बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
फिल्ड रिपोर्ट

चितवन-१ मा नयाँ उम्मेदवारसँग पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रतिस्पर्धा : जनताले स्थायित्व रोज्लान् कि परिवर्तन?

पाण्डे भन्छन् : नेपाल अब बन्यो है भनेपछि मात्रै मर्न चाहान्छु

बिहीबार , कात्तिक २४ २०७९
चितवन-१ मा नयाँ उम्मेदवारसँग पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रतिस्पर्धा : जनताले स्थायित्व रोज्लान् कि परिवर्तन?

चितवन- एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे चुनावी दौडमा छन्। प्रतिनिधिसभा सदस्यको लागि चितवन क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका पाण्डेलाई यसपटक सत्तागठबन्धका उम्मेदवार डा. विश्व पौडेलसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पनि टक्कर दिँदैछन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर चुनाव होमिएका रवि लामिछाने चितवन- २ बाट उम्मेदवार बनेका छन्। सोही कारण चितवनमा स्वतन्त्र पार्टीको राम्रो चुनावी माहोल बन्दा पुराना पार्टीका उम्मेदवारलाई चुनौती थपिएको छ। त्यसको असर चितवन क्षेत्र नम्बर १ मा समेत परेको छ। ०७४ सालमा भएको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट बिजय हासिल गरेका पाण्डे पनि चुनाव प्रतिस्प्रर्धात्मक हुने तर जनताले जिताउनेमा ढुक्क रहेको बताउँछन्। 

‘मेरो प्रतिस्प्रर्धा गठबन्धनकै उम्मेदवारसँग हुने र जित्नेमा ढुक्क छु,’ पूर्वअर्थमन्त्री पाण्डेले भने। जनतालाई विकास दिँदै आएको बताउने पाण्डेले यसपटक पार्टीले अगाडि सारेमा सरकारकै नेतृत्व गर्न समेत पछि नपर्ने बताए। ‘अहिलेको गठबन्धनले अर्थतन्त्रलाई धरासायी बनाएका छन्, देशले एमाले र सही नेतृत्व खोजेको छ,’ पाण्डेले भने। 

surendra pande chunab (3).jpg

विगतमा चितवनमा ५ वटा क्षेत्र रहेको थियो। पछि समायोजन हुँदा अहिले यो क्षेत्रमा दोस्रो पटक चुनावी मैदानमा पाण्डे रहेका छन्। ‘पाँच वर्षमा यो क्षेत्रमा सडक सञ्जाल र तटबन्धन निर्माण गर्ने तथा सिँचाइको काम भएको छ,’ पाण्डेले भने। विगतमा ग्राभेल सडकहरु मात्रै रहेकोमा अहिले कालोपत्रे गरिने काम पाँच वर्षमा भएको दावीसमेत पाण्डेको रहेको छ।

सौराहा यही निर्वाचन क्षेत्रमा पर्ने भएका कारण पर्यटनले जनताको जीवनस्तरमा व्यापक सुधार भएको उनले बताए। पछिल्लो समय उद्योगधन्दामा समेत यो क्षेत्रमा लगानी बढिरहेकाले अव आउने पाँच वर्ष भनेको रोजगारी सिर्जना र ठूला विकासमा केन्द्रित हुनेसमेत पाण्डे बताउँछन्। ‘ठेकेदारका कारण कतिपय योजनाहरु समयमा नसकिएको गुनासो छ तर अब विस्तारै काम अगाडि बढ्नेछ,’ पाण्डेले भने। जनताको आकांक्षा धेरै छन्, एउटा सांसदले ती सबै पुरा गर्न नसके पनि चितवन क्षेत्र नम्बर १ मा धेरै काम भएको भनेर अन्य क्षेत्रका स्थानीयले समेत बताउने गरेको पाण्डेले बताए। 

चितवनलाई पहिले ७६ औँ र अहिले ७८ औँ जिल्ला भन्ने गरिन्छ। यहाँको विकास र चेतनाको स्तर माथि छ। ‘राष्ट्रिय राजनीतिमा पहुँच राख्नेले नै यस क्षेत्रको विकास गर्छ। यहाँको विकासमा नै मेरो ध्यान रहने छ,’ पाण्डेले भने।

चितवन १ मा एमाले र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। डा. पौडेल चितवन मात्रै होइन देशभर नै राम्रो छवि बनाएका व्यक्ति हुन्भ। एमालेका उपाध्यक्ष पाण्डे पनि राष्ट्रिय व्यक्तित्व हुन्। लामो समयदेखि चितवनबाटै चुनाव लड्दै आएका उनको यस जिल्लाको विकासमा समेत ठूलो भूमिका छ। अर्थमन्त्री हुँदासमेत खासै विवादमा नपरेका पाण्डेले सुखी नेपाली र समृद्ध नेपाल नै मुख्य ध्यान रहेको बताए।

surendra 2.jpeg

अब राज्यको ध्यान स्वरोजगार र नवउद्यमीको उत्थानमा हुनुपर्नेमा पाण्डे जोड दिन्छन्। उद्यमशीलताले कुनै व्यक्तिलाई त अगाडि बढाउँछ नै अन्य धेरैलाई रोजगारी र उत्पादनको अवसर पनि दिलाउँछ भन्ने पाण्डेको मान्यता छ। चितवनमा धेरै मानिस कृषिमा आबद्ध भएकोले आधुनिकीकरणमा विशेष जोड दिने पाण्डेले बताए।

अहिले तीन तहको सरकार रहेका कारण जग्गाको भाऊ बढेर अहिले भागवन्डा गर्दा ठूलो कर तिर्नुपर्ने बाध्यता कृषकमा रहेको छ। यसका कारण कर मिनाह गर्ने योजना राज्यले ल्याउनु पर्नेमा समेत पाण्डेले जोड दिए। ‘व्यवस्था परिवर्तन गरियो, अव अवस्था परिर्वतन नै नेपालको एक मात्रै एजेन्डा हो,’ पाण्डेले भने। व्यक्ति नयाँ आएर मात्रै विकास नहुने बरु बलियो नेतृत्वको निरन्तरता भयो भने चाहिँ अवस्था फेरिने उनले बताए। 'नयाँ नेतृत्व चाहियो भनेर सिंगापुरमा ली क्वान यु र मलेसियामा महाथिर मोहम्मदलाई जनताले निरन्तर निर्वाचित नगरेको भए ती मुलुकले विकासमा फड्को मार्दैनथिए नि,' उनले भने।

नेपालको विकासको गति ढिला हुँदा जनतामा निराशा छाएको बताउँदै विकास निर्माणका लागि नयाँ ढंगले सोच्नुपर्नेमा जोड दिए। ‘नेपाल अब बन्यो है भनेपछि मात्रै मर्न चाहान्छु,’ पाण्डेले भने। विकास र समृद्धिका लागि आवस्यक परे मुलुकको नेतृत्व गरेर समेत अगाडि बढ्ने पाण्डेले बताए। 

पाण्डेलाई अंकगणितमा कति सहज?

एमालेको एकल मतले मात्रै पाण्डेलाई चुनाव जित्न कठीन देखिन्छ। एमालेबाट विभाजित एकीकृत समाजवादीको मत तान्न सकेको खण्डमा पाण्डेले चुनावी अभियानलाई आफ्नो पक्षमा पार्न सक्छन्। तर, एकीकृत समाजवादी गठबन्धनमा मात्रै छैन, प्रदेशसभामा उम्मेदवारसहित यो क्षेत्रमा सक्रिय छ। सुरेन्द्रका दाइ तथा धादिङका नेता राजेन्द्र पाण्डेले सहानुभूति राखेको खण्डमा मात्रै उनलाई सहज हुने देखिन्छ। 

चितवन १ मा राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका पर्छन्। गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका शमशेर लामा निर्वाचित भए। उनले एमालेका प्रतिस्पर्धी गोविन्दप्रसाद कँडेललाई पराजित गरेका थिए। 

surendra 1.jpeg

लामाले कुल १२ हजार ५२४ मत प्राप्त गरेर विजयी भएका थिए भने उनका प्रतिस्पर्धीले १२ हजार ५१ ल्याएका थिए। राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेको थियो। समाजवादी गठबन्धनमा रहेका कारण राप्तीमा कांग्रेसका उम्मेदवारले बढी मत ल्याउने सम्भावना देखिन्छ।

सोही कारण पनि पाण्डेलाई चुनावको जित निकाल्न सहज भने छैन।  यस्तै, चितवन क्षेत्र नम्बर एकमै पर्ने रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस नै विजयी भएको छ। कांग्रेसका प्रल्हाद सापकोटा सो नगरपालिकामा निर्वाचित भएका थिए। उनले २० हजार ७९६ मत प्राप्त गर्दा एमालेका बिमला दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरकी थिइन्। यस नगरपालिमा पनि काँग्रेस नै बलियो देखिन्छ। 

चितवनकै खैरहनी नगरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसकै नेता निर्वाचित भएका थिए। नेपाली कांग्रेसका शशिकुमार खनियाँ १४ हजार ५४५ मतले विजयी भएका थिए भने एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत मात्रै पाएका थिए। यसरी स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा चितवनको क्षेत्र नं. १ मा काँग्रेस नै बलियो भएर आएको देखिएको छ। यसले पनि नेता पाण्डेलाई ठूलै जोखिम देखिन्छ।

चितवन १ मा रहेका तीन पालिकाअन्तर्गतका ४२ वटा वडा पर्छन्। जसमध्ये २० वटा वडाका अध्यक्ष एमालेले जितेको छ। कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले दुई र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका थिए।

उनका प्रतिस्पर्धी राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा.पौडेलले पनि चितवनमा विकासका योजना पार्न ठूलो भूमिका खेलेका छन्। त्यसैले पनि यी दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।


प्रकाशित : बिहीबार , कात्तिक २४ २०७९०१:२३
  • सम्बन्धित विषय:

  • # सुरेन्द्र पाण्डे
  • # chitwan
  • # rabi


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend