बजार सबैभन्दा माथिल्लो बिन्दु ३१९९ अंकसम्म पुग्यो। त्यसपछि लगातार घटेर २८१८ अंकसम्म तल झर्‍यो। त्यस पछि सुधारिएर २९८० पुग्यो। त्यसयता कयौँ उचारचढाव भएको छ। कात्तिक २ गते नेप्से सूचक २५११ अंकसम्म तल झर्‍यो। त्यसपछि बजार लगातार सुधार भइरहेको छ।

यदि बजार २६ सय अंकभन्दा तल झरेको समयमा किन्न सकिएको भए लगानीकर्ताले राम्रो मुनाफा आर्जन गर्न सक्ने थिए। त्यसैले गर्दा बजारको प्याट्रनलाई राम्रोसँग हेर्न सक्नु पर्छ। यसका अलावा बैंक व्याजदर, तरलता, राजनीतिक गतिविधिहरूलाई पनि विशेष ख्याल गर्न सक्नुपर्छ। बजार सधै प्याट्रनमा मात्रै अगाडि बढ्दैन। त्यसैले अरस विभिन्न कारणलाई पनि ख्याल गर्न सक्नुपर्छ।


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८०१:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend