बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

शिवममा इन्साइडर ट्रेडिङ : अध्यक्ष रहँदै गोयलले साढे २७ लाख कित्ता सेयर महँगोमा बिक्री गरेको खुलासा

धितोपत्र बोर्डले सुरु गर्‍यो छानबीन

मंगलबार, फागुन ३० २०७९
शिवममा इन्साइडर ट्रेडिङ : अध्यक्ष रहँदै गोयलले साढे २७ लाख कित्ता सेयर महँगोमा बिक्री गरेको खुलासा

गत वर्ष हकप्रदको हल्ला चलाएर शिवमको सेयर मूल्य अचाक्ली वृद्धि गराइएको थियो। बोर्डको छानबीनमा सोही समयमा मूल्य उच्च भएपछि अध्यक्षसहितका सञ्चालकहरूले ठूलो संख्यामा आफ्नो सेयर बिक्री गरेकोसमेत भेटिएको छ। 

काठमाडौं- शिवम सिमेन्टका तत्कालीन अध्यक्ष सुरेन्द्र कुमार गोयलले ‘इन्साइडर ट्रेडिङ’मार्फत अर्बौंको सेयर बिक्री गरेको आशंकामा नेपाल धितोपत्र बोर्डले छानबीन सुरु गरेको छ। 

तत्कालीन सञ्चालक समितिका अध्यक्ष गोयलको छानबीन सुरु भएपछि हतारहतार गत पुस २९ गते गौरव गोयललाई अध्यक्ष पद दिएको खुलेको छ। तत्कालीन अध्यक्ष सुरेन्द्र गोयलले विभिन्न चरणमा झण्डै १५ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिद बिक्री गरेकोसमेत भेटिएको छ। गोयलले दोस्रो बजारबाटै २७ लाख ४३ हजार ९ सय कित्ता सेयर बिक्री गरेको तथ्य फेला परेको छ। 

कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्दा गोयलको नाममा ४६ लाख ४६ हजार ४ सय कित्ता सेयर थियो। अहिले गोयलको नाममा १९ लाख २ हजार ५ सय कित्तामात्रै सेयर छ। उनले पटक पटक कारोबार गराएर उच्च मूल्यमा आफ्नो सेयर बिक्री गरेर बाहिरिएको आशंका धितोपत्र बोर्डले गरेको छ। 

बोर्ड स्रोतका अनुसार शिवम् सिमेन्टका सञ्चालकहरूको नियमविपरीतको गम्भीर गतिविधि देखिएकोले छानबीन जारी रहेको छ। ‘मुख्यगरी तत्कालीन अध्यक्षले कति सेयर, कति मूल्यमा कसलाई बिक्री गरेको हो भन्ने विषयमा छानबीन भइहेको छ,’ बोर्ड स्रोतले भन्यो। 

कम्पनीको एकवर्षको अवधीमा गोयलले प्रतिकित्ता ६ सय रुपैयाँदेखि ८ सय रुपैयाँको बीचमा कारोबार गरेको तथ्यसमेत भेटिएको छ।

तत्कालीन अध्यक्ष गोयलसहित अन्य प्रमुख संस्थापकहरूले पनि सेयर बिक्री गरेको पाइएको छ। बोर्डको छानबीनमा तीन अर्बमा खुलेको कम्पनीका सञ्चालक तथा संस्थापकहरूले १५ अर्ब रुपैयाँ बजारबाट तानेर लगेको अनुमान गरिएको छ। गत वर्ष हकप्रदको हल्ला चलाएर शिवमको सेयर मूल्य अचाक्ली वृद्धि गराइएको थियो। बोर्डको छानबीनमा सोही समयमा मूल्य उच्च भएपछि अध्यक्षसहितका सञ्चालकहरूले ठूलो संख्यामा आफ्नो सेयर बिक्री गरेकोसमेत भेटिएको छ। 

share.jpg
कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको सेयर स्वामित्व।

नेपाल धितोपत्र बोर्डले जारी गरेको 'सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७४' अनुसार कम्पनीको सञ्चालकले आफू पदमा बहाल रहुञ्जेल र पदबाट हटेको एक वर्षसम्म कम्पनीको सेयर खरिद बिक्री गर्न पाइँदैन।

शिवम् सिमेन्टमा एक प्रतिशतभन्दा बढी हिस्सा भएका सेयरधनी

shivam share.jpg

धितोपत्र बोर्डले जारी गरेको उक्त निर्देशिकाको दफा १४ को उपदफा ६ मा ‘कुनै व्यक्ति सञ्चालक पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर, डिबेञ्चर खरिद बिक्री गर्न पाउने छैन।' भनी स्पष्ट लेखिएको छ। 

घाटामा गएपछि दोस्रो बजारबाट असुल्दै

अहिले शिवम् सिमेन्टको सेयर मूल्य इतिहासकै सस्तो भएको छ। कम्पनीभित्र देखिएको लफडाले लगानीकर्ता धमाधम बाहिरिँदा कम्पनीको सेयर मूल्य लगातार घटिरहेको हो। मंगलबार कारोबार भएको सेयर मूल्य पछिल्लो समयकै सस्तो हो। कम्पनीको सेयर आइतबार ४४३.९० रुपैयाँमा कारोबार भएको छ।

जब कि कम्पनीले प्रतिकित्ता ३ सय रूपैयाँमा साधारण सेयर बिक्री गरेको थियो। कम्पनीको सेयर उच्च मूल्य १९१० रुपैयाँसम्म पुगेको थियो। घट्दो ट्रेन्डमा भए पनि शिवमको सेयर कारोबार भने उच्च छ। सेयर लगानीकर्ताहरू धमाधम सेयर बिक्री गरेर बाहिरिरहेका छन्। 

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। शिवमका प्रमोटर सेयर होल्डरहरूले ३५ लाख कित्ताभन्दा बढी सेयर बिक्री गरेको भन्ने चर्चा चलेपछि सर्वसाधारण लगानीकर्ता बाहिरिएको अनुमान गरिएको छ। 

पछिल्लो विवरणअनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको थियो। नयाँ सूचकसँगै दोस्रो बजारका लगानीकर्ताहरू त्रासमा देखिएका छन्। जसकारण सेयर मूल्य घटिरहेको छ। 

केही समय अगाडि प्रमोटर सेयर बिक्री गरेरसमेत केही बाहिरिएका छन्। व्यवस्थापनमा समस्या आएपछि सिमेन्ट उत्पादन र बिक्रीमा समेत असर देखिएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले बिक्रीमार्फत ३ अर्ब ३४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३७ प्रतिशत कमी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा शिवमले ४ अर्ब ६० करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको थियो। समीक्षा अवधिमा शिवमको कुल आम्दानी २०.५८ प्रतिशत घटेको छ भने कुल खर्च १८.८२ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा शिवमको यस्तो आम्दानी ४ रुपैयाँ ४७ पैसा घटेर १४ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.८३ गुणा रहेको छ। ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको शिवमको जगेडा कोषमा ४ अर्ब ७० करोड १२ लाख रुपैयाँ सञ्चित छ।

shivam.jpg
छानबीन सुरु भएपछि हतारहतार गत पुस २९ गते गौरव गोयललाई अध्यक्ष पद 

कहिले कति सेयर खरिद बिक्री भयो भन्ने विवरण

shi.jpg


प्रकाशित : मंगलबार, फागुन ३० २०७९१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend