शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

सोमबार, चैत ६ २०७९
प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्। प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १ सय ७२ सांसदले समर्थन जनाएका हुन्। ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए भने १ जनाले मत दिएनन्।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिए।
 
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विश्वासको मतको विपक्षमा मतदान गरे। नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको थियो।

नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेस गरेका थिए।
 
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले तीन महिना पुग्दा नपुग्दै दोस्रो पटक विश्वासको मत लिएका हुन्।
 
यसअघि नेकपा एमालेसहितका राजनीतिक दलको प्रस्ताव र समर्थनमा उनले ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन अवस्था आएको हो।


प्रकाशित : सोमबार, चैत ६ २०७९१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend