बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
पोखरा जहाज दुर्घटना

जहाज ‘ओभरब्याङ्‍किङ’ भएको हो?

आइतबार, माघ १ २०७९
जहाज ‘ओभरब्याङ्‍किङ’ भएको हो?

काठमाडौं- यती एयरलाइन्सको नाइन एन-एएनसी एटीआर-७२ जहाज आइतबार बिहान १० बजेर ५१ मिनेटमा पोखरा सेती खोचमा दुर्टघनाग्रस्त भयो। जसमा चालक दलका चारसहित ७२ जना सवार थिए। जहाज वरिष्ठ क्याप्टेन कमल केसी र पाइलट अञ्जु खतिवडाले उडाएका थिए। एयरहोस्टेस सिर्जना होङ्चुन र ओसिन आलेमगर रहेका थिए।

पोखराको नयाँ विमानस्थलमा मौसमको समस्या हुने गरे पनि आइतबार भने मौसम खुला थियो। विमानस्थलबाट धमाधम उडान भइरहेका थिए। काठमाडौं विमानस्थल तथा नागरिक उड्डयनका अधिकारीहरूले बाह्य तथा प्राविधिक खराबीको कुनै पनि रेकर्ड नभएको बताइरहेका छन्। 

पोखरा तथा इनरुट मौसम सफा रहेको तथा अन्तिमपटक एटीसी टावरसँग सम्पर्क हुँदा पनि चालक दलले कुनै पनि समस्या उल्लेख गरेको थिएन। 

सरकारले दुर्घटनाको जाँचबुझ गर्नका लागि छानबीन समिति बनाइसकेको छ। समितिले प्रश्नहरूको उत्तर पनि खोजी गर्ला। तर प्राविधिकदेखि मौसमीसम्म कुनै पनि पूर्वसमस्या उल्लेख नभएको जहाज किन र कसरी एक्कासी दुर्घटनाग्रस्त भयो?  मुख्य प्रश्न यही रहेको छ। 

जहाजमा नयाँ क्याप्टेनको क्लियरेन्सका लागि पाइलट खतिवडाले सबै उडानको जिम्मा लिएकी थिइन्। दुर्घटनामा परेको यतीको नाइन एन-एएनसी एटीआर-७२ जहाजमा प्रशिक्षक पाइलट (आईपी) को रुपमा थिए कमल केसी। आईपी केसी र पाइलट अञ्जु खतिवडाबीच तालमेलमा समस्या हुँदा जहाज दुर्घटना भएको प्राविधिहरूले प्रारम्भिक आँकलन  गरेका छन्। 

खतिवडा क्याप्टेन हुनका लागि आजको उडान अन्तिम थियो। काठमाडौंदेखि नै पाइलट खतिवडालाई आईपी केसीले देब्रेतर्फको जिम्मा दिएका थिए। जहाज उडान र अवतरणमा सबै भूमिका देब्रेतर्फबाटै हुने भएकोले खतिवडाले जहाज उडान सम्हालेकी थिइन्। आज सफल उडान गरेपछि क्याप्टेन ‘क्लियरेन्स’ को सर्टिफिकेट पाउने चरणमा थिइन् खतिवडा।

असामान्य समस्याका बीचमा पहिलोपटक फुल कमान्डको जिम्मा लिएको पाइलट हुँदा अप्ठ्यारो भएको हुनसक्ने जानकारहरूले उल्लेख गरेका छन्। 

कुनै पनि जहाज उडाउँदा वा अवतरण गराउँदा त्यसको तौलदेखि गतिको सीमा निर्धारण गरिएको हुन्छ। इन्जिनियरिङ परीक्षणबाटै यस्तो सीमा निर्धारण गरिन्छ। कुन तहभन्दा माथि खतरा, तल भए कतिमा खतरा जस्ता कुरा सबै निर्धारित हुन्छन्। 

अवतरणका लागि न्यूनतम गतिको सीमा हुन्छ। यस्तो गतिको सीमा निर्धारणमा विभिन्न फ्याक्टर हुन्छन्। जस्तो अवतरण हुने ठाउँको तापक्रम, हावाको गति र दिशा, जहाजको तौल, इन्धनको तौल जस्ता सबै फ्याक्टर आएपछि गति निर्धारण गरिन्छ। 

overbank.jpeg

'आज दुर्घटनामा पर्नुभन्दा पहिले देखिएका भिडियोमा जहाजको स्पिड एक्कासी घटेको देखिन्छ। अवतरणका लागि नयाँ विमानस्थलतिर मोडिँदा स्पिड कम भएको देखिन्छ' एक पाइलटले भने। अवतरण हुनुभन्दा पहिला कुनै पनि जहाजको स्पिड लिमिट निर्धारण गरिन्छ। तर यस्तो लिमिट कायम नभएपछि पाइलटहरूले सम्हाल्न नसकेको जस्तो देखिन्छ। 

main overbank.jpg

'प्रक्षेपण गरिएकोभन्दा कम स्पिड भएपछि जहाज ‘ओभरब्याङ्‍किङ’ भएर बढी हल्लिएको छ। जहाजमा यात्रु, तापक्रम र तेलको लोड अनुसार जहाज निर्माता कम्पनीले दिएको स्पिडभन्दा कम भएपछि जहाज सिधा भुँइमा बजारिन्छ। ‘जहाजमा स्पिड कम भएपछि पखेटामा हावा कम भएर जहाज सिधा बजारिएको छ,’ एक पाइलटले भने।

पाइलटहरुका अनुसार बायाँतर्फबाट जहाज कन्ट्रोलभन्दा बाहिर गएर अवतरणमा समस्या आएपछि क्याप्टेन र पाइलटले जहाज ह्यान्डल गर्ने प्रयास गरेको देखिन्छ। तर अन्तिम समय भइसकेकाले नियन्त्रण गुमेर जहाज दुर्घटना भएको आशंका गरिएको एक वरिष्ठ पाइलटले बताए। 

क्याप्टेन पास हुने अन्तिम उडान गरिरहेकी थिइन् पाइलट अञ्जु खतिवडा क्याप्टेन पास हुने अन्तिम उडान गरिरहेकी थिइन् पाइलट अञ्जु खतिवडा


प्रकाशित : आइतबार, माघ १ २०७९११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend